अब पीसीआर परीक्षण निःशुल्क हुने
काठमाडाैं । सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । पीसीआर परीक्षणमा लिने शुल्क बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको हाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।
बिहिबार नेपालभर १९ सय बढी संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या ५०९ पुग्याे
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १९ सय ११ र उपत्यकामा मात्र ९४३ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २१ हजार ८ सय ३० पुगेकाे छ । हाल क्वारेन्टिनमा ५ हजार ७७ जना रहेका छन् भने आजसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६१ जना निकाे भएसँगैं हालसम्म ५७ हजार ३ सय ८९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ५०९ पुगेकाे छ ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ । “अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा श्रेष्ठले भने, “पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”