अरिंगालले टोकेर चारजना विद्यार्थी घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगाललले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगाललले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय संगीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।

आर्ट अफ लिभिङले सम्पन्न गर्यो ह्याप्पिनेस प्रोग्राम

काठमाडौं । आर्ट अफ लिभिङ नेपालले २२ जना लक्षीत समुहका महिलाहरूलाई ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न गरेको छ । ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा आज काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ कार्यक्रम सम्पन्न गरेको छ । आयोजकका अनुसार घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी सञ्चालित उक्त कार्यक्रममा २२ जना लक्षित समुहका महिलाहरू सहभागी भएका थिए । उक्त कार्यक्रमका प्रशिक्षक अच्युत राज गौतम, सैलेन्द्र हमाल र मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले ४ दिन सम्म प्रशिक्षण गरेका थिए । जीवनको महत्व र जिवन जिउने कलामा योग ध्यान र साधनाको उपादेयताबारे विशेष प्रशिक्षण प्रदान गरेका थिए । उक्त कार्यक्रमको समापन पछि सहभागीहरूले आफ्नो प्रतिक्रिया दिंदै कार्यक्रमले मन प्रफुल्लित भएको र तनाव व्यवस्थापनमा सहजता हुने र व्यायम र सुदर्शन क्रियाले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रम समापनपछी बोल्दै मुख्य प्रशिक्षक निभा माथेमा प्रधानले नेपालमा भविष्यमा पनि यस्ता कार्यक्रमकहरू सञ्चालन गरी लक्षित समुदाय र वर्गलाई सेवा पुर्याउन र स्वस्थ समाज निर्माणमा लाग्न आर्ट अफ लिभिङ नेपाललाई प्रेरणा मिलेको धारणा व्यक्त गरेका थिए ।

फोक्सोलाई कसरी स्वस्थ राख्ने ?

काठमाडौं । हामीले हरेक वर्ष झैं यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रूपमा मनाउँदै आएका छौं । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको हाे । यस लेखमा फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने  तरिकाहरूको बारेमा संक्षिप्तमा जानकारी गराउने प्रयास गरिएको छ । सास फेर्ने प्रक्रिया सास फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौं । यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरू हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयर स्याकहरू जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बनडाइअक्साइडको आदानप्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ । फोक्सो आफैले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन्। डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ । इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन । यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ। यिनै माम्सपेशीहरूको मद्दतले हामी स्वास फेर्छौं । फोक्सोका महत्त्वपूर्ण  कार्यहरू फाेक्साेले कार्बनडाइअक्साइड हटाउने र शरीरमा अक्सिजन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बनडाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धिकरण गर्छ। डा. रवि महत रोग प्रतिरोधात्मक क्षमता : फोक्सोमा साना रौंजस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले शरीरलाई रोगबाट जोगाउँछ । ध्वनि उत्पादन : फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वरयन्त्रमा ध्वनि उत्पादनमा सहयोग पुर्‍याउँछ । अम्ल-क्षारको  सन्तुलन राेक्दछ : हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौं । हामीले एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौं । प्रदूषित हावामा धुलोको कणहरू तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरू पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका विरामी दिन प्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ । फोक्सोका महत्त्वपूर्ण रोगहरू : दम (सीओपीडीर आस्थ्मा) : यो एक दीर्घकालीन समस्या  हो। यसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीठी बज्ने र छातीको  दुखाइ आदि पर्दछन् । फोक्सोको क्यान्सर: फोक्सोको क्यान्सर एक गम्भीर रोग हो, जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो । निमोनिया: निमोनिया फोक्सोको संक्रमण हो । यो विभिन्न कारणले हुन सक्छ । जस्तै- ब्याक्टेरिया, भाइरस वा फङ्गस । निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने हुन् । क्षयरोग (टीबी) : यो एक संक्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ । यसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरूमा संक्रमण गर्दछ । फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपायहरू :  प्रदूषणबाट फोक्सोलाई बचाउने केही उपायहरू : -धुलोधुँवा, ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने  -घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानी गर्ने  -अरूले गरेको धुम्रपानबाट बच्ने र अरूलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने  -खाना पकाउन, कोठाहरू तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्ने  -वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस् ।  -प्रदुषित क्षेत्रमा जानु पर्दा एन ९५ मास्क लगाउनुहोस् ।  -प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस् । फोक्सोलाई स्वस्थ्य कायम राख्न आहार र व्यायाम महत्त्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमतामा सुधार गर्छ । विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौड्ने, पौडी खेल्ने, र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदि गर्नुपर्दछ । प्रशस्त झोलिलाे कुरा पिउनु स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ । फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ । (डा. रवि महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)