नेपालभर १५७३ जना काेराेना संक्रमित थपिए, ८८५ जना निकाे भए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् भने आजसम्म ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८८५ जना निकाे भएसँगैं हालसम्म ५३ हजार ८ सय ९८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४७७ पुगेकाे छ ।

कोरोनाबाट नेपालगञ्ज शिक्षण अस्पतालका कर्मचारीको मृत्यु

राँझा । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो । भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘यात्रा गरेको दुई साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’

काठमाडौं । सरकारले यात्रा गर्ने बित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे । दुई सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेका छन् । लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ । उनले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे । “कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु”, उनले भने । आधा सङ्क्रमित उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा ७२४ सहित देशभर एक हजार २०७ कोरोना सङ्क्रमित थपिएका छन् । कूल १० हजार १९ नमूना परीक्षणका क्रममा ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमिते सङ्ख्या ७१ हजार ८२१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् । उपत्कायका तीनै जिल्लामा सक्रिय सङ्क्रमिते संख्या ५०० बढी छ । मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७र१७, डोटी र सिन्धुलीमा १५र१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०/१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सातरसात, रोल्पा र रौटहटमा छरछ, दार्चुला, प्यूठान र गुल्मीमा पाँच/पाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चाररचार, पाल्पा, कपिलवस्तु र गोरखामा तीनरतीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुई/दुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एक/एक सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा एक हजार १४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३.८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् । मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १० हजार ५०८ होम आइसोलेनस र सात हजार ८३३ संस्थागत आइसोलेनसमा छन् । छ हजार ३३१ जना क्वारेन्टिनमा छन् । हालसम्म नौ लाख ७८ हजार २०४ वटा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जटिल बिरामी बढ्दै पछिल्ला केही दिनयता जटिल कोरोना सङ्क्रमिते सङ्ख्या बढेको छ । शनिबारसम्म २४४ को आइसियू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मती प्रदेशमा १२१, प्रदेश ५ मा ४४, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, प्रदेश १ मा १५ र गण्डकी प्रदेशमा ६ जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै बाग्मती प्रदेशमा २३, प्रदेश ५ मा तीन र प्रदेश १ मा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । रासस