स्वास्थ्य बीमा ५ लाख पुग्ने मन्त्री पौडेलको दाबी, यस्ता छन् १०० दिनका उपलब्धि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । ‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उनले भने, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई महसुस गराएरै छाड्छौं ।’ मन्त्री पौडेलले पत्रकार सम्मेलनमा क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा शुरु भैसककेको र सातै प्रदेशमा पुर्याउने निर्णय भएको सार्वजनिक गरे । नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको कुरालाई मन्त्री पौडेलले प्रगतिका रुपमा सार्वजनिक गरे । उनले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भने । लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरुको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गरे । धेरै निर्णय दीर्घकालिन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको मन्त्री पौडेलले बताए । देशमा हालसम्म स्नायु उपचार गर्ने केन्द्र नभएकामा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको मन्त्री पौडेलले बताए । ‘बीमा ५ लाख पुग्छ पुग्छ, प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’ मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बीमा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भैरहेको दावी गरे । आफूहरुले एउटा अवधारणा बनाएकामा पूरा मन्त्रालयले दिएको भन्दै मन्त्री पौडेलले आभार व्यक्त गरे । मन्त्री पौडेलले प्रधानमन्त्रीसमेत यसलाई सुधार गरेर दायरा ५ लाख पुर्याउने कुरामा सकारात्मक भएको बताए । प्रधानमन्त्रीज्यूले यसलाई लागू गर्न सकारात्मक सन्देश दिनुभएको छ, उनले भने, स्वास्थ्य बीमाको विषयमा दायरा बढ्छ बढ्छ । पाँच लाख पुग्छ पुग्छ । ‘औषधीको मूल्य घट्ने गरी समायोजन हुन्छ’ मन्त्री पौडेलले नतिजा आइ नसके पनि आम नागरिकले धेरै प्रयोग गर्ने औषधीको मूल्य समायोजनका लागि प्रक्रिया थालिएको बताए । ’औषधीको मूल्य समायोजन हुन्छ हुन्छ । मूल्य समायोजन हुन्छ भनेको कुनैमा पनि बढ्दैन, उनले भने, सबैमा मूल्य घट्छ । ‘मन्त्री हुनु अघि नागरिक थिएँ, आफूले भोगेको पीडा सम्झेर सुधारमा लागिरहेछु’ मन्त्री पौडेलले आफू विगतमा पनि सरकारी अस्पतालमा उपचार गर्ने गरेको भन्दै परिवारको उपचारका क्रममा देखेका समस्या सम्झेर सुधार अघि बढाइरहेको बताए । ‘मन्त्री हुनु अघि नागरिक थिएँ । सरकारी अस्पतालमै मेरो र परिवारको उपचार गराइरहेको छु,’ उनले भने, ‘मैले जे(समस्या) देखें त्यो सुधार गर्नुपर्छ भनेर लागेको हुँ ।’ उनले सुधारका लागि संरचनागत पद्दती र पूर्वाधार पनि सँगै आउने भन्दै यी सबै कुरालाई ख्याल गरेरै सुधार अघि बढिरहेको बताए । [pdf id=518975]
सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादन हुँदै
काठमाडौं । सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिहंदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको र ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको बताएका हुन् । उनले सय दिनमा आफूले संघीय अस्पतालका उपकरणहरूको मर्मतसम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अस्पतालका उपकरणहरूको मर्मत कार्य सुरु गरेको बताए । सहीद गंगालाल हृदय केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ती बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मतसम्भार अहिले जारी रहेको उनले बताए । मन्त्री पौडेलले हालसम्म ४ सय भन्दा बढी सामग्रीको मर्मतसम्भार भएको तथा मर्मतसम्भार गर्नुपर्ने आवश्यक उपकरणको इन्भेन्ट्री तयार भएको जानकारी दिए । मन्त्री पौडेलले औजार उपकरणको सदुपयोग एवं व्यवस्थापनका लागि कार्य योजना तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन भइ कार्य भइरहेको बताए । मन्त्री पौडेलका अनुसार औषधि ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनमा समय सापेक्षित संशोधनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउनुपूर्व सम्बन्धित निकायहरुमा राय/सहमतिका लागि पठाइएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवं प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क उपलव्ध गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको बताए । स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार सहितको पूनर्संरचनाको प्रारुप तयार गर्न डा. शम्भू आचार्यको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन भई समितिबाट कार्य भइरहेको उनले जानकारी दिए । मन्त्री पौडेलले सय दिनभित्र आफूले वीर अस्पतालमा १५ शैय्याको जलन उपचार वार्ड पुनः सञ्चालन गरी सघन जलन उपचार सेवा निःशुल्क शुरुवात गरेको, सातै प्रदेशबाट हुनेगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, नारायणी अस्पताल, वीरगञ्ज, कीर्तिपुर अस्पताल, कीर्तिपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भेरी अस्पताल, नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर र सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकका लागि कस्मेटिकबाहेक सघन जलन उपचार निःशुल्क हुने व्यवस्था मिलाएको पनि बताए ।
स्वास्थ्य बीमा प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुझाव दिन विज्ञसँग मन्त्री पौडेलको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गरेका छन् । बीमा सुधार सम्बन्धमा सुझाव दिन विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अधिकारी शम्भुप्रसाद आचार्यको नेतृत्वमा बनेको समितिसँग मन्त्री पौडेलले बीमामा देखिएका स्रोत अभाव तथा गलत दाबी जस्ता समस्या समाधान गर्न व्यावहारिक ठोस सुझावको अपेक्षा गरेको बताए । ‘हामीलाई व्यावहारिक र ठोस सुझाव दिनुहोला,’ उनले भने, ‘जुन स्वास्थ्य बीमाको समस्या समाधानमा पथ प्रदर्शक बनोस् ।’ मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताए । ‘स्रोतको अभाव मुख्य समस्या छ,’ उनले भने, ‘तर स्रोत बढाउने केही विकल्प छन् । यहाँहरूले उपयुक्त विकल्प दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं । मन्त्री पौडेलले नसक्नेका लागि एक लाख रुपैयाँकाे बीमा रकम ठूलो सहायता भए पनि त्यसले मात्र समस्या समाधान नहुने भएकाले उक्त रकम वृद्धि गरी पाँच लाख पुर्याउनुपर्ने योजना बनाएको बताए । ‘हामीले दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्छ, तपाईंहरूले थप समिति बनाउन नपर्ने गरी सुझाव दिनुहोला,’ उनले भने । मन्त्री पौडेलले सरकारकै फरकफरक स्वास्थ्य बिमा कार्यक्रम अस्तित्वमा रहेकाले सेना प्रहरीलगायत सबैलाई कसरी एकीकृत बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सुझाव दिन आग्रह गरे । बैठकमा समिति संयोजक आचार्य तथा सदस्य डा भगवान् कोइरालाले ठोस सुझाव दिने गरी काम भइरहेको जानकारी दिए ।