१८ करोड लागतमा अस्पताल निर्माण गरिँदै
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा १८ करोड रुपैयाँ लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए । अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ । सरावल–५ का स्थानीयले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए । यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे ।
७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित
काठमाडौं । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ । ४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । उनले हुम्ला बाहेकका सबै जिल्लामा डेंगु संक्रमित बिरामी फेला परेको बताए । डेंगुबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको जानकारी दिए । ७६ जिल्लामा पुग्यो डेंगु, १२ जनाको मृत्यु मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औं हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औं हप्तासम्म आउँदा डेंगुको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगु वा डेंगुसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टुबरमा १२ हजार ६९९ केसहरु हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ । गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगु संक्रमित विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ । जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन् । बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको जोखिम बढी बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसावमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरु, संक्रमित अण्डाहरु रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो । त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन् । १२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ । सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी प¥यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो । यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ । व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगुको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ । डेंगु हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगु लगायतका उपचार गरिरहेका छौँ । डेंगु लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ । पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन । साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरुमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ । संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो । डेंगुबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन । छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगु संक्रमण हुनबाट बच्न । डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन् ।
अध्ययन भन्छ- सन् २०५० सम्म विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर, कमजोर राष्ट्रमा तीन गुणा बढी
काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ । सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ ।