दमाैली अस्पतालमा पाँच वर्षको अवधिमा ३१ हजार पटक डायलासिस सेवा
दमाैली । तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुधन मञ्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २१६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा २४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको हो । केन्द्रका प्रमुख शैलेश पण्डितले यस अवधिमा तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई पनि डायलासिस सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौवटा उपकरण रहेकामा आठवटा उपकरण सञ्चालनमा रहेको छ । हेल्थ केयर फाउन्डेसन अफ नेपालले अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेकी थिइन् । जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । व्यास नगरपालिका–४ अब्दुल गफ्फार मियाँले जिल्लामै डायलासिसका लागि सुविधा भएपछि सहज भएको बताए ।
शनिबार १६७४ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६७४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६७४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या २४ हजार ९ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३२३ जना निकाे भएसँगैं हालसम्म १ लाख ९३ हजार ३२५ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३०५ पुगेकाे छ ।
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन् । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोली देखि पुनः स्वाब संकलनको कार्य सूचारु गर्न लागिएको बताएका हुन् । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए । काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए ।