अब सातै प्रदेशमा मुटु रोगको उपचार, काठमाडौं आउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो ।अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्र्तगत क्यान्सर उपचार सुरु भैसकेको बताउँदै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

आचार्य भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ढंगले समितिले काम सुरु गरिसक्यो

काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आइतबार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम सुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताए । संयोजक डा. आचार्यले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने स्वास्थ्यमन्त्री प्रदीप पाैडेलकाे एउटा ठूलो कमिटमेन्ट देखेकाे छु । त्यहीअनुसार कमिटी गठन भएको छ । कमिटीमा डा. भगवान कोइराला, डाक्टर रघुराज काफ्ले हुनुहुन्छ । मन्त्रीज्यूको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई कमिटीले पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याओस् भन्ने कमिटमेण्ट छ । कमिटीले काम सुरु गरिसकेकाे छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जलनको उपचार सातै प्रदेशबाट निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ । हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो । जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ । यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । ‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘मन्त्रालयको आफ्नै श्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको छ ।’