अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल, भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण गरिने

बायाँबाट क्रमश: उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेल र स्वास्थ्यमन्त्री प्रदीप पाैडेल काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ । परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ । अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्नेगरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए । स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए । बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो। २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्ने प्रस्ताव स्वीकृत

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफै सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबीना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए । ती सबैको समस्या समाधान गर्न अस्पताललाई विकास समितिमा परिवर्तन गर्ने मन्त्री पौडेलले केही अघि घोषणा गरेका थिए । उनले घोषणा गरेको एक महिनाभित्रै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको समस्या समाधान भएको हो । सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्तर्गत रहने भएका छन् । यसले लामो समयदेखि रोकिएको वृत्तिविकासका कारण परेको समस्या हल हुने भएको छ । मन्त्रिपरिषद बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भएपछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ । मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा डा. अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । डा. अजित रायमाझी । फाइल तस्बिर । यसअघि कान्ति अस्पतालका दुईपटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् । न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन् । एमबीबीएस अल इण्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पीएचडी गरेका छन् ।

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक÷/एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो । ‍हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ । अझै डेङ्गी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताए । कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा १८ पुरुष र १६ महिला गरी ३४ जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । यस्तै, पनौतीमा २६, भुम्लुमा २०, धुलिखेलमा १८, मण्डनदेउपुरमा १२, पाँचखालमा सात, नमोबुद्धमा छ, रोशीमा पाँच तथा तेमाल, बेथानचोक र महाभारतमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने ब्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुनेगर्दछ ।