नियमित खानूहोस् दही, यस्ता छन् फाइदा
काठमाडौं । के तपाईं आफ्नो आहारमा दही कत्तिको समावेश गर्नुहुन्छ ? के तपाईंलाई दहीको फाइदाबारे थाहा छ ? आज दहीका फाइदाका बारेमा छलफल गरौं । दही पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । यसले शरीरलाई पोषण प्रदान गर्छ । दहीमा उच्च मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डीलाई मजबुत बनाउन सहयाेग गर्छ । यसले शरीरमा बढ्दो बोसोको मात्रालाई पनि नियन्त्रण गर्छ । दहीकाे दैनिक सेवनले मुटुको समस्यालाई हटाउन मद्दत गर्नुका साथै कोलेस्ट्रोलको स्तर घटाउन पनि मद्दत गर्छ । दहीमा पाइने प्रोबायोटिक्सले मेटाबोलिज्म बढाएर तौल घटाउन मद्दत गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग (सीभीडी) विश्वव्यापी मृत्युको प्रमुख कारण हो । जसका कारण बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार आहारमा दही समावेश गरेमा मुटु रोगबाट बच्न सकिन्छ । दहीकाे फाइदाहरू: आहारविज्ञ मनिषा गोयलले दहीमा क्याल्सियमको मात्रा बढी हुनुका साथै बी कम्प्लेक्स पनि प्रचुर मात्रामा पाइने बताउँछिन् । यसमा पाइने भिटामिन बी १२ र रिबोफ्लेविनको सहयोगले न्युरल ट्युब जन्मदोषका साथै मुटुसम्बन्धी रोगबाट पनि राहत मिल्ने उनकाे भनाइ छ । दहीको सेवनले शरीरलाई संतृप्त बोसो र केही मात्रामा मोनोस्याचुरेटेड फ्याट प्राप्त हुन्छ । यसको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । युएसडीएका अनुसार १ कप दहीको सेवनले शरीरलाई २८ प्रतिशत फस्फोरस, १० प्रतिशत म्याग्नेसियम र १२ प्रतिशत पोटासियम प्राप्त हुन्छ । यसबाहेक दहीमा सेलेनियम र जिंक पनि पाइन्छ । यसले प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ । कोलेस्ट्रोल राम्रो बनाउँछ ब्रिटिस जर्नल अफ न्यूट्रिशनको रिपोर्टका अनुसार दहीमा पाइने स्याचुरेटेड फ्याटले शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ। जर्नल अफ हेयरी साइन्सको २०१७ को रिपोर्टअनुसार घरमा बनाएको दही खाने मानिसमा अरूकाे तुलनामा राम्रो कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसबाहेक ट्राइग्लिसराइड्सको स्तर पनि नियन्त्रणमा रहन्छ । रक्तचाप नियन्त्रण दहीमा भिटामिन ए, बी ६, बी १२ र रिबोफ्लेभिन जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार दहीको नियमित सेवनले उच्च रक्तचापको जोखिम कम गर्छ । यसमा पाइने क्याल्सियम र पोटासियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । अर्को अध्ययनका अनुसार दिनमा तीन पटक दही खाँदा उच्च रक्तचापको जोखिम १३ प्रतिशतले कम हुन्छ । हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ हार्ट फाउन्डेसनको अनुसन्धानका अनुसार बिना स्वादको दहीको सेवनले रक्तनलीमा हुने कडापनलाई कम गर्न सकिन्छ । खानेकुरामा दही समावेश गर्नाले धमनीमा हुने अवरोध हटाएर मुटुमा रक्तसञ्चारलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको सेवनले शरीरलाई म्याग्नेसियम र पोटासियम प्राप्त हुन्छ । यसले हृदयघात र स्ट्रोकको जोखिमलाई नियन्त्रण गर्न मद्दत गर्छ । उत्तम प्रोबायोटिक्स पेटको माइक्रोबायोमले मुटुको सही स्वास्थ्य कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । दही खाँदा पेटमा राम्रो ब्याक्टेरियाको वृद्धि हुन्छ । माइक्रोबायोटाले एथेरोस्क्लेरोसिस, उच्च रक्तचाप र सूजन कम गर्न सक्छ । -एजेन्सीकाे सहयाेगमा
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
किमाथांका । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने किटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने किट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेंगी संक्रमित एक सय एक बिरामी भेटिएका छन् । अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लिनिकमा एक हजारदेखि एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ । स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताए । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । ‘एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ’, सूचना अधिकारी खत्रीले भने । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उनले जानकारी दिए । विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता
काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झाैता भएकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर भएको हाे । सम्झाैतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर माेह्युन कोङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र मुगु अस्पतालका स्वास्थ्य व्यवस्थापक डा. निर्मल नगरकोटीले हस्ताक्षर गरेका थए । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पताल कोइकाको अनुदान सहयोगमा स्थापना भएका हुन् । सम्झौतापश्चात मुगु अस्पतालका बिरामीहरूले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार पाउनेछन् । दुवै अस्पतालहरूले बिरामी व्यवस्थापनलाई व्यवस्थित बनाउने जनाइएकाे छ । कोइकाका कन्ट्री डाइरेक्टर कोङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीचको साझेदारीले स्वास्थ्य सेवा क्षेत्रमा भविष्यमा हुने सहकार्यका लागि उदाहरण प्रस्तुत गर्ने बताए । कार्यक्रममा मध्यपुर थिमि नगरपालकाका मेयर श्री सुरेन्द्र श्रेष्ठले समुदायलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । नेपाल कोरिया मैत्री नगरपालका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशनले बिरामीहरूलाई सम्भावित स्वास्थ्य सेवा प्रदान गर्न तत्पर रहेको बताए । याे पनि पढ्नूहाेस्: कोइका नेपाल कार्यालयद्वारा ‘फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना याे पनि पढ्नूहाेस्: कोइकाद्वारा बर्दिया जिल्लाकाे समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग