अब स्वास्थ्य बीमा ७७ जिल्लामा

काठमाडाैं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू थालिएको हो । बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७०० बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । ती अस्पतालमा उपचार बीमा लागू गरेका परिवारका सदस्यले गराए रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउनेछन् । बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौँ”, उनले भने, “त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाई सबैलाई आबद्ध गर्दछाैँ ।’ अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । उनले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइनेसमेत जानकारी दिए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् । सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताए । उनले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताए । ‘गरीब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन’, उनले भने, ‘त्यस्ता गरीब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।’ बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम भएको बताए । ‘बिरामी हुँदा मानिसहरु एक लाखभन्दा पनि बढी तिर्छन्’, उनले भने, ‘तर बीमा गर्नका लागि तीन हजार ५०० शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’ उनले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घरघर जाने गरेकाले अब भने बीमित बढ्ने बताए । सरकारले पोलिएको, गम्भीर अपाङ्गताका लागि गरिने उपचार, ओँठ तालु काटिएकामा गरिने सर्जरीबाहेकको प्लास्टिक तथा कस्मेटिक सर्जरी भने बीमाबापत गराउने पाउने छैनन् । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । रासस

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी

झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेको बताए । उनले यही चैत २० गते १०औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिए । नौ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको बताए । हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताइन् । उनले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिइन् । उनले यही चैत २० देखि चैत मसान्तसम्म जिल्लाभर हात्तीपाइले रोगको औषधि खुवाइने कार्यक्रम रहेको बताइन् । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि उनले आग्रह गरिन् । हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिका संयोजक तथा जिसस कार्यालय झापाका प्रमुख सोमनाथ पोर्तेलले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसकारी र सञ्चार क्षेत्रबाट जनचेतनामूलक कार्यक्रम प्रवाह गर्न आग्रह गरे । सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चियाबगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, शहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ । हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईँले जानकारी दिए । उनले औषधि आएपश्चात तत्काल स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्याइने बताए । उनका अनुसार जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने काम भइरहेको छ । उनले जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताए । रासस

काठमाडौं आइपुग्यो चीनले दिएको कोरोना भ्याक्सिन

काठमाडाैं । चीनले अनुदानमा दिएकाे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेकाे छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आइपुगेकाे हाे । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो । यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । भेरोसेल खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ । स्वास्थ्यसेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराए । ‘उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन’ उनले भने, ‘उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।’ उनका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ । नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए । यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।