भरतपुरवासीलाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट
चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गरे । भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ । यो सम्झौता मंसिर २ अर्थात् आजबाट लागू भई एक वर्षसम्म लागु हुनेछ । यस्तै नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्टीच्यूटमा संचालित सिटिइभिटीको पढाईमा विद्यार्थीलाई १० प्रतिशत व्यवस्था गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले सिएमसीसँग छुटसहितको सम्झौता गरिएको स्पष्ट पारिन् । प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छुटका लागि धेरै सिफारिस आउने गरेको भन्दै अब यो सम्झौतासँगै सिधै छुट उपलब्ध भएसँगै विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरिन् । छुट सेवा लिनका लागि महानगरले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ। कार्ड उपलब्ध नभएसम्म महानगरपालिकाबाट सिफारिस लिएर जानुपर्ने छ । प्रथम पक्ष अर्थात् भरतपुरवासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको अस्पतालका अध्यक्ष हरिषचन्द्र न्यौपानेले जानकारी दिए । सिएमसी नेपालकै सबैभन्दा बढी विरामी उपचार गर्ने अस्पताल भएपनि भरतपुरवासीलाई त्यसको अनुभुत गर्न नपाएको र अब भने नगरवासीले सर्वसुलभ सेवा पाउने उल्लेख गरे । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ।
पुटुक्क निस्केको पेट रोगको गोदाम हो, समयमै व्यवस्थापन गर्नतिर लागौं
काठमाडौं । मान्छेको खानपान अनि जीवनशैली आजभोलि नराम्ररी बिग्रँदै गएको छ । बच्चादेखि युवा हुँदै वृद्धवृद्धा यही कारण विभिन्न रोगको सिकार हुँदै गएका छन् । आजभोलि विश्वमै सर्नेभन्दा नसर्ने रोगले मान्छेको ज्यान गइरहेको छ । यो सबै व्यक्तिको गलत खानपान र जीवनशैलीले हुँदै गएको हो । नेपालमा आजभोलि प्रेसर, थाइराइड, मुटुरोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । यसको सिकार १५, १६ वर्षका युवाहरू पनि भइरहेका छन् । यी जति पनि नसर्ने रोगहरू उत्पन्न हुन्छन्, ती सबैको जिम्मेवार व्यक्ति आफै हो भन्दा फरक पर्दैन । जस्तै मधुमेह एउटा वंशाणुगत रोग पनि हो । आमाबुवामा मधुमेह छ भने उनीहरूबाट जन्मने बच्चाहरूमा ७० प्रतिशत याे रोग हुने सम्भावना हुन्छ । यदि व्यक्तिले खानपानमा ध्यान दिएन भने खतरा हुन्छ । तर उसले आफ्नो खानपान अनि जीवनशैलीमा ध्यान दिने हो भने ३० प्रतिशत र सम्भावना रहेको ७० प्रतिशतलाई निको पार्न सक्छ । फेरिँदै जीवनशैली अहिले मान्छेले काम गर्न छोड्यो, विस्तारै सुत्न पनि छाड्दैछन् । पहिले बिहानदेखि दिनभर घरभित्रदेखि बारीसम्मको कडा परिश्रम गर्नुपर्थ्यो । बारीमा उब्जाएको सागसब्जी अनि रोटी खाइन्थ्यो । आजभोलि घरभन्दा बढी व्यक्तिको काम कार्यालयमा हुन थाल्यो । भात रोटीभन्दा बढी बाहिरका मैदाबाट बनेका खानेकुराहरू खान थालियो । खानपानको मेसो नमिल्दा र शारीरिक व्यायाम नहुँदा मान्छेका शरीरमा विभिन्न किसिमका समस्या देखिन सुरु भए । हाम्रो खानपान राम्रो छैन, शारीरिक व्यायाम छैन, पहिलेको जस्तो कडा परिश्रम हुन छोड्यो । योसँगै तनाव अनि चिन्ता पनि थपिँदै गएका छन् । यस्ता विभिन्न कारणबाट अहिले मान्छे मधुमेहलगायत नसर्ने रोगको सिकार भइरहेका छन् । जसमा युवादेखि वयस्कसम्म यो समस्याबाट ग्रसित हुन पुगेका छन् । यसमा विशेष गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खानपानले भूमिका खेलिरहेको हुन्छ । पोषणविद प्रतीमा सेन । पहिला व्यक्तिको दिनको सुरुवात बिहान सातु, मकै लगायतका प्रोटिनयुक्त खानेकुराबाट हुन्थ्यो । अहिले हामी धेरैमध्ये धेरैको बिहानीको सुरुवात बिस्कुट र चियाबाट हुन्छ । सहर बजारमात्र होइन, ग्रामीण स्तरमा पनि मानिसले आफ्नो दिनको सुरुवात यसरी नै सुरु गर्न थालेका छन् । जसले शरीरमा रहेकाले रगतमा देखिन चिनीको मात्रा बढ्दै गइरहेको छ । ग्लुकोज भनेको हाम्रो शरीरलाई नभइ नहुने इनर्जीको स्रोत हो । यो शरीरलाई अति आवश्यक पर्छ । यो पाइने भनेको खानाबाटै हो । हामीले खाएको खाना शरीरमा गइसकेपछि ग्लुकोजमा परिणत हुन्छ । र हाम्रो शरीरले यसलाई शक्तिको रूपमा प्रयोग गर्छ । यसका लागि शारीरिक कियाकलाप चाहिन्छ । शारीरिक रूपमा सक्रिय छैन भने चिल्लोको रूपमा परिणत भइ शरीरमा वा रगतमा बोसोको मात्रा बढ्छ । कलेजो लगायतका विभिन्न ठाउँमा गएर जमेर बस्छ । जसका कारण यस्ता समस्याहरू देखा परिहेका हुन् । खानपान नै ठीक छैन धेरैजसो मानिसको दैनिकी आजभोलि निकै व्यस्त छ । बिहान उठेदेखि राति सुत्ने समयसम्म कम्प्युटरकै अगाडि बसिरहेका हुन्छन् । यसो हुँदा बिहान खाजा नखाने, एकैचोटि दिउँसो र साँझा खाना खाने तर धेरै खाने बानी हुन्छ । यो बानी स्वस्थ जीवनशैलीको लागि राम्रो होइन । हाम्रो शरीर हामीले जस्तो लाइनमा ढाल्यो त्यस्तै हुन्छ । एउटा समयमा टन्न खान्छौं, दिनमा दुई पटक मात्र खान्छौं भने पेट लाग्ने समस्या धेरै हुन्छ । पेट लाग्नेबित्तिकै मुटुरोग, मधुमेहको समस्या हुने जोखिम पनि उत्तिकै धेरै हुन्छ । त्यसैले हामीले एकै पटक धेरै खानुभन्दा समय अन्तर मिलाए दिनमा ४ पटक खाने बानी बसाल्नुपर्छ । हामीले नास्ताबाट दिनको सुरुवात गर्दा दिनभरको समस्या नै हल हुन्छ । एकै पटक धेरै खाँदा कति खाइयो भन्ने पनि थाहा हुँदैन । सकेसम्म यो बानीलाई हटाउनुपर्छ । हामीले सक्यो र समय पनि भयो भने बिहान ८ बजे नास्ता, नभए खानाकै रूपमा सुरुवात गर्दापनि हुन्छ । त्यसपछि अपरान्ह १२ बजे, दिउँसाे ३ र साँझ ६/७ बजेतिर खाना खाँदा ठीक हुन्छ । एकदिनमा चार पटक मात्रा मिलाएर खायो भने यसले भोक पनि लाग्दैन र शरीर स्वस्थ पनि राख्न मद्दत मिल्छ । खानपान कस्तो गर्ने ? हामीले भन्ने गरेको सन्तुलित भोजनमा चार खाद्य समूह हुन्छन् । जसमा अन्न, प्रोटिनयुक्त खानेकुरा, तेलहन र हरियो सागपात पर्दछन् । यी खानेकुरालाई मिलाएर खान सक्यो भने सबैभन्दा राम्रो हुन्छ । यी खानेकुराबाट हामीले बिहानीको सुरुवात गर्नुपर्छ । अहिले हरेक बार खाना चार भन्ने कुराहरू पनि सुनिन्छ । अहिले बिहान उठ्ने धेरैजसो व्यक्ति व्यायाम गर्न जानुहुन्छ । उठ्नेबित्तिकै पानी खायो व्यायाम गर्यो, आइसकेपछि सातु अन्नलाई कम गरेर गेडागुडी खान सक्छौं । अथवा बदाम काजु, ओखरको मात्रा मिलाए खायाैं भने पनि राम्रो हुन्छ । हामीले प्रोटिनबाट दिनचर्या सुरु गर्न सक्यौं भने राम्रो हुन्छ । भोकलाई पनि यसले होल्ड गर्छ, यसो केही गर्याैं भने पनि के खाऊँ के खाऊँ लाग्दैन । त्यसपछि भनेको हामीले खाने भनेको खाना नै त हो । खानामा हामी नेपालीको हुने भनेको दालभात तरकारी या माछामासु हो । खाना खाँदा जहिले पनि सागसब्जीलाई प्राथमिकता दिनुपर्छ र खानामा भात, रोटी डिढोको मात्रा कम गर्नुपर्छ । दिउँसो सकेसम्म फलफुल खानुपर्छ । सबै ठाउँमा फलफुल नहुने भएपनि गाउँठाउँमा मौसमअनुसार अथाव तपाईंले मौसमअनुसार जे फलफुल पाउनुहुन्छ त्यो दिउँसो खाँदा राम्रो हुन्छ । अर्को भनेको अण्डा, चना, चिउरा र सलाद खाजाको रूपमा खाना खानुपर्छ तर सुत्नुभन्दा २/३ घण्टा अगाडि खाइसक्नुपर्छ । ढिला खाना खाँदा हामीले खाएको कुरा पच्न पाउँदैन जुन बोसो भएर बस्छ । यसरी खानालाई सन्तुलित बनाउन सकिन्छ । कस्तो खाना खाने ? जसलाई नसर्ने रोगले छोइसकेको छ उनीहरू औषधीमा निर्भर रहन्छन् । तर म भन्छु, औषधी भनेको २० प्रतिशत मात्र हो । बाँकी ८० प्रतिशत बिरामी आफैले मेनेज गर्नुपर्छ । यसमा खानपानको समय र मात्रा मिलाउन सक्नुपर्छ । मैले कति खाएको छु, कुन समयमा खाएको छु भनेर आफै मिलाउनुपर्छ । अर्को मुख्य कुरा निन्द्रा हो । व्यक्ति स्वस्थ निद्राको निकै आवश्यक पर्छ । यसका लागि हरेक दिन अनिवार्य ८ घण्टा सुत्नैपर्छ । किनभने हाम्रो शरीर बन्ने, हाम्रो शरीरको मर्मत हुने विभिन्न किसिमका हर्मोन बन्ने समय भनेको यही ८ घण्टा हो । हर्मोनलाई ब्यालेन्समा राख्नको लागि, तनाव व्यवस्थापन गर्नको लागि भएपनि ८ घण्टा निन्द्रा पुर्याउनै पर्छ । अर्को भनेको चिन्तालाई व्यवस्थापन गर्नु पनि हो । योसँगै तौल र व्यायामलाई पनि ध्यान दिनुपर्छ । यति गर्यो भनेमात्र औषधीले काम गर्छ नभए हामीले खाइरहेको औषधीले पनि काम गर्दैन । कतिजनाको सोच हुन्छ- औषधी खाइरहेको छु, मैले जे खाँदा पनि हुन्छ भन्ने छ तर यो गलत हो । औषधी खाएर जीवनशैली परिवर्तन गर्नुभएको छ भने आषधीको डोज बढाउनुपर्दैन । सकेसम्म जीवनशैलीमै ध्यान दिनुपर्छ । व्यायाम विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार हप्तामा १ सय ५० मिनेट सक्रिय रूपमा हिँड्न मात्र सक्यो भने हाम्रो शरीर ब्यालेन्समा बस्न सक्छ । हामी मोटोपनाबाट ग्रसित छैनौं भने दिनमा आधा घण्टा हिँड्दा पनि पुग्छ । त्यति बेला हाम्रो मुटुको गति नर्मलभन्दा केही बढ्नुपर्छ । यतिमात्र गर्न सक्यो भने पनि केही हदसम्म राम्रो हुन्छ । अब तपाईंहरूसँग समय छ भने १ घण्टा, डेढ घण्टा सके हिँड्ने त्यो पनि भएन भने जे सकिन्छ व्यायाम गर्नुपर्छ । आजभोलि प्राय: मान्छे हिँड्न छोडेका छन् । कार्यालय जाँदा गाडीमा, आउँदा गाडीमा यतिसम्म कि कार्यालयको माथिल्लो तलामा जान पनि लिफ्टको सहयोग लिइरहेका हुन्छन् । यो राम्रो होइन । यदि तपाईंहरू गाडीमै हिँड्नुहुन्छ र अफिसमा पनि बसेर काम गर्नुहुन्छ भने लिफ्ट छोडेर हिँडेर जान सकिन्छ । बसेर काम गर्दा पनि एकैछिन यताउता हिँड्न सकिन्छ । दुई मिनेट भएपनि आधा घण्टा, १५ मिनेटमा उठेर हिँड्नुपर्छ । लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन । स्वास्थ्य नै धन हो, यो नै ठीक छैन भने राम्रो हुँदैन । यसका लागि सुगर, थाइराइड, प्रेसर पनि हामीले बेलाबेलामा जाँच गर्नुपर्छ । जीवनशैलीसँग सम्बन्धित रोगहरू अहिले बढ्दै गइरहेका छन् । पेट सकेसम्म लाग्नै नदिऊँ खानपान, निन्द्रा, व्यायामसँग ध्यान दिनुपर्ने अर्को कुरा हो- तौल । यसमा पनि हामीले ध्यान दिनुपर्छ । उचाइ जति छ त्यहीअनुसारको तौल हुनुपर्छ । जस्तै- तपाईं १ सय ५० मिटर उचाइ भएको मान्छे हुनुहुन्छ भने तपाईको तौल ५० देखि ५४ केजी राख्न सक्नुपर्छ । हामीले तौलमात्र उचाइसँग व्यपस्थापन गर्न सक्यौं भने सामान्यता जति पनि नसर्ने रोग छ त्योबाट ग्रसित हुने सम्भावना कम हुन्छ । आजभोलि कतिपयले बडी मास इन्डेक्स (बीएमआई) प्रयोग गर्ने गरेको पाइन्छ । यो भनेको शरीरको तौल उचाइको आधारमा व्यक्तिको चिल्लोपना (बडी फ्याट) कति भने नाप्ने एक विधि हो । त्यस्तै अर्को विधि भनेको कम्मरको गोलाइ भनेर भनिन्छ, यसमा हामीले आफ्नो नाइटोलाई आधार मानेर गरिन्छ । नाइटोबाट नाइटोमै नाप्दा वरिपरिको भाग ८० सेन्टीमिटरभन्दा कम महिलाको र पुरुषको ९० सेन्टिमिटरभन्दा कम भएको एकदम राम्रो मानिन्छ । अहिले तौल व्यवस्थापन गर्न एकदम आवश्यक छ । अहिले जतिपनि समस्या छ, यो पेट नै ठूलो भएर लाग्ने गर्छ । मान्छे हेर्दा सबै ठीक भए पनि पेट पुटुक्क लागिरहेको हुन्छ । यो भनेको पेटमा बोसो लागेको हो । पेट लाग्नु भनेको रोग लाग्न सुरु हुनु हो । तौल धेरै भएपनि खासै फरक पर्दैन तर पेट लाग्न भएन । फ्याटकै कारण पेट बढ्छ र रोगको घर भनेको पेट हो । पेटलाई मात्र व्यवस्थापन गर्न सके धेरै राम्रो हुन्छ । (पोषणविद् प्रतीमा सेन केसीसँग गरिएको कुराकानीमा आधारित)
छारे रोगले निम्त्याउने स्वास्थ्य संकट, कस्ता व्यक्तिमा लाग्दछ ?
हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छौँ भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रुपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ । छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रुपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, र्याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरिर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन । सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र विस्तारै पहिलेकै अवस्थामा आउँछन् । नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ। त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ।विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ। त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ। छारेरोग विश्वमा नसासम्बन्धी रोगहरुमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइन्छ । छारे रोगकै कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरुमा यो जटिलता अझ बढी रहेको पाइन्छ । बिबाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ । नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् । उनीहरुलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न ससकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ।यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रुपमा रहेको छ । कस्ता व्यक्तिमा लाग्दछ ? यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुनसक्छ । किनकी यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरु हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्यमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ । रोगको उपचार विधि के के छन् ? यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ। छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभएपनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा निकै ठूलो असर पारेको हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरु थुप्रै अवसरहरुबाट बञ्चित हुनु पर्दछ । सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरुलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरुले जीवनभर नै औषधि खानुपर्ने हुन्छ । औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेशन) प्रविधिबाट उपचार गरिन्छ । भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरिमा जडान गरिन्छ । यो प्रविधि निकै महंगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रुपैया पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई/तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिना मात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ । छारेरोगबाट बच्ने कसरी ? कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाटबच्नका लागि केही उपायहरुमा ध्यान दिन सकिन्छ । –गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले पछि बच्चा छारेरोगी हुन पुग्छ । –रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सीसेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले छारेरोग हुन सक्छ । –सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारेरोग हुने सम्भावना रहन्छ । –छारेरोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ । –मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारेरोगको जोखिम धेरै हदसम्म कम हुन्छ । अरुको भूमिका कस्तो हुनुपर्छ ? छारेरोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरुलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरुमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपछ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ । परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरुको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन्। त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट छारे रोगको उपचार हुन्छ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)