नेपालभर १३५१ जना काेराेना संक्रमित थपिए, ७४२ जना निकाे भए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुगेकाे छ । हाल क्वारेन्टिनमा ६ हजार ३ सय १० जना रहेका छन् भने आजसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ७४२ जना निकाे भएसँगैं हालसम्म ५४ हजार ६ सय ४० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४८१ पुगेकाे छ ।

इलाम बन्यो कोरोना शून्य जिल्ला

इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्याेदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पतालमा घटे काेराेना सङ्क्रमित

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । सङ्क्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो । पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना सङ्क्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् । सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले सङ्क्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए । यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा सङ्क्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि सङ्क्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ । अस्पतालको आन्तरिक विभागका श्ययाहरुमा पनि बिरामी भरिन थालेका छन् । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु शुरु भएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन् । जिल्ला र बाहिरका बिरामीहरुले प्रसूतिका लागि भरतपुर अस्पताल रोज्न गर्दछन् । सबै क्याबिन कोभिडका बिरामीका लागि प्रयोग भएपछि प्रसूति गराउन आउनेहरुले समस्या भोगेका थिए । उनले भने, “अब यहाँ प्रसूति गराउन आउनेहरुको सङ्ख्या अरू बढ्छ ।” अहिले दैनिक ४० जनाको हाराहारीले प्रसूति सेवा लिने गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार हाल जिल्लामा रहेका सङ्क्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनहरुमा ३२३ जना छन् । होमआइसोलेसनमा यो सङ्ख्या ६५८ रहेको छ । घरमा बस्दा छिटो निको भएको अनुभव सङ्क्रमितहरुले गरेको उनको भनाइ छ । उनले भने, “घरको वातावरण आफू अनुकूल हुने भएकाले सम्भव भएकाहरु घरमा बस्ने क्रम बढेको छ ।” लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् । पछिल्ला दिनहरुमा सङ्क्रमितहरुलाई मनोवैज्ञानिक त्रास घटेको छ भने सामाजिक विभेद पनि कम हुँदै गएको छ । रासस