भ्याक्सिन बजारमा आउने वित्तिकै नेपालीले पाउने तयारी भइरहेकाे छ: स्वास्थ्यमन्त्री

काठमाडाैं । सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उनले बताए । उनले भने, ‘‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’ मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । उनले तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए । रासस

कोरोना परीक्षणका लागि टोलटोलमा काठमाडाैं महानगरपालिकाकाे मोबाइल भ्यान

काठमाडाैं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए । नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट टे«सिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ । रासस

नुवाकाेटकाे त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

नुवाकाेट । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो । अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ । कोरोना जाँचका लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीय तहमार्फत स्वाब सङ्कलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ । सबै सेवाग्राहीका लागि स्वाब सङ्कलन बन्द गरे पनि अस्पतालमा आकस्मिक अवस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरङ्ग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब सङ्कलन र परीक्षण गरिने अस्पतालका मेसु डा पाण्डेले जानकारी दिए । त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसँगै नुवाकोटसहित रसुवा, धादिङलगायतका स्थानबाट सङ्कलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुँदै आएको छ । रासस