पाटन अस्पतालमा चार घण्टा बिताउँदा जे-जे भोगियो

  अस्पताल मान्छेको पहिलो अनि अन्तिम आशा हो । सामान्य रोग होस् या जटिल । शरीरमा अलिकति दुखाइ  हुनेबित्तिकै सबैभन्दा पहिले सम्झनामा आउने भनेको अस्पताल नै हो । अस्पतालमा बिरामीले आफूलाई सबैभन्दा सुरक्षित ठान्दछन् । विभिन्न शारीरिकदेखि मानसिक समस्या लिएर गएकाहरू समस्यामुक्त भएर फर्कने आशामा हुन्छन् । मान्छेको मनमा अस्पताल गइसकेपछि सञ्चो भइने मनोविज्ञान हुन्छ । यही आशामा मृत्युको मुखमा पुगेकाहरू पनि अस्पतालबाट फर्केर आएका थुप्रै उदाहरण छन् । तर, नेपालका अस्पताल जहाँ ठिकठाक मान्छे पुग्दा पनि बिरामी भएर फर्कनुपर्ने अवस्था छ । अझ सरकारी अस्पतालको कुरा अहो ! सम्झँदा पनि रिँगटा लाग्छ ।  टिकट काट्दाको लाइन, टिकट पाइसकेपछिको लाइन्, लाइन बस्दैमा दिन बित्छ । बिरामी झन् बिरामी हुन्छ भने बिरामीको आफन्त पनि बिरामी हुने अवस्था छ ।  घण्टौं लाइनमा बसेर जब डाक्टरसँग कुराकानी हुन्छ, उनको व्यवहारले झनै दु:खी बनाउँछ । हुन त सबै डाक्टर एउटै हुँदैनन् । कसैको बोलीले नै आधा रोग सन्चो भएको महसुस हुन्छ भने कसैको व्यवहारले झन पीडा थपिन्छ । यसैगरी, अस्पतालका कर्मचारीको व्यवहारले मानसिक तनाव झन थपिन्छ । हुन त यो कुरा व्यक्तिको स्वभावअनुसार फरक पर्ला तर,  बिरामीको उपचारमा बसेका नर्स, डाक्टरले यो स्वभाव बदल्न जरुरी देखिन्छ ।  आर्थिक अवस्था सम्पन्न भएकाहरूलाई यो समस्या भोग्न सायदै पर्दैन होला तर, अधिकांश सरकारी अस्पतालमा पुगेकाहरूले भने अनेकन समस्या झेल्न बाध्य छन् ।  अस्पताल पुग्दा, टिकट काट्दा, डाक्टरलाई देखाउँदा एक दिन त्यतिकै बित्छ । कहिले त समय सकियो भनेर भोलिपल्ट फेरि जानुपर्ने पनि हुन्छ । अझ डाक्टरले भनेको जाँच गर्दा कति दिन लाग्छ यकिन हुँदैन । रिपोर्ट लिएर फेरि डाक्टरले औषधी दिँदा भएको रोग पनि थप बल्झिने पीर । सधैं अरूले पोखेका पीडा सुन्ने बानी परेकी म बेलाबखत आफै यस्ता समस्या भोगिरहेकी हुन्छु । मलाई त अस्पतालमात्र होइन, जुनसुकै सरकारी कार्यालयको सेवा उस्तै लाग्छ । सरकारी अस्पतालमा नागरिकले पाउने सेवा होस् या अन्य सरकारी कार्यालयमा पत्रकारले माग्ने सूचना होस्, दुवै सहजै पाउन निकै कठिन । पटक-पटक घचघच्याउँदा पनि समयमा पाउन गाह्रो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार म पनि पाटन अस्पताल पुगें । अस्पताल त धेरै छन्, तर मैले खोजेको सामाजिक सुरक्षा कोष (एसएसएफ) लागू भएको अस्पताल थियो । खोजी गर्दा काठमाडौंमा निजीदेखि सरकारी केही अस्पतालहरूमा यो कार्यक्रम लागू छ । मैले एसएसएफमा आवद्ध भएको पाटन अस्पताल छनोट गरें ।  रिपोर्टिङका क्रममा धेरै पटक पाटन अस्पताल पुगे पनि आफ्नो जाँच गर्न भने पहिलो पटक पुगेकी  थिएँ । टिकट लिने ठाउँसमेत थाहा थिएन । सोध्दै जाँदा ओपडीको लागि ४ नम्बर गएर टिकट काट्नुपर्दो रहेछ । म अस्पताल पुग्दा साढे १० बजिसकेको थियो । टिकटको लागि बिहान ८ बजेदेखि नै मान्छे लाइनमा बसिसक्दा रहेछन् । म पुग्दा धेरै लाइनमा बस्नुपर्ने अवस्था थिएन । ७५ रुपैयाँ तिरेर टिकट लिएँ । टिकट दिँदै मलाई १० नम्बर कोठामा जान भनियो । १० नम्बर कोठा खोज्दै पुगें । कोठै पत्ता लगाउन त ५ मिनेट लाग्यो । सोध्दै जाँदा बल्ल १० नम्बरमा पुगें, जहाँ मान्छेको यति भीड थियो कि राम्रोसँग उभिने ठाउँ पनि थिएन ।  ठाउँ नभए पनि लाइनमा त बस्नै पर्‍यो । त्यो भीडमा म पनि थपिएँ । बस्ने ठाउँ त थियो तर, खाली थिएन । ११ बजेदेखि साढे १२ बजेसम्म उभिएँ ।  अस्पतालमा त एक घण्टा पनि उभिन गाह्रो पो हुँदो रहेछ । फेरि कति पो उभिनुपर्ने हो थाहा थिएन । टोकन नम्बरअनुसार मान्छेको नाम आउँदै भित्र जाँदै गर्ने क्रम चलिरह्यो । साढे १२ बजेदेखि मान्छेको नाम लिन रोकियो । के भयो होला… भन्ने जिज्ञासा भयो । नाम नलिएपछि मैले एक जना सिस्टरलाई सोधें । उनले भनिन्, ‘ब्रेकको समय भयो, अब २ बजेपछिमात्र आउनु,अहिले डाक्टर खाजा खान निस्कनुभयो ।’ लामो स्वास फेरें । उफ… भनेर बस्नुबाहेक विकल्प थिएन । मजस्तै अस्पताल पुगका अरूहरू पनि कराउन थाले । १ देखि २ बजेसम्म त ठीकै हो, साढे १२ बजेदेखि २ बजेसम्म यो ठीक भएन, दुई-चार जना कराउँदै थिए । त्यो भीडमा कसले सुन्थ्यो र हाम्रो कुरा ? डाक्टरदेखि स्वास्थ्यकर्मी खाजा खान गएपछि अरू सबैजना पनि बाहिर निस्के । एकैछिन भीड भएको ठाउँ खाली भयो । अब मैले भने मजाले बस्ने ठाउँ भेटें ।  टेबलमा बस्दै तनक्क खुट्टा तन्काएँ । मनमनै तर्कना आयो- ओहो ! आजको मेरो समय त्यत्तिकै जाने भो, फेरि पालो आज आउँछ कि आउँदैन ? आज पालो नपाएर फेरि भोलि आउनुपर्‍यो भने नि ?  डेढ घण्टा सोंच्दासोंच्दै बित्यो । उफ.. यसरी सोंचेर बस्दा डेढ घण्टा पनि ४ घण्टाभन्दा बढी पो लाग्ने रहेछ ।  २ बजेपछि फेरि काम सुरु भयो । डाक्टरहरू आए । बाहिर गएकाहरू धमाधम फर्के । फेरि भीड भयो । २ बजेर २० मिनेटपछि मेरो पालो आयो । भित्र गएँ । डाक्टरले सोधेअनुसार आफ्नो समस्या सुनाएँ, उनले पनि मैले भनेको कुरा टिपोट गर्दै गइन् ।   त्यसपछि थम्थमाइन् हातमा रगत जाँचदेखि थाइराइड हुँदै युरिन टेस्ट गर्नुपर्ने  कागज ।  कागज दिँदै डाक्टरले भनिन्, ‘यो रिर्पोट लिएर आउनु अनि के समस्या रहेछ, त्यसपछि त्यही अनुसारको उपचार गर्नुपर्छ ।’ मैले हस् धन्यवाद भन्दै बाहिर निस्किएँ । १० मिनेटका लागि डाक्टर भेट्न ४ घण्टा लाइनमा बस्नुपर्ने, कस्तो बिडम्बना !  यो कागज ल्याएर त फर्कें तर, मनमा पीर अहिले पनि छ । अब यो लिस्टमा लेखेको जाँच गर्न कति सयम लाग्ने हो, अझै कति दिन लाइनमा गएर बस्नु पर्ने हो ? यस्तो पीर सरकारी अस्पताल पुगेका अधिकांश नागरिकले महसुस गरेका छन् ।  घण्टौं लाइनमा बस्नुपर्ने समस्या पाटन अस्पतालको मात्र होइन । वीर अस्पताल, थापाथली अस्पताललगायत सबै सरकारी अस्पतालको हो । यही समस्यालाई सम्बोधन गर्ने भन्दै स्वास्थ्यमन्त्री बनेका प्रदीप पौडेलले सरकारी अस्पतालमा लाग्नु पर्ने लाइनको अन्त्य गर्ने प्रतिबद्धता जनाए । सोहीअनुसार अस्पताललाई पनि निर्देशन दिए । मन्त्रीको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै सबै अस्पतालले अस्पताल सेवा सुधारको रिपोर्ट मन्त्रीलाई बुझाएका थिए । पाटन अस्पतालको प्रतिबद्धता पाटन अस्पतालले  ९ वटा कुरामा सुधार गरेको जनाएको थियो । जसमा  भीड व्यवस्थापनका लागि जनरल पेयिङ क्लिनिक (जेपीसी)  प्रणाली थप व्यवस्थित गर्ने, विस्तारित सेवा प्रवाहका लागि पीपीपी सेवा थप व्यवस्थित गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापनदेखि डिजिटल बिलिङ भाद्र १ देखि लागू गरेको उल्लेख गरेको थियो । यस्तै, अस्पतालले बिदाको दिनमा समेत ओपीडी एवं शल्यक्रिया सेवा सञ्चालन गर्ने, बीमित सेवाग्राहीको औषधी वितरण व्यवस्थित गर्ने, अनलाइन बुकिङ प्रणाली सुविधा नियमित गर्न प्रक्रिया अघि बढाइएको मन्त्रीलाई रिपोर्ट गरेको थियो । तर व्यवहारमा भने कूनै पनि काम भएको पाइँदैन ।  भदौ १ गतेदेखि सेवा सुधार गर्ने प्रतिबद्धतासहित उपत्यकामा रहेका सबै अस्पतालले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बुँदासहित टिपोट गरिदिए । तर व्यवहारमा भने शून्य !  एक दिन अस्पताल पुग्दा आफैले महसुस गरेपछि उपचारमा पुगेका धेरैलाई सोधें- जो पटक-पटक पाटन अस्पतालमा उपचार सेवाका लागि पुगिरहन्छन् ।  लुभुकी ज्ञानुमाया महर्जन गर्भवती छिन् । ८ महिनाको गर्भ जाँच गर्न उनी बिहान ८ बजे अस्पताल पुगेकी थिइन् । उनको पालो पनि बल्ल साढे २ बजे आयो । ठूलो पेट बस्न पनि राम्ररी नमिल्ने, घरी बाहिर घरी भित्र लाइन हेर्न आउने गरिरहेकी थिइन् । उनलाई देख्दा लाग्थ्यो- ओहो आमा बन्न पनि सहज त पक्कै छैन । ज्ञानुमाया गर्भवती हुनुभन्दा पहिलेदेखि नै  सेवा लिन अस्पताल आइरहन्थिन् । उनलाई मैले पहिलेभन्दा भदौ १ गतेपछि लाइनमा बस्नु पर्ने समस्या हटेको हो ? भनेर प्रश्न गरें । प्रश्न सकिन नपाउँदै उनले भनिन्, ‘के को हट्नु ? उस्तै हो, जाँच गर्दा लाइनमा, रिपोर्ट लाइनमा लाइनमा बस्दा बस्दै कहिले त काम नभएर फर्कनु पर्ने हुन्छ ।’ मन्त्रीज्यू नागरिकसरह अस्पताल पुग्नुहोस्  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निःशुल्क उपचारदेखि ७ वटै प्रदेशमा जलन, क्यान्सरको उपचार सेवा सुरु गरेको घोषणा गरेका छन् । काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पतालमा कुनै पनि नागरिकले लामो समयसम्म लाइनमा बस्न नपर्ने, अप्रेसनका लागि तीन, चार महिनासम्म कुर्न नपर्ने गरी काम गर्ने मन्त्रीको शपथ लिएकै दिन घोषणा गरेका थिए । तर स्वास्थ्यमन्त्रीज्यू तपाईंले घोषणा गरेजस्तो नागरिकले सहज सेवा पाउन सकेका छैनन् । हुन त सत्तामा बस्नेहरूले गर्ने काम भनेको सम्बन्धित निकायलाई निर्देशन दिने र नीति बनाउने होला । तर, के निर्देशित गरेको कुरा अस्पतालले लागू गरेका छन् ? भनेर अनुगमन गर्ने काम तपाईंको होइन ? कि प्रचारमा आउन वाहवाहीको लागि गरिएका हुन् यस्ता घोषणा ? धेरै होइन, मात्र एक दिन मन्त्री भएर नभई एउटा सर्वसाधारण भएर अस्पताल पुग्नुहोस् त, कस्तो छ सरकारी कार्यालयको सेवा ? नागरिकले पाइरहेका सास्ती के छन् ? अनुभव गर्न पाउनुहुने छ । अर्को कुरा कुनै पनि सरकारी कार्यालयका कर्मचारीले अब खाजाको लागि आधा घण्टाभन्दा बढी समय खर्च गर्न नपाउने भन्ने सूचना तपाईंहरूले नै निकालेको होइन ? कि सूचना निकाल्ने निर्देशन गर्ने व्यवहारमा लागू नगर्ने हो ? यदि साँच्चै नागरिकको पीडा बुझेर, देखेर यस्ता घोषणा गरिएका हुन् भने कृपया अनुगमन पनि गरिदिनुहोस् । यहाँ दुःख पाउने तपाईंका छोराछोरी, बाआमाले नपाए पनि नेपाली नागरिकले सास्ती पाएका हुन् ।

नारायणी अस्पतालमा ५ करोडको ‘क्याथ ल्याब मेसिन’ उपयोग विहीन

वीरगञ्ज । ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो । तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउदैँ हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले सघन सहरी तथा भवन निर्माण कार्यालयले गत २०७८ सालदेखि क्याथ ल्याब राख्ने भवन निर्माण गर्दै आइरहेको बताए । ‘कार्यालयले आगामी पुस महिनाभित्रै क्याथ ल्याब राख्ने भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा गरिरहेको छ,’ उनले भने,‘क्याथ ल्याब मेसिन धेरै समय अघि अस्पतालमा आइसकेको छ । भवन तयार हुनेबित्तिकै जडान गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ मेसु दासले क्याथ ल्याब जडानसँगै प्राविधिक जनशक्ति तयार पारेर यस वर्षभित्रै ल्याथ ल्याब सञ्चालन गर्ने दावी गरे ।

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय भएको हो । मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । मन्त्री पौडेल स्वयंले समेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् । विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ । हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् । हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ । मृत्युपश्चात हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन् । हाल एक हजार बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् । र, उनीहरुले मृत्युपश्चात हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ । हाल नेपालमा मृगौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब २ फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।