अब काठमाडौं प्रवेशमा कडाई, सार्वजनिक कार्यक्रम पनि गर्न नपाइने
काठमाडाैं । अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारकाे याे निर्णयसँगै अब काठमाडाैं प्रवेशमा कडाई गर्ने भएकाे हाे । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । यस्तै, सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेकाे छ । यस्तै, विद्यालयहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउनेदेखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालय मार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताए । उनले भने, ‘हरेक विद्यालयमा पनि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, शिक्षा कार्यालय मार्फत त्यहाँको विद्यार्थी शिक्षकहरुलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने, कक्षा कोठाहरु व्यवस्थित गर्ने, साबुन पानीको व्यवस्था गर्ने, सेनिटाइजरको प्रयोग गर्ने भन्ने कुराहरु पनि भएको छ । हरेक नगरपालिकाले एउटाएउटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनको व्यवस्था गर्ने र संक्रमित व्यक्तिहरुलाई तुरुन्त रिफर गर्ने भन्ने कुराहरु पनि भएको छ ।’ स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियान अन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । साथसाथै आजैदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न समितिले आग्रह गरेको छ।
दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिए
काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३१० जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १ हजार ८३२ पुगेकाे छ । नेपालमा आजसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०२ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ७४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३०३६ पुगेकाे छ ।
वायु प्रदूषण: बाहिर ननिस्कन विज्ञको सुझाव
काठमाडाैं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे । वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे । बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे । गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो । रासस