ह्याम्स अस्पतालमा अकेलेजिया कार्डियाको पोएम प्रविधिबाट सफल शल्यक्रिया 

काठमाडौं । मुलुकमै पहिलो पटक नेपाली चिकित्सकले शरीरमा घाउ नबनाइकन इन्डोस्कोपी प्रविधि (पीओइएम) बाट जटिल शल्यक्रिया गरेका छन् । ह्याम्स अस्पतालले भित्र्याएको नयाँ प्रविधि पोएमबाट अकेलेजिया कार्डिया (खाद्य नलीमा खानेकुरा अड्किएर निल्नै गाह्रो हुने समस्या) भएका तीनजना बिरामीको सफल शल्यक्रिया गरिएको हो । अस्पतालले आइतबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै २ जना महिला र १ जना पुरुषको यो प्रविधिबाट सफल शल्यक्रिया गरेको जनाएको छ । ह्याम्स अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट रूपमा कार्यरत डा. विवेककुमार पुर्वेको नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए । पुर्वेले नेतृत्व गरेको सो शल्यक्रियामा भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. विकास सिंगलको निगरानी तथा ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. नन्दु पौडेल सिलवाल, डा. अजित खनाल तथा एनेस्थेसियोलोजी डा. मुरारी राज उप्रेती र डा. सुरज लामिछाने सहभागी थिए । शल्यक्रियापश्चात हाल उनीहरू तीनै जनाको अस्पतालबाट डिस्चार्ज भइसकेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरू तीनै जनाको औषधीको मात्र शुल्क लिएर शल्यक्रिया सित्तैमा गरिएको जनाइएको छ । शल्यक्रियाका लागि लागि डा. पूर्वेले चीन गएर २ हप्ताको तालिम लिएका थिए । प्रविधि कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम लिसकेपछि अब नेपाली चिकित्सकको नेतृत्वले नै शल्यक्रिया सुरु गर्ने अस्पतालले जनाएको छ । डा. पुर्वे इन्डोस्कोपी तथा ईआरसीपी गर्ने मुलुककै अब्बल ग्यास्ट्रोइन्टरोलोजिस्टमा पर्छन् । पुर्वेले हालसम्म ४ हजार भन्दा बढी ईआरसीपी सफलतापूर्वक सम्पन्न गरिसकेकाले उनकै नेतृत्वमा पोएम प्रविधिद्वारा बिरामीहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने  अध्यक्ष भण्डारीले बताए । अस्पतालले नेपालमै पहिलो पटक संसारमा विद्यमान नयाँ प्रविधि भित्र्याएर नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्ने अभ्यास गरेको बताएका छ । के हो अकेलेजिया कार्डिया ? यो एक प्रकारको दुर्लभ रोग हो । यो रोग लाग्दा बिरामीलाई खाना निल्न गाह्रो हुन्छ । यो रोगमा खकार र पेटलाई जोड्ने अन्ननलीको तलको माशंपेशी राम्ररी खुल्दैन । जसका कारण व्यक्तिले खाएको कुरा अन्ननलीमै अड्किन्छ । यसलाई सामान्यता अन्ननलीको समस्या भनेर चिनिन्छ । नेपालमा पनि यस्तो समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् । यो रोग लाग्दा खाना निल्दा छाती वा घाँटीमा अड्किएको महसुस हुने, पेटबाट खाना फिर्ता आउने, छातीमा जलन वा दुखाइ हुने, तौल घट्ने समस्या देखा पर्छन् । यो रोगको ठोस कारण के हो भन्नेबारे भने यकिन नभएको डा. विवेकले बताए । विश्वभरमा करिब १ लाख जनामध्ये एक जनालाई अकेलेजिया कार्डिया हुने गरेको तथ्यांकले देखाएको छ । हालसम्म नेपालमा केही ठूला अस्पतालहरूमा र केही चिकित्सकबाट यस रोगको निदान बेलुन फुलाएर खाद्यनलीको तल्लो भागको हाई टोनमामा खुम्चिएर बसेको मांसपेशीलाई च्यातेर गरिँदै आइएको छ । अहिले विश्वमै सर्वोत्तम मानिएको पोएम इन्डोस्कोपी सर्जरी कुनै पनि नेपाली चिकित्सकले आफै गर्ने गरेका थिएनन् । पीओइम प्रविधि के हो ? यो एक प्रकारको अत्याधुनिक इन्डोस्कोपी उपचार हो । जुन अकेलेजिया कार्डिया भएका बिरामीहरूको उपचारका लागि प्रयोग गरिन्छ । यसलाई सरल तरिकामा भन्दा शरीरमा कुनै पनि ठूलो घाउ नबनाएर अथवा बिरामीहरूलाई कष्ट नदिएर गरिने उपचार विधि हो । जसमा कुनै ठूलो घाउ नबनाई सानो प्वाल बनाएर इन्डोस्कोपी प्रयोग गरेर उपचार गरिन्छ । अकेलेजिया कार्डिया उपचार गर्दा सबैभन्दा पहिले इन्डोस्कोपीको प्रयोग गरेर अन्ननलीको मांशपशी काटिन्छ । जसले अन्ननलीको तल्लो भाग (लोवर इसोफेगल स्फिन्कटर )लाई रिल्याक्स गराएर खाना निल्न सजिलो बनाउँछ । यो प्रविधिबाट उपचार गर्दा सबैभन्दा पहिले बिरामीलाई एनेस्थेसिया दिइन्छ । त्यसपछि मुखबाट पाइप हालेर अन्ननलीभित्र लैजान्छ । त्यसपछि अन्ननलीको भित्तामा सानो चिरा बनाएर समस्या भएको मांशपेशीलाई काटिन्छ र त्यो भागलाई पछि सिलाएर प्रक्रिया पुरा गरिन्छ । इन्डोस्कोपी सर्जरी विश्वमै पहिलो पटक जापानको टोकियोमा डा. हाराहिरो ईनाइले सन् २००८ मा सफलतापूर्वक सम्पन्न गरेका थिए । त्यसपश्चात अमेरिकन ग्यास्ट्रोइन्टेरोलोजीकल एशोसिएसनले समेत यस पद्धतिलाई अकेलेजिया कार्डियाको सर्वोत्तम उपचार पद्धतिको रूपमा मान्यता दिएको थियो । तत्पश्चात यस प्रविधिको विश्वव्यापीकरण भएको हो । यो विधि पश्चिमी मुलकमा समेत सबै अस्पतालहरूमा उपलब्ध छैन । निश्चित ठाँउहरूमा मात्रै उपलब्ध छ ।

४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लताको विज्ञता अब निजी अस्पतालमा

काठमाडौं । उमेर ओरालो लाग्नेबित्तिकै धेरैजसो ज्येष्ठ नागरिक भन्छन्, ‘अब आराम गर्नुपर्ने बेला भयो ।’ काम गर्न सक्नेहरू पनि अब सक्दिनँ भन्दै आराम गर्न थाल्छन् । काम गरिरहेकाहरूलाई पनि अरूले भन्छन्, ‘यो उमेरमा पनि के काम गरिबसेको ?’ यस्तै-यस्तै । तर डा. लता बज्राचार्य ७० वर्ष लागिसक्दा समेत अहिले पनि उही जोस, जाँगरका साथ आफ्नो काममा व्यस्त छिन् ।  उनको दैनिकी बिरामी  हेर्दै, जाँच गर्दै जान्छ । कहिले मिटिङ, कहिले अस्पताल, कहिले साथीभाइ भेटघाट यसैगरी दिनहरू बितिरहेका छन् । मंसिर अन्तिम साता भेटिएकी उनी भन्छिन्, ‘घरमा त्यत्तिकै बस्न मनै लाग्दैन, कहिले कता, कहिले कता, सकेसम्म बाहिरै हिँडिरहन्छु ।’ ४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लता आफ्नो रिटायर्ड लाइफ पनि अस्पतालमै बिताइरहेकी छिन् । उनी पुतलीसडकमा रहेको क्यापिटल अस्पतालमा कार्यरत छिन् ।  काठमाडौंको नेवार समुदायमा हुर्की बढेकी उनी उपत्यकाभन्दा बाहिर खासै गएकी छैनन् । तर पढाइको शिलशिलामा भने उनी भारत, थाइल्याण्ड, जर्मनलगायत विभिन्न देश पुगेकी छिन् । डा. लताले प्रभात स्कुलमा कक्षा १ सम्म पढिन् । कक्षा २ पछि भने उनको अध्ययन यात्रा कन्या मन्दिरमा स्कुलबाट सुरु भयो । उनले २०२२ सालमा एसएलसी पास गरेकी थिइन् । महिलालाई पढ्न हुँदैन भन्ने जमानामा पढेर डाक्टर बनेकी लतालाई पढाउँदा गाउँलेले निकै कुरा काट्थे । छोरी पढाउँदा चिठी लेखेर लभ गरी भाग्छन् भन्थे आजभन्दा ६०-७० वर्ष अगाडि काठमाडौं अहिलेको जस्तो सहर थिएन । यहाँको दैनिकी पनि गाउँको जस्तै थियो । जङ्गल थियो, मान्छे गाईवस्तु पाल्थे, धान गहुँ मजाले फल्थ्यो । अहिलेको जस्तो सिमेन्टले टालेको सहर थिएन । आमाबुवा हजुरआमा सबैसँगै बस्ने ठूलो परिवार थियो । उनको घरमा पढेलेखेको कोही थिएन । लता घरको जेठी छोरी थिइन् । उनी पछाडि भाइबहिनी थिए ।  लता स्कुल जाँदा घरको सबै काम गर्नुपर्ने जिम्मा उनकी आमाको थाप्लोमा आउँथ्यो । बिहानदेखि साँझसम्म काममा हुँदा हजुरआमाले छोरीलाई घरकै काम गराउन कर गर्थिन् । तर उनकी आमाले भने मानिनन् ।  ‘छोरीलाई घरको काम सिकाउनुपर्छ, स्कुल पठाउने होइन, हजुरआमाले संधै आमालाई भन्नुहुन्थ्यो,’ बालापनका दिन सम्झदै उनी भन्छिन्, ‘बज्यै कराउनुहुन्थ्यो तर, मैले पढ्न छोडिनँ ।’ लताका बुवा सुन पसलमा काम गर्थे । उनो आफ्नै पसल थियो । उनका बुवा ५-६ कक्षासम्म पढेका थिए । उनकी आमालाई अक्षर चिन्न गाह्रो थियो । तर सानोमा कखदेखि  अआ सबै उनकी आमाले नै सिकाउँथिन् ।  ‘त्यो बेला छोरीलाई स्कुल पढाउँदा चिठी लेखेर लभ गर्छन् अनि भाग्छन् भनिन्थ्यो,’ उनी भन्छिन, ‘छोरी पढाएर के पाउँछेस्, छोरीलाई बिगार्ने भयो भन्दै सबैले बुवालाई गाली गर्थे तर, मेरो बुवाले मलाई जहिले पढ्नुपर्छ पढ् मात्र भन्नुभयो ।’   डाक्टर बन्ने सपना लताले सानोमा डाक्टरलाई देखेकी थिइनन् । तर उनको चाहना डाक्टर बन्ने थियो । परिवारबाटै स्कुल जाने सबैभन्दा पहिलो उनी नै हुँदा कसैले यो नै बन्नुपर्छ समेत भनेका थिएनन् । तर उनका बुवालाई जे पढे पनि छोरीले पढ्नुपर्छ भन्ने थियो ।  स्कुलमा शिक्षकले ‘तेरो जीवनकाे लक्ष्य के हो’ भन्यो भने लता ‘म डाक्टर बन्न चाहन्छु’ भनेर भन्थिन् । उनले स्कुलमा मिहिनेत गरेर पढिन् । २०२२ सालमा एसएलसी पास भइसकेपछि उनी अमृत साइन्स क्याम्पसमा भर्ना भइन् ।  लताले आफ्नो डाक्टर बन्ने सपना रहेको बताएपछि उनलाई बायोलोजी लिएर पढ्न सल्लाह दिइयो । प्लस टुपश्चात्  उनले इण्डियन एम्बेसीको छात्रवृत्ति पाइन् ।  एमबीबीएस पढ्न भारत जानुपर्ने भयो । उनले भारतको कोलकताबाट  एमबीबीएस पास  गरिन् । ५ वर्षपश्चात उनी २०३३ सालमा नेपाल फर्किन् ।  त्यो बेला घरमा पारिवारिक समस्या हुँदा उनले चिकित्सक-स्नातकोत्तर तह (पीजी) गर्न पाइनन् । पीजी गर्न नपाएपछि उनले वीर अस्पतालमा काम सुरु गरिन् । २०३४ सालमा उनले लोकसेवा आयोगबाट नाम निकालेर सरकारी जागिर सुरु गरिन् ।  वीर अस्पतालको यात्रा वीर अस्पतालमा काम सुरु गर्ने बित्तिकै लताले प्रसूति तथा स्त्रीरोग वार्डमा काम गरिन् । त्यो बेला स्त्रीरोग वार्ड ५० शैय्या  थियो । त्यो बेला अहिलेको जस्तो भीड त थिएन तर, मान्छे भने उतिखेर पनि धेरै आउँथे ।  उनले वीर अस्पतालमा ८ वर्ष काम गरिन् । त्यो बीचमा उनले वीर अस्पतालको इमर्जेन्सी वार्डमा पनि काम गरिन् । इमर्जेन्सीमा काम गर्न गाह्रो थियो । प्रहरीले सडकमा हल्ला गर्ने मान्छेलाई छोपेर इमर्जेन्सीमा ल्याउँथे । रक्सी खाएको हो कि होइन जाँच गर्नुपर्थ्यो । रक्सी खाएको थाहा भए प्रहरीले कारबाही गर्थ्यो । उनी भन्छिन्, ‘रातिमा पनि काम गर्नुपर्थ्यो , कहिलेकाहीं जँड्याहा आउँथे, मलाई देख्दै डर लाग्थ्यो, त्यहाँ धेरै समय काम गर्न सकिनँ ।’  प्रसूतिमा विशेषज्ञता  एमबीबीएस कोर्स साढे ४ वर्षको कोर्स थियो । जसमा  १ महिना कलेजले विद्यार्थीलाई अनुभवका लागि अस्पतालमा पठाउँछन् । लतालाई पनि कलेजले कोलकाताकै एक अस्पतालको गाइनो विभागमा पठायो । त्यहाँ उनले महिलालाई व्यथा लागी रोईकराई गरेको देखिन् । उनलाई झन् डर लाग्यो ।  लता त्यहाँ बस्न नसक्ने भइन् । तर कलेजले पठाएअनुसार दिनमा कति बिरामी हेर्‍यो, के-के काम गर्‍यो, सबै रिपोर्ट बनाउनुपर्थ्यो । उनलाई गाह्रो भयो । पढाइ सकिएपछि १ वर्ष इन्टर्नसीप गर्नुपर्छ । जहाँ तीन/तीन महिना फरक-फरक वार्डमा काम गर्नुपर्ने हुन्छ । तर त्यो बेला भने उनलाई डर लागेन ।  बरु उनलाई यो क्षेत्रमा काम गर्न रुचि लाग्यो । ‘त्यो तीन महिनामा त मलाई निकै रुचि लाग्यो अनि मैले यही विषयमा पीजी गर्नुपर्छ भन्ने निर्णय लिएँ,’ लता भन्छिन्, ‘सुरुमा डर लाग्ने मलाई बुझ्दै जाँदा त यही विषय महत्त्वपूर्ण लाग्यो ।’  विशेषज्ञता हासिल गर्न फेरि पढाइ   वीर अस्पतालमा काम गर्दै जाँदा उनी विशेषज्ञ बन्न ढाकामा अध्ययन गर्न गइन् । त्यहाँ उनले स्त्री रोग तथा प्रसूतिमा पीजी गरिन् । पढाइपछि उनी फेरि नेपाल आइन् । त्यो बेला वीर अस्पतालको प्रसूति वार्ड थापाथलीमा गाभिने भन्ने कुरा चलेको थियो । उनी आएको दुई/तीन महिनापछि वीर अस्पतालको वार्ड थापाथलीमा गाभियो ।  उनी पनि थापाथली अस्पतालमा गइन् । वीरमा काम गर्दा उनी मेडिकल अधिकृतसम्म भएकी थिइन् । त्यहीबेला उनलाई विराटनगर सरुवा गरियो । काठमाडौंभन्दा बाहिर उनलाई बाहिर बस्न गाह्रो भयो । लामो समयसम्म बाहिर बस्न सकिनन् । त्यहाँ ५ महिना मात्र. काम गरेर फेरि फर्किइन् । लताले  तराईमा सर्प बढी हुन्छ भन्ने सुनेकी थिइन् ।  उनी सर्पसँग निकै डराउँथिइन् । ल्याप्रोस्कोपी सर्जरीमा पनि विज्ञता स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा लामो समय काम गरेकी लतालाई फेरि अर्को विषयमा विज्ञता हासिल गर्न मन लाग्यो । अस्पताल आउने कतिपय महिलाको अप्रेसन गर्नुपर्थ्यो । अप्रेसन गर्दा बाहिरी भाग धेरै चिर्नुपर्छ । त्यो बेला  ल्याप्रोस्कोपी सर्जरी नयाँ थियो ।  उनलाई यो विषयमा जान्न र पढ्न मन लाग्यो । उनी जर्मन र इण्डियामा तालिम गर्न पुगिन् । त्यही बेला उनले ३ महिना थाइल्याण्डमा गएर फेलोसिप गरिन् ।  लताले अस्पतालमा अप्रेशन गर्नेदेखि लिएर अस्पतालको व्यवस्थापकीय जिम्मा लिने मौकासमेत पाइन् । थापाथलीमा कर्मचारीको रूपमा काम गरेर उनी पहिले रजिष्टार त्यसपछि सिनियर रजिष्टार हुँदै कन्सलटेन्ट भइन् । त्यसपछि २ वर्ष डेपुटी डिरेक्टर भएर काम गरिन् भने २ वर्ष अस्पतालको निर्देशक भइन् । उनी निर्देशक पदबाटै सरकारी जागिरेबाट रिटायर्ड भइन् । महिलाका समस्या केही उस्तै, केही बढे ४८ वर्ष नेपालका महिलाको उपचारमा बिताएकी लता अहिले पनि महिलामा उस्तै समस्याहरू रहेको बताउँछिन् । केही समस्या पहिलाभन्दा कम देखिएका भए पनि अहिले धेरै नयाँ देखिएका छन् ।  लताले सुरुवाती काम गर्दा महिलामा सबैभन्दा ठूलो समस्या पाठेघर खस्ने थियो । यो समस्या लिएर महिलाहरू धेरै आउँथे । तर, आजभोलि यो समस्या पहिलेको जस्तो नभएको उनी बताउँछिन् । ‘आजभोलि पनि यो समस्या होला तर पहिलेको जस्तो देख्दिनँ,’ उनी भन्छिन्, ‘आजभोलि अरू समस्या देखिन्छन्, यो समस्या खासै देखिँदैन ।’ त्यो बेलाका महिलाहरू सबै काम आफै गर्थे । बच्चा धेरैले घरमै जन्माउँथे । त्यो बेला महिलामा पाठेघर खस्ने समस्या धेरै थियो । यसलाई मध्यनजर गर्दै सरकारले पाठेघरको फ्री अप्रसेन गर्ने प्रोजेक्ट सञ्चालन गरेको थियो । उनी पाठेघरको मुखको क्यान्सर पहिलेको तुलनामा अहिले कम भएको बताउँछिन् ।  भन्छिन्, ‘आउन त यो समस्या ल्याएर अहिले पनि धेरै महिला आउनुहुन्छ तर, पहिलेको तुलनामा अहिले कम छ । अहिले विभिन्न खोपहरू आएका छन्, महिला आफै पनि सचेत भएका छन् ।’ अहिले गाउँगाउँमा बर्थिङ सेन्टर बन्दा महिलाहरू बच्चा जन्माउन अस्पतालमै पुग्छन्  । यस्तै सेवा सुधिाले यो समस्या कम भएको उनको भनाइ छ ।  बाँझोपन बढ्यो  लता आजभोलि नेपाली महिलामा बाँझोपन बढ्दै गएको बताउँछिन् । पहिलेको तुलनामा यो समस्या लिएर अस्पताल आउने महिलाको संख्या बढी भएकाले बढेको भन्न सकिने उनको भनाइ छ । उनका अनुसार यसको कारण ढिलो उमेरमा बिहे गर्नु, धेरैसँग शारीरिक सम्पर्क राख्नूलगायत हुन् ।  ‘पहिले १८/२० वर्षमै बिहे हुन्थ्यो, २०/२५ वर्षमा छोराछोरी ठूला भइसक्थे,’ लता भन्छिन्, ‘आजभोलि त्यस्तो छैन, ३०-३५ मा बिहे गर्छन्, फेरि ४-५ वर्षपछि बच्चा जन्माउने योजना हुन्छ, यसले गर्दा पनि समस्या देखिन्छ ।’ महिलाहरू ३५ वर्ष पुगेपछि आभेरीले राम्रोसँग काम गर्न छाड्छ । जसका कारण बच्चा बस्न गाह्रो हुन्छ । लताका अनुसार आजभोलिका कतिपय किशोरी बिहे नगरेरै धेरैसँग शारीरिक सम्पर्क गर्दा विभिन्न किसिमका इन्फेक्सन हुने, धेरै गर्भपतन हुनुका साथै बाँझोपनको समस्या हुने गरेको छ  । अहिले सबैभन्दा बढी यौन सञ्चारित रोगको समस्या लिएर धेरै आउने गर्छन् । यसका साथै अरू कारण पनि हुनसक्ने उनी बताउँछिन् ।  पीसीओडी पनि बढ्यो अहिले किशोरदेखि ४० वर्षसम्मका महिलामा देखिने पोलिसिस्टी ओभरियन डिजिज (पीसीओडी) को पहिले नामसमेत सुन्न गाह्रो पर्थ्यो ।  तर आजभोलि धेरै जसो महिलामा यो गम्भीर समस्याका रूपमा आएको उनी बताउँछिन् ।  आजभोलि यो समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या निकै बढी छ । उनी यसको कारण बदलिँदो खानपान र जीवनशैली रहेको बताउँछन् । उनी भन्छिन्, ‘पहिला महिला आफ्नै बारीमा व्यस्त हुन्थे, बारीको अर्गानिक खानाहरू खान्थे, जीवनशैली राम्रो थियो, यो रोग पनि थिएन,’ उनी भन्छिन्, ‘आजभोलि काम गर्न छोडे, पिज्जा अनि बर्गर खान थाले, यस्तो समस्या बढ्दै गयो ।’   साथै आजभोलि नियमित महिनावारी नहुने, कहिल्यै छिटो-छिटो महिनावारी हुने, कहिले ३-४ महिनामा एक पटक हुने समस्या बढ्दै गएका छन् । खानपिनका कारणले यो समस्या आएको उनी बताउँछिन् ।  रुवाउने एउटा घटना लतासँग जीवनमा काम गर्ने क्रममा भएका तीतामीठा धेरै अनुभव छन् । केही घटनाले आजसम्म आनन्द दिन्छ भने केहीले अहिले पनि झस्काउँछ । यस्तै, एउटा नमीठो घटनाले उनलाई अहिले पनि झस्काउँछ । घटना त्यो बेलाको हो  जब उनी प्रसूति गृहमा कन्सलटेन्ट भएर काम गरिरहेकी थिइन् ।  एकजना महिलाले पहिलो सन्तान अप्रेसन गरेर जन्माएकी थिइन् । उनी दोस्रो पटक फेरि बच्चा जन्माउन अस्पताल पुगिन् । उनको पेटमा दुई जुम्ल्याहा बच्चा थिए । सुरुवातदेखि लताले नै उनको जाँच गर्दै आएकी थिइन् । समय बित्दै जाँदा उनको गर्भवती हुने मिति नजिक आयो । लताले उनलाई अस्पतालमा भर्ना गरिन् । अप्रेसनको तयारी गरिन् । उनले अर्को डाक्टरको टोलीलाई अप्रेसनको जिम्मा दिएर आफू अर्को काममा लागिन् । अप्रेसन गर्ने बित्तिकै अत्यधिक रक्तस्राव भयो ।  अप्रेसन गर्ने डाक्टरले लतालाई फोन गरेर बोलायो । उनी हतारहतारमा गइन् । रगत देखेर उनलाई पनि डर लाग्यो । रोक्ने प्रयास गर्दा पनि रोकिएन । लताले अर्को डाक्टरलाई पनि बोलाइन् तर दैवको अगाडि कसैको सीप चलेन । ती महिलाको मृत्यु भयो । उनलाई यो घटनाले अहिले पनि दुःख लाग्छ । पटक-पटक जाँच गर्न अस्पताल आउँदा भेटेको, कुराकानी गरेको झझल्को आँखामा आउन लाग्यो । हप्ता दशदिनसम्म उनी राम्रोसँग सुत्न सकिनन् । के कारण यस्तो भयो, मैले कहाँ गल्ती गरें, कसरी यस्तो भयो  उनको मनमा यस्ता कुराहरू खेल्न थाले । त्यो घटना सम्झँदै उनी भन्छिन्, ‘अप्रेसन गर्नु अगाडि अल्ट्रासाउण्ड गरेर साल कतिसम्म टाँसिएको छ भनेर हेर्न मिल्थ्यो, त्यो हेरेर अप्रेसन गरेको भए जोगाउन सकिन्थ्यो कि । ’ अहिले उनका जुम्ल्याहा बच्चा पनि ठूला भइसकेका छन् । तर पनि लतालाई यो कुरामा अहिले पछुतो लागिरहन्छ । यही घटनाले सिकाएको पाठ लता त्यो बेला थापाथली अस्पतालसँगै क्यापिटल अस्पतालमा पनि अप्रेसन गर्ने काम गर्थिन् । त्यो अस्पतालमा पनि ठ्याक्कै एउटा केश त्यस्तै आयो  । उनको पनि पहिलो बच्चा अप्रेसन गरेर निकालिएको थियो । दोस्रो बच्चा हुँदा ३२ हप्तामा रगत देखिन थालेछ । ती महिलालाई देख्नेबित्तिकै उनलाई थापाथलीमा भएको घटनाको याद आयो ।  उनले ती महिलालाई क्यापिटलबाट प्रसूति गृहमा पठाइन् । त्यो बेला उनी प्रसूतिमा सहायक निर्देशकको रूपमा कार्यरत थिइन् । उनले यो घटनाबारे त्यहाँको निर्देशकसँग कुरा गरिन् । त्यसपछि लता र निर्देशक मिलेर अप्रेसन गर्ने निधो गरे ।  सुत्केरी हुनुभन्दा अगाडि सालको अवस्था कस्तो छ भनेर अल्ट्रासाउण्ड गरेर हेरिन् । ती महिलाको पनि साल पाठेघरमा टाँसिएर बसेको थियो । उनले साल भएको ठाउँबाट नकाटी अर्को ठाउँमा काटेर बच्चा निकाले । पहिलेको केश जस्तै अत्यधिक रक्तस्राव भयो । तर उनीहरूले बच्चासँगै पाठेघर नै निकालेर फाले । पाठेघर निकाल्दा ती महिलाको ज्यान जोगाउन सफल भएको उनले बताइन् । उनलाई यी दुई घटना जीवनका सबभन्दा पीडादायी र खुसीदायी लाग्छन् । भन्छिन्, ‘एउटाको ज्यान जोगाउन सकिएन, त्यो घटनाले पाठ सिकायो । उस्तै घटनाले अर्को महिलाको ज्यान जोगायो ।’   परिवारलाई समय छुट्याउन गाह्रो कहिले अस्पताल, कहिले क्लिनिक लतालाई आफ्नो र परिवारका लागि समय छुट्याउन गाह्रो थियो । उनले काम गर्दै-गर्दा एकजना आर्थोपेडिक डाक्टरसँग बिहे गरिन् । बिहेपछि उनको छोरी जन्मिन् । छोरीलाई हेर्न त्यति समस्या भएन ।  किनकि यता घरमा पनि संयुक्त परिवार थियो, उता माइतीमा पनि आमाबुवा थिए ।  छोरी जन्मेको ७ वर्षपछि छोरा जन्मे । छोराछोरीलाई हुर्काउन, पढाउन एउटा महिलालाई निकै चुनौती हुन्छ । एकातिर काम अर्कोतिर छोराछोरी उनलाई हुर्काउन समस्या थियो । भन्छिन्, ‘यता आफ्नो काम,अर्कोतिर बच्चा निकै समस्या भएको थियो, तर जब मैले बच्चा राम्रो हेर्ने एउटा महिला पाएँ, त्यसपछि मलाई निकै सहज भयो ।’  छोराछोरीलाई पढाउन घरमै शिक्षक राखेकी थिइन् । घरमा शिक्षक आएपछि  बच्चा जिम्मा लिगाएर काममा जान्थिन् ।  अहिले लताकी छोरी पनि डाक्टर छिन् । छोरा एमबीए पढेर आफ्नै बिनसेस गरिरहेका छन् । यता लताको उमेरले डाँडा काट्दैछ तर उनको काम गर्ने जाँगर भने अझै घटेको छैन । उनमा अझै पनि काम गर्ने हुटहुटी छ ।  अहिले पनि लता दिनहुँ महिलाहरूका समस्या सुन्ने र त्यसको उपचार गर्ने काममा व्यस्त छिन् । ४८ वर्षदेखि निरन्तर यही पेशामा क्रियाशी लताले कतिजनाको उपचार गरिन्, त्यसको लेखाजोखा राखेकी छैनिन् ।  अहिले काम गरेको त्यो अवधि हेर्दा लतालाई गर्वको महसुस हुन्छ । ‘यो अवधिमा धेरैलाई खुसी दिएँ, सेवा गर्न पाउँदा यो नै ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘आफूले जानेको सिकोको कुरा दिन पाउनुभन्दा अरू खुसी के हुन सक्छ र ।’  अब कहिलेसम्म काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ जबसम्म मैले सक्छु, तबसम्म काम गर्छु, सक्ने हुँदाहुँदै घरमा बसेर खान मलाई मन लाग्दैन, जुन दिन शरीरले साथ दिँदैन त्यो दिन म थन्किएर बस्ने छु ।’ 

जाडोमा कसरी गर्ने छालाको स्याहार ? यस्ता छन् छाला रोग विशेषज्ञका टिप्स

काठमाडौं । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ । निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । ‘हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ,’ उनले भने । जाडो महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, टुट्ने र चायाँ पनि अत्यधिक पर्ने डा पुडासैनीको भनाइ छ । उनी भन्छन्, ‘शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउने (जेरोटिक एक्जिमा) ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, बिमिरा आउने, पाक्नेलगायत समस्या आउन सक्छन् । एटोपिक एक्जिमा हुन सक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ । हात खुट्टाका औँला चिलाउने, सुन्निने समस्या ‘चिल्बिलेन्स’ पनि बढी देखिन्छ ।’ जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन् । एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र सङ्क्रमण हुनु हो । डा पुडासैनीले भने, ‘जाडोमा बढी देखिने ‘सोरायसिस’ पनि हो, जसलाई कत्ले रोग पनि भनिन्छ । कुहिना, ढाड, घुँडा, कपालमा फुरफुर फुस्रो खालको छालाको पत्र कत्ला निस्किने हुन्छ । जाडोमा डन्डिफोर पनि बढ्छ । छाला सुक्खा भएर प्राकृतिक रूपमा तेल निकाल्ने ग्रन्थी ९सिबेसियस ग्लान्ड० झन् सक्रिय हुन्छ जसले गर्दा डन्डिफोर आउँछ ।’ वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्रा डा अनुपमा कार्की जाडो मौसममा बहिरङ्ग सेवा (ओपिडी) मा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेको बताउनुहुन्छ । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उनको भनाइ छ । ‘प्रायः मान्छे जाडोमा कम नुहाउँछन् । लुगा फेर्न अल्छी गर्छन् । समय-समयमा सिरक, डसना घाममा सुकाउँँदैनन् । त्यसैले लुतोको समस्या लिएर आउने बिरामी पनि छन्,’ उनी भन्छन् । जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। ‘जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्,’ उनले भने । जाडोमा छालाको स्याहार गर्न बेला-बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय रहेको डा पुडासैनीको सुझाव छ । ‘चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ । नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ । नुहाइसकेपछि अलि-अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ । नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पु¥याउँछ,’ उनले सुझाए । डा कार्की छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानुपर्ने बताउँछन् । अधिकांशले जाडोमा पानी कम पिउनाले पछि छाला सुक्खा हुने र खुम्चिने हुन सक्ने बताउँदै उनी भन्छन्, ‘पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।’