जाजरकाेटकाे अस्पतालमा बिरामी बोक्न डोकोकाे प्रयोग, एम्बुलेन्स ग्यारेजमा तर चालकले थाप्छन् तलब

जाजरकाेट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए । एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन । जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन् । एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा सुनिल पुनले जानकारी दिए । यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताए । भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषण गरेको वर्ष दिन बिते पनि अझै प्राप्त भएको छैन । उत्ता छेडागाड नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । सो नगरपालिकाले आफैँ चिकित्सक नियुक्ति गरेर सेवा दिँदै आएको छ । जुनिचाँदे गाउँपालिकाले समेत सोही कार्य अगाडि बढाएको छ । स्थानीय तहले एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर काम गर्दै आएका छन् । रासस

आइतबार १६६९ जनामा संक्रमण पुष्टि हुँदा पाँच हजार ६९९ जना निकाे भए

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६६९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ९६३ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५६९९ जना निकाे भएसँगैं हालसम्म १ लाख ९९ हजार २४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३२१ पुगेकाे छ ।

महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने, सिटिइभिटी अन्तर्गतकाे ७ वटा विषय पढाइने

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७/७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख विष्टले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका अनुसार प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेण्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालन हुनेछन् । “सात वटै विषयमा ४० का दरले २८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।” उनले भने “ यसले यहाँको शैक्षिक विकासमा ठूलो फड्को मार्नेछ ।” महेन्द्रनगरमा शनिबार शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्दै गरेका छन् । नगरका प्रमुख विष्टले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र समयसापेक्ष समसापेक्ष शिक्षाको मागअनुरुप सिटिइभिटीइबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालन हुने बताए । उनले भौतिक पूर्वाधार जनशक्तिको कामसमेत अघि बढाइने जानकारी दिए । सिटिइभिटिइको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो । रासस