आज धन्वन्तरी जयन्ती मनाइँदै, आयुर्वेद चिकित्सकका लागि शुभकार्य प्रारम्भ गर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू धर्मशास्त्रका ग्रन्थमा गरिएको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले दिए । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु

काठमाडौं । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ठ स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो । स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर्सिङ सेवा देखि छुट्टै बेड, अपरेशन थिएटर, आईसियु र जाँच गर्ने ठाउँ छुट्याइएको छ । त्यस्तै यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाईन तयार पारेको छ जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, विरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरुको व्यवस्था गरिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका विरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरुमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । ‘हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेका हौं,’ उनले भने । स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्धारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्राकको विरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पुर्याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ । न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा.बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका विरामीहरुका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरु माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए । ‘स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरुको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ’, उनले भने । डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोेकको विरामीको संख्या रहेको बताए । हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ । नेपाल मेडिसिटी अस्पतालमा सञ्चालनदेखि नै स्ट्रोकको उपचार गरिँदै आएको छ । अस्पतालमा दैनिक ४ जना विरामीहरु स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३००० मानिसहरुलाई स्ट्रोक हुने गरेको छ । ‘धेरै जसो विरामीहरु ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके विरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यान देखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,’ डा. पोखरेलले भने ।

ड्राइभ गर्दा कारको झ्याल खुल्ला राख्नुहुन्छ ? यस्ता छन् बेफाइदा, स्वास्थ्यमा पनि जोखिम

काठमाडौं । के तपाईं  गाडी चलाउँदा झ्यालको सिसा खोल्नुहुन्छ ? कार चलाउँदा मानिसहरू रहरले सिसा वा सनरुफ खोल्छन् तर के तपाईंलाई थाहा छ- त्यसो गर्नु घातक हुन सक्छ ? यदि तपाईंलाई थाहा छैन भने आज हामी तपाईंहरूलाई यसबारेमा संक्षिप्तरूपमा बताउन गइरहेका छाैं । यस्ताे बानीले तपाईंकाे कारको साथसाथै तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ । कारकाे इन्धन खपतमा वृद्धि गाडी चलाउने क्रममा कारको झ्याल खोल्दा हावा कारभित्र आउँछ र एयर ड्र्याग बनाउँछ । यो एयर ड्र्याग कम गर्न कारले कडा मेहनत गर्नुपर्छ र यसले इन्धन खपत बढाउँछ । झ्याल खोलेर चलाउँदा एसीको तुलनामा १० प्रतिशतसम्म इन्धन खपत बढ्न सक्छ । झ्यालहरू खुला राख्नाले गाडीभित्र धुलो र फोहोर पनि जम्मा हुन्छ । प्रदूषणको खतरा जब तपाईं झ्याल तल राखेर कार चलाउनुहुन्छ तब तपाईं सिधै वायु प्रदूषणको सामना गर्नुहुन्छ । बाहिरी हावामा रहेको धुलोधुवाँ र हानिकारक ग्यासहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन् । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा सास फेर्न समस्या, आँखा जलन र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छन् । कारका झ्यालहरू खुला राख्नाले बाहिरी आवाज सिधै तपाईंको कानमा पुग्छ, जसले तपाईंको कानमा पनि क्षति पुर्‍याउन सक्छ । सुरक्षासँग सम्बन्धित खतराहरू पनि झ्यालहरू खुला राख्दा चोरहरू सजिलै कारभित्र घुस्न सक्छन् । साथै झ्यालको सिसा खुलै राख्दा कारभित्र लामखुट्टे र अन्य कीरा पस्न सक्छन्, जसले समस्या निम्त्याउन सक्छ । तपाईं कारको झ्याल कुनबेला खुला राख्न सक्नुहुन्छ ? छोटो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोल्नु राम्रो हुन्छ । तर, काठमाडाैंदेखि भरतपुर अथवा पाेखरा जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नूहोस्, किनकि प्रदूषण अत्यधिक छ । यदि तपाईं सफा हावा भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ । यदि तपाईंको कारको एसी बिग्रिएको छ भने पनि तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ ।