ज्यासमिन हाइजिनकाे युभि स्टेरलाइजड फेस सिल्ड मास्क बजारमा
काठमाडाैं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी ज्यासमिन हाइजिन प्रोडक्टसले सिल्ड फेस मास्क बजारमा ल्याएको छ । उक्त सिल्ड फेस मास्क नेपालमै युभि स्टेरलाइजड भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ । सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नारा का साथ ल्याएको यो फेसमास्कको प्रयोग ले कोभिड-१९ लगायत अन्य भाइरस तथा किटाणुहरुबाट उच्च सुरक्षा दिन्छ । युभि स्टेरलाइजड मास्क भएको हुनाले यो आफैमा १००% किटाणु तथा भाइरस रहित भएकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । सिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क स्ट्यान्डर्ड १६२८९ः२०१४ को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ ।
डरले खाँदैनन् हात्तीपाइलेको औषधि
गलकोट । लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने बताउँदै यसअघि ११ औँ पटकसम्म अभियान चलाए पनि हात्तीपाइले निवारण नभएपछि अहिले १२ औँ चरणको अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । बाह्रौँ चरणको अभियान सुरु गर्नुभन्दा पहिले हात्तीपाइले प्रभावित क्षेत्र नारायणस्थान र कुस्मिशेरामा चौथो पटकको नमूना सङ्कलन गरिएको थियो । नमूना सङ्कलन गर्दा नारायणस्थानमा आठ र कुश्मिसेरामा दुई जनामा हात्तीपाइले पोजेटिभ देखिएपछि पुनः दुई वर्षका लागि अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । ‘हात्तीपाइलेको निवारण अभियान प्रभावकारी भएन भन्ने कुरा यसबाट बुझ्न सकिन्छ, नागरिकस्तरबाटै जागरुक नभए सम्म बागलुङमा यस्तो अभियान चलाइराख्नु पर्ने देखियो’, गुरौँले भने ‘हात्तीपाइले अभियान दोहोर्याउनु पर्नेमा मुख्य कारण औषधिको प्रति असरको डर देखिन्छ, ५९ प्रतिशत नागरिकमा यस्तो समस्या सर्वेक्षणका क्रममा पाइयो, अब यो भ्रमलाई सबै मिलेर चिर्न आवश्यक छ ।’ गुरौँका अनुसार औषधि अनिवार्य नभएको तथा चेतनाको अभावमा हात्तीपाइलेको औषधि नखाने प्रचलन अझै कायम छ । बुधबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक शर्माले सन् २०२२ सालभित्र नेपालमा हात्तीपाइले निवारण गर्ने भनिए पनि बागलुङ जस्ता निवारण नभएका १२ जिल्लाका कारण यो अभियान बढाएर २०२८ सम्म पुर्याइएको बताइन्। हात्तीपाइले निवारण नहुनुका कारण अध्ययन गर्ने क्रममा गत वर्ष औषधि सेवन नगर्ने मध्ये ५९.८ प्रतिशतले प्रतिअसरको डरले औषधि नखाएको तथ्याङक सङ्कलन गरिएको शर्माको भनाइ छ । सन् २०१० बाट सुरु भएको हात्तीपाइले निवारण अभियानमा सुरुको वर्ष ८० प्रतिशतले औषधि सेवन गरेका थिए तर पछिल्लो अभियानमा यो घट्दै गएको र २०२० मा पुनः ८७.५ प्रतिशतले औषधि सेवन गरेको जनाइएको छ । औषधि सेवन नगर्ने सङ्ख्यालाई १०० प्रतिशत मान्दा ५९.८ प्रतिशतले प्रति असरको डरले औषधि नखाएको, १९.६ ले आवश्यक नभएको भन्दै नआएको, ७.६ प्रतिशतले औषधि खुवाउन नआएको वा थाहा नपाएको, ११ प्रतिशतले चेतना नभएर र २.१ ले धेरै औषधि भएको कारण देखाउँदै औषधि नखाएको बताएका थिए । यसरी गरिन्छ हात्तीपाइले निवारण पाँच वर्ष लगातार हात्तीपाइलेको औषधि खुवाइसकेपछि नमूना परीक्षण हुन्छ, उक्त नमूना परीक्षणमा जम्मा नमूना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ । नत्र दुई वर्ष पुनः अभियान चलाउनुपर्ने हुन्छ । बागलुङमा भने तीन पटकसम्म नमूना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना सङ्कलन गर्दा समेत १० जनामा पोजेटिभ भेटिएको थियो । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा पटक–पटक हात्तीपाइलेको जीवाणु भेटिँदा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो । हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको र जबसम्म निवारण हुँदैन तबसम्म सबैले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौँले बताए । विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बँच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङमा दुई लाख ६४ हजार ८३६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा दुई वर्षमुनिका बच्चा र गर्भवतीलाई औषधि खुवाइने छैन । रासस
विदेशबाट म्याग्दीमा आउने १० दिन अनिवार्य क्यारेन्टिन बस्नुपर्ने
काठमाडौं । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जानकारी दिए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । उनका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ । काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वारेन्टिनमा नराखी काममा खटाइएको अवस्थामा सम्बन्धित कम्पनी तथा व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकमा सहभागी केही प्रतिनिधिले भने विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने तर विभिन्न ठाउँमा मानिसको भीडभाड हुने मेलाजात्रा र महोत्सव नियन्त्रणमा बेवास्ता गरिएको भन्दै निर्णयप्रति असहमति जनाएका छन् । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवि विश्वकर्माले सङ्घीय सरकारले जारी गरेको निर्देशन र आग्रहविपरीत म्याग्दीमा मेला महोत्सवलाई सहयोग पुग्ने हिसाबले केही व्यापारीको दबाब र प्रभावमा उनीहरु अनुकूलको निर्णय गरिएको भन्दै असन्तुुष्टि जनाएका छन् । दरवाङमा चैत अन्तिम हप्तादेखि मालिका महोत्सव र बेनीमा नयाँ वर्षको अवसरमा लोक सांस्कृतिक उत्सवको आयोजना गरिएको छ । यसैगरी फागुपूर्णिमा पर्वको अवसरमा पनि गाउँगाउँमा मेला आयोजना भएका छन् ।