कोभिड-१९ विरुद्धको खोप ल्याउन विश्व बैंकको पौने ९ अर्ब रूपैयाँ सहयोग
काठमाडौं । विश्व बैंकले कोभिड-१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने बताए । यस्तै खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने बताए । माल्दिभ्स, नेपाल र श्रीलंकाकालागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जार्भोसले कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको समतामुलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताए । उनले नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताए ।
दाङमा चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै
दाङ । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११ओैं पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका ५४२ मा गरिएको नमूना परीक्षणमा ६.२२ प्रतिशत अर्थात १५८ यो रोगको सङ्क्रमण देखिएको छ । हात्तीपाइले रोग रेशा जस्ता कीटाणुको सङ्क्रमणबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । राप्ती गाउँपालिकाका ३३ हजार २९३ लाई औषधि खुवाइ ३२२ मा कीटाणुको सङ्क्रमण जाँच गर्दा ९ प्रतिशत अर्थात २३ मा हात्तीपाइले रोगका कीटाणु देखिएकाले यसलाई न्यून गर्न सरोकारवालाबीच छलफल गरिएको हो । राप्ती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण राउतले विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधि खुवाउन थालिएको जानकारी दिए । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ‘लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तर पनि हात्तीपाइले रोग नसर्ने रोग हो, यसले मानिसको तुरुन्तै मृत्यु हुँदैन,’ उनले भने, ‘यस रोगले भेटेपछि उपचार नहुने भएकाले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नुपर्ने बनाउँछ । लामखुट्टेले रातको समयमा रोगीलाई टोक्दा रगतसँगै सुक्ष्म फाइलेरिया यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको ¥याल ग्रन्थीमा जम्मा हुन्छ ।’ विगत १० वर्षदेखि जिल्लामा निरन्तररुपमा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमण दर ६ प्रतिशतभन्दा माथि रहेको छ । जिल्लाभरको आठ ठाउँमा दुई हजार ५४२ मा गरिएको नमूना परीक्षणमा १५८ अर्थात ६ दशमलब २२ प्रतिशतमा सङ्क्रमण देखिन आएको हो । नमूना परीक्षणका ठाउँमध्ये गढवा गाउँपालिका सबैभन्दा जोखिममा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गढवामा ३३० मा गरिएको परीक्षणमा ६२ मा सङ्क्रमण देखिएको हो । राप्तीको सिसहनियामा ३२२ मा गरिएको परीक्षणमा २९, घोराही उपमहानगरपालिका वडा १० नारायणपुरमा ३३३ को नमूना सङ्कलन गरिएकोमा १२ मा सङ्क्रमण देखिएको छ । लमही नगरपालिकामा ३०७ मा गरिएको परीक्षणमा १६ सङ्क्रमित फेला परेका छन् । दुई प्रतिशतभन्दा कम सङ्क्रमित भएमा सङ्क्रमितमुक्त हुने भए पनि जिल्लामा त्यो हुन नसकेको स्वास्थ्यकार्यालयका फेकल पर्सन कमल चन्दले जानकारी दिए । औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण देखिनेमा यी अवस्था भन्दा बाहिरका रहेका छन् । साथै खाली पेटमा औषधि नखानसमेत आग्रह गरिएको छ । शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात् सामान्य केही लक्षण देखिने हुँदा नआत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा दाङमा जोखिम कायमै रहेको छ । जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि निरन्तर खुवाउने अभियान सञ्चालन भए पनि जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमित दरमा कमी हुनसकेको छैन । यही २० गतेदेखि ११औँ पटक औषधि खुवाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीवी करीब छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ । यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता सामान्य असर देखापर्न सक्ने छलफलमा जानकारी गराइएको थियो । रासस
काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण गरिने
काठमाडाैं । यस्तै कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाउनेसमेत भएको उनले बताए । विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरेका छन् । यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिए । रासस