नेपाल नेत्रज्योति संघले पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडाैं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गर्ने र आगामी पाँच वर्ष भित्र ६ सय ७७ वटा आखाँ उपचार केन्द्र स्थापना गर्ने बताएका हुन् । यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए । मोतिबिन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिने पनि महासचिव चन्दले बताए । यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाईल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरी उनले जानकारी दिए । नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३५ साल चैत्र १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए । उनले भने, ‘टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन ।’ सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र शाहले बताए । भवन निर्माण भएपछि करीब ६० हजार जनताले बारबर्दिया नगरपालिकाले सेवा पाउनेछन् । पश्चिम नेपालमै थारुमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि आफ्नो नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोग उत्थान गर्नका लागि आफूहरुले अस्पतालका लागि भवन निर्माण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गाबहादुरले बताए । रासस

कोरोनाको जोखिमबारे स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई दियो यस्ता सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति समक्ष ८ बुँदे सुझाव पेश गरेको छ। मन्त्रालयले बिहीबार मित्रराष्ट्र भारत, बेलायत, जमर्नी, फ्रान्सलगायतका युरोपेली मुलुकमा कोभिड–१९ को संक्रमण दरमा बृद्धि भएको भन्दै सीसीएमसीलाई सुझाव दिएको हो । मन्त्रालयले दिएको सुझाव पत्रमा भारतबाट नेपाल प्रवेश गर्ने सिमानाकामा निगरानी बढाउने तथा अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा निगरानी र स्वास्थ्य परीक्षण बढाउने, नेपाल र भारतबीचको सिमानाकामा अवस्था हेरी नाका घटाउनुपर्ने लगायत उल्लेख छन्। यस्तै मानिसको भिडभाड हुने कार्यक्रम नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, साबुन पार्नीले हात हुने र स्यानिटाइजरको प्रयोग गर्ने लगायत अनुगमन बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिइएको छ। कोभिड–१९ को संक्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउने, सीमानाकाहरुमा  संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च भएमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने, संक्रमणबाट जोगिन सचेतना कार्यक्रम अगाडी बढाउने लगायतका सुझाव दिएको छ ।