न्युन गुणस्तर भएकाे कारण दुई ब्याचका स्यानिटाइजर बेच्न प्रतिबन्ध

काठमाडाैं । औषधि व्यवस्था विभागले न्युन गुणस्तर भएकाे कारण २ ब्याचका दुई  स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ । विभागले प्राईम फार्मस्युटिकल्सकाे ब्याच नं GSH 001 काे २०० मिलिलिटरकाे सेफ ह्यान्डस स्यानिटाइजर र हिमालयन शेर्पा हर्बसकाे ब्याच नं B.N.001 काे ह्यान्ड रब ईन्स्ट्यान्ट स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे हाे । विभागले बजारमा यस ब्याचका यि दुई स्यनिटाइजरलाई बिक्री वितरण नगर्ने अनुराेध गरेकाे छ । यद्यपी यही स्यानिटाइजरकाे अन्य ब्याचहरु भने किन्नबेच्न पाइनेछ । 

दैनिक ३ लाखकाे स्यनिटाइजर बेच्दै औषधि व्यवस्था लिमिटेड

काठमाडाैं । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिए । लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन शुरु गरिएको बज्राचार्यले जानकारी दिए । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो । “हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, उनले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।” उनका अनुसार अहिले ६०, १००, २०० एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उप्पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको रु ७८, १०० एमएलको रु १२५, २०० एमएलको २५० र आधा लिटरको ४५० रहेको छ । मागअनुसार पाँच लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको भने तीन हजार मूल्य तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकाले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ । शुरुमा १००, २०० एमएलको माग बढी भए पनि अहिले भने पाँच लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उनले बताए । “अहिले बन्दाबन्दी र निशेषाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भने । उनका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ । कोभिड–१९ को महामारी शुरु भएपछि शुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झण्डै ६५ प्रतिशत मात्रै अल्कोहल रहेकाले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमतिप्राप्त गर्नुअघिबाटै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्ने बित्तिकै कागजात बुझाई लाइसेन्स लिएर तत्कालै काम थालेको हो । विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौँ र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ । काठमाडौंको हाइजनिक सोप एण्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुड इण्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो । यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो । रासस

रसियाले नेपाललाई २ करोड ५० लाख खोप दिने

काठमाडौं । रसियाले नेपाललाई कोभिड–१९ विरुद्ध लगाउन २ करोड ५० लाख वटा खोप उपलब्ध गराउने भएको छ । रसियाको स्वायत्त निकाय ‘रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’ले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त मात्रमा खोप उपलब्ध गराउने जनाएको हो । रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले नेपाललाई उपलब्ध गराउने ‘स्पुटनिक भी’ खोप ९० प्रतिशत नेपालीलाई लगाउन पुग्ने जनाएको छ । स्पुटनिक भीको पहिलो र दोस्रो चरणमा क्लिनिकल परीक्षण सफल भएको र यसको तेस्रो चरणको परीक्षण जारी रहेको रसियाले जनाएको छ । तेस्रो चरणको परीक्षणमा वृद्धवृद्धा, विभिन्न रोग लागेका र प्रतिरक्षा क्षमता कमजोर भएको व्यक्तिहरुमा उक्त खोप लगाइने छ । यस्तो परीक्षणमा गर्नको लागि ४० हजार रसियन स्वयसेवक तयारी रहेको बताइएको छ । तेस्रो चरणको परीक्षण सफल भएपछि उक्त खोप सर्वसाधारणमा बिक्री वितरण खुला गरिने र नेपालमा पनि पठाइन रसियाले जनाएको छ । आगामी नोभेम्बर (मंसिर मध्य) सम्म खोप नेपाल आउने छ । तेस्रो चरणको परीक्षण सफल भएपछि उक्त खोप नेपाल भित्र्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताएका छन् । नेपालसहित एशिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप क्षेत्रका ५० भन्दा बढी देशले यो खोपको माग गरेको रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले जनाएको छ । उनीहरु मध्ये भारतलाई १० करोड, ब्राजिललाई ५ करोड, उज्वेकिस्तानलाई ३ करोड ५० लाख, मेक्सिकोलाई ३ करोड २० लाख खोप उपलब्ध गराउने सम्झौता भईसकेको छ । रसियाको सरकारी अनुसन्धान संस्था गमालिया नेशनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमिओजी एण्ड माइक्रोबायोलोजिले विकास गरेको यो खोप कोभिड विरुद्धको पहिलो खोप हो ।