ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने
काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए । लामो समयसम्म पनि सन्तान नहुँदा सयौं दम्पती पीडामा रहेकाले उनीहरूका लागि उचित परामर्श दिन लागिएको उनको भनाइ छ । पछिल्लो समय प्रविधिको विकाससँगै सन्तान उत्पादनका उपचार पद्धतीले निसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीलाई खुशी दिलाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ । सो कार्यक्रममा निशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परिक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अनुभवी र दक्ष चिकित्सकद्वारा स्त्रीरोगको परिक्षण गरिने अस्पतालले जनाएको छ ।
मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु
मुगु । जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले बताए । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुने बताएका छन् । रासस
अब सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साविकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरु गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिए । उनले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिए । ‘आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुन्छ । सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ’, उनले भने, ‘यस अस्पतालले पनि आवश्यक जनशक्ति उत्पादनको तयारी गर्नुपर्छ ।’ मन्त्रालयले एक सयदेखि तीन सय श्ययासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय श्ययाभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइ सकेको मन्त्री बस्नेतले जानकारी दिए । सरकार चिकित्सा शिक्षा ऐन परिमार्जनको तयारीमा लागको कार्यक्रममा जानकारी गराइएको थियो । वार्षिकोत्सव समारोहमा अस्पतालमा निर्देशक डा युवानिधि बसौलाले तीन सय श्ययाको विशिष्टकृत सरुवा रोगको नयाँ भवन निर्माण प्रक्रियामा रहेको जानकारी दिए । उनले विशिष्टकृत अस्पतालको न्यूनतम् सेवा मापदण्ड सुरु भइसकेको बताए । नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुईतुईले अस्पतालले आउँदो शैक्षिक सत्रदेखि नर्सिङको पढाइ गर्ने गरी तयारीबारे जानकारी दिँदै सरकारबाट अनुमति प्राप्त भएमा अध्यापन सुरु गरिने प्रतिबद्धता जनाए । वार्षिकोत्सवका अवसरमा कोभिड-१९ को महामारीमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै अस्पतालले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेलाई सम्मान गरेको थियो । अस्पतालमा अहिले एक सय श्यया सञ्चालनमा रहेको छ । त्यसमा २० वटा आकस्मिक श्यया रहेका छन् । अस्पतालबाट दैनिक दुई हजार जना बिरामीले बहिरङ्ग सेवा लिने गरेको निर्देशक डा बसौलाले जानकारी दिए । गत आर्थिक वर्ष २०७९/८० मा यस अस्पतालबाट एक लाख छ सय १९ जनाले बहिरङ्ग उपचार सेवा लिएका छन् । सोही आवमा ११ हजार चार सय ४६ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् भने एक हजार नौ सय ८७ जना अस्पतालमा भर्ना भएका थिए । रासस