अब मधेसमा पनि एमबिबिएस पढाइ, ७५ प्रतिशत विद्यार्थी निःशुल्क पढ्न पाउने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए । सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । रासस
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार पुग्यो
गोदावरी । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार ९ सय १५ पुगेको बताए । सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या ३ लाख ९ हजार १२ र पुरुषको संख्या २ लाख ७७ हजार १ सय ९० रहेको साउदले बताए । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ९९ हजार १ सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार ४ सय २० र अछाममा ५७ हजार ९ सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ४२ हजार १ सय २, बाजुरामा ३६ हजार ५ सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार ९ सय २८ र दार्चुलामा १६ हजार १ सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ । प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ । बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् । सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।
मुस्ताङ र हुम्ला बाहेक सबै जिल्लामा फैलियो डेंगी, ६ हजार बढी संक्रमित
काठमाडौं । मुस्ताङ र हुम्ला बाहेक अरु सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला बाहेक अन्य सबै ठाउँमा डेंगी संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलदा संक्रमितहुनेको संख्या ६ हजार ८ सय ३१ पुगेको छ । महाशाखाका अनुसार हालसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा डेंगीका बिरामी देखिएका छन् । गण्डकीमा डेंगी पुष्टि हुनेको संख्या ३हजार २सय २९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै ११४९ जनामा डेंगी पुष्टि भएको छ। तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै बागमती प्रदेशमा १७२३ मा डेंगी देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगी संक्रमण देखिएको छ ।