मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि उनले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए । मन्त्री पौडेलले चासो लिएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो। मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरूपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ । मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क पनि खुलाउन भनिएको छ । यसैगरी, सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ । यसैगरी टिकटसहितका अरू सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ । ‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । पहिलो चरणमा अनुगमन गरिनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।’

गोरखाको धार्चेमा साढे २ करोडमा बन्यो आधारभूत अस्पताल

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। उनले भने, ‘कूल दुई करोड २८ लाख रुपैयाँको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।’ नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौं । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो । परिषद्ले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ । ‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ ।’ फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले जनाएको छ । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्री वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ । फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरूले त्यस्तो औषधि बिक्री वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ।