जलवायु परिवर्तनको महिलाले स्वास्थ्यमा संकट, महिनावारी अनियमित र बाँझोपनको समस्या

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किँदा समस्या पुनः दोहोरिन थाल्यो । ‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ’, उनले बताइन् । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाइन् । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजननसम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन् । महिनावारीको अवधि लम्बिने, असामान्य रगत स्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताइन् । ‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ । यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भनिन् । ‘विगतमा यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजननमा समस्या भइरहेको बताएका छन् । उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ ।’ हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन् । लबुचेका सङ्गम राई भन्छन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।’ हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् । आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ । यो राम्रो संकेत होइन ।’ यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पुर्‍याएको अभियान्ता प्रजिता कार्कीले बताइन् । ‘महिलाहरू घरदेखि बाहिर समेत बढी केन्द्रित हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको सिकार बढी मात्रामा महिलाहरू भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन’, कार्कीले भनिन् । प्रजनन स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ । यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जीव तिवारीको तर्क छ । ‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन समस्या नदेखिएला भन्न सकिन्न’, उनले भने । स्थानीय उत्पादन र खेतीमा गिरावट खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ’ उनले भनिन् । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरू अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरूको पोषणमा असर पर्न सक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरू उब्जाउ हुने जग्गाहरू बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताइन् । हिमनदीहरू खस्कँदै, हिमालहरू काला पत्थरमा परिणत हुँदै सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका छन् । उनी भन्छन्, ‘पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।’ पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । ‘पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ’, गोरक्सेपका व्यवसायीहिरा कुलुङले भने । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्‍याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैर जैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन् । सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरू काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए । उनले भने, ‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरू हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभ्यास हुन्छ ।’ जलवायु परिवर्तनको कारण र समाधान जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठुलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरू पग्लिएर गइरहेका छन् । सामूहिक कदमको आवश्यकता सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । ‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,’ डा थापाले चेतावनी दिए । जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ । रासस

नर्सिङ संघमा व्यापक राजनीति, नर्सहरू निराश

काठमाडौं । नेपाली नर्सहरूमा चुनावी सरगर्मी बढेको छ । मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २०औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरूमा चुनावी सरगर्मी बढेको हो । अहिले नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । जिल्लादेखि केन्द्रका नर्सहरू आ-आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् । चुनावका लागि प्रजातान्त्रिक र प्रगतिशील दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  प्रगतिशील समूहबाट बागी उम्मेद्वार पनि अध्यक्षको प्रतिस्पर्धामा रहेकाले यो पटकको चुनाव अझै रोचक बन्ने देखिएको छ । विशेषगरी चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी निकट नर्सहरू चुनावी मैदानमा उत्रेका छन् । उनीहरूले दुई दुई दल मिलाएर प्यानल बनाएका छन् ।  नेकपा एमाले र नेकपा माओवादी निकटका नर्सहरूले संयुक्त प्रगतिशील प्यानलमा दिएर उम्मेद्वारी घोषणा गरेका छन् भने,  नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानल समूह बनाएर उम्मेद्वारी दिएका छन् । प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगा  थापा अध्यक्षका लागि मैदानमा उत्रेका छन् । दुवै समूहलाई टक्कर दिदैँ प्रगतिशील समूहबाट एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारका रुपमा अध्यक्षको मैदानमा आएकी छन् ।  यतिबेला नर्सिङ संघको अध्यक्षका लागि तीन जना उम्मेद्वार मैदानमा छन् । अध्यक्ष पदका तीनै जना उम्मेद्वार आ आफ्नो जितका लागि कसरत गरिरहेका छन् ।  अहिले चुनावी मैदानमा उत्रेका तीनै जना उम्मेदवारहरू आफैमा सक्षम र योग्य व्यक्ति हुन् । उनीहरू करिब  चार दशकदेखि यही विषयमा काम गर्दै आएका छन् । आउनुहोस् जानौँ कसको अनुभव कति   गंगा थापा  नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानलबाट अध्यक्ष पदकी उम्मेद्वार हुन् गंगा थापा । उनी त्रिवि शिक्षण अस्पताल नर्सिङ अफिसरको रुपमा कार्यरत छिन् । ३६ वर्षदेखि नर्सिङ पेशमा आवद्ध उनी अहिले पनि यही पेशामा आवद्ध रहेकी छिन् । उनी यो भन्दा अघिको कार्यकालमा संघको उपाध्यक्षमा पदमा थिइन् । नेपाली नर्सहरूको समस्या र उनले भोग्दै आएको कुराबारे लामो समयदेखि जानकार उनले अध्यक्षमा निर्वाचित भइसकेपछि यो विषयमा आवाज उठाउने पहिलो काम भएको बताएकी छन् । नर्सहरूको पेशागत सुरक्षा सुनिश्चता गर्नेदेखि यो पेशालाई गुणस्तर, आधुनिक तरिकाले लैजाने र देशभर विस्तार गर्ने उनको योजना छ ।  बसन्ती थापा बसन्ती थापा नेपाल नर्सिङ संघको अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वारी हुन् । सरकारी अस्पताल र कलेजमा विगत ३८ वर्षदेखि कार्यरत उनी अहिले अवकाश प्राप्त प्राध्यापक हुन्  । करिब ४ दशकदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध उनी स्थापनाको ६३ वर्षसम्म पनि कुनै काम हुन नसकेको बताउँदै अब राजनीतिबाट अलग भएर काम गर्नुपर्नेबेला आएको बताउँछिन् ।   लामो समयदेखि काम गर्दा नर्सहरूको समस्या नजिकबाट थाहा भएको बताउँदै उनले यो अवधिसम्म प्रयास धेरै भएको तर, कार्यान्वयन गर्न नसकिएको बताउँदै अब पदभन्दा संस्थालाई दिगो बनाएर लैजानुपर्ने बताइन् । अघिल्लो कार्यकालमा महासचिव बनेकी थापा संस्था र पदाधिकारी गरेको कामप्रति सन्तुष्ट नहुँदा आफै मैदानमा आउनु परेको बताउँछिन् । ‘मैले हामी प्यानुल बनाएर जानुभन्दा सबैपक्षको विज्ञहरूलाई मिलाएर जाउँ, संस्थालाई राम्रो बनाउँ भन्दा कसैले सुनेन,’ उनी भन्छिन्, यहाँ राजनीकिरण धेरै भयो संस्थालाई राम्रो बनाउनुभन्दा पदमा कसरी पुग्ने भन्ने होड चल्यो, मेरो कुराको सुनुवाइ नहुँदा आफै आउनुपर्ने बाध्यता आयो ।’ थापाले नर्सहरूको पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्दै सेवाको गुणस्तर सुधार्न विशेष ध्यान दिने प्रतिबद्धता गरेकी छन् । भन्छिन्,‘नेपाली नर्सहरूले धेरै दुःख झेल्नुपरेको छ, २४ घण्टा डिउटीमा खटरे महिनमा ८ देखि १० हजार पाइरहेका छन्, मेरो योजना भनेकै उनीहरूको पेशागत सुरक्षा र दक्षता अनुसारको पारिश्रमिक उपलब्ध गराउने रहेको छ ।’ चन्द्रकला शर्मा  चन्द्रकला शर्मा नेपाल नर्सिङ संघको अध्यक्ष पदका लागि संयुक्त प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदको उम्मेद्वार हुन् । ३३ वर्षदेखि यही क्षेत्रमा कार्यरत उनी हाल उनी सरकारी सेवाबाट अवकाश प्राप्त प्रोफेसर हुन् । उनले महाराजगञ्ज नर्सिङ क्याम्पसको सहायक प्रमुखको रुपमा पनि काम गरेकी थिइन् । २०७५ सालमा नेपाल नर्सिङ परिषदको अध्यक्ष समेत भइसकेकी उनी अहिले नर्सहरूले पाइरहेको समस्या समाधान गर्न अध्यक्षको पदका लागि चुनावमा होमीएको बताउँछिन् । मैले लामो समयदेखि कलेज र अस्पतालमा काम गरेकी छुँ, नर्सहरूको समस्या नजिकबाट थाहा पाएकी छुँ,’उनी भन्छि, ‘अब मैले काम गरेको अनुभव र समस्या समाधानका लागि प्यानल सहित अघि बढेका हौँ ।’  राजनीतिको गन्ध  नर्सहरू प्यानल बनाएर निर्वाचनमा जाँदा धेरैले नर्सिङ क्षेत्रमा पनि राजनीति घुसेको तर्क गरेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आबद्ध नर्सहरू राजनीति लगाइनु राम्रो सन्देश नभएको धेरैको भनाइ छ ।  नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी राजनीतिको गन्ध आएको बताउँछिन् । २००१८ सालदेखि नर्सिङ संघको निर्वाचन हुँदै आएपनि यसरी दलनिकट खुलेर नआएको बताउँदै उनी यो पटक खुलेरै पार्टीनिकट आवद्ध भइ चुनावमा जानु दुखद भएको बताउँछिन् ।   पहिले बामपन्थी, प्रजातान्त्रिक भन्ने थिएन, म अध्यक्ष हुँदा पनि सरला केसी समूह भनेर चुनावमा गएकी थिएँ, उनी भन्छिन्, अहिले त प्रगती शिल भनेर नै मैदानमा साथीहरू आउनुभएको छ यसमो सन्देश समाजमा राम्रो जाँदैन । उनी राजनीतिक आस्था व्यक्तिगत रुपमा भएपनि पेशागत तरिकाले लाग्दा राजनीति घरसाउनु राम्रो नहुने बताउँछिन् । राजनीति गर्ने आकाक्ष हुनेलाई खुला ठूलो ठाउँ रहेको बताउँदै उनी नर्सिङ संगमै बसेर राजनीति गन्ध आउन नहुने बताउँछन् ।   नेपाल नर्सिङ संघ नर्सहरूको एक व्यवसायिक संगठन हो । जुन गैर राजनीतिक र गैर साम्प्रदायिक संगठन हो । जुन कुनै वर्ग र धर्मको प्रभावबाट बाहिर रहने भनिएको छ । यो गैर राजनीतिक संगठन भएकाले पनि यसमा राजनीति गर्न नहुने विज्ञहरू बताउँछन् ।  निराश नर्स नर्सहरूको पेशागत सुरक्षा र हकहितको लागि भन्दै उम्मेद्वार मैदानमा गइरँहदा केही अस्पतालमा कार्यरत नर्सहरू भने कसैलाई मत नदिने तयारीमा छन् । आफ्ना हकहितको लागि कसैले केही गर्न नसकेको बताउँदे यो निर्वाचनमा समाहित नहुने उनीहरूको भनाइ छ ।  वीर अस्पतालमा कार्यरत एक नर्सले यो चुनावमा कसैलाई मतदान नगर्ने बताएकी छन् । करिब १ दशकदेखि अस्पतालमा कार्यरत उनी नर्सको हितको लागि काम गर्ने भन्दै भोट मागेपनि पदमा पुग्दा कसैले गुनासा समेत नसुन्ने बताउँदै कसैलाई भोट नदिने बताइन् । ‘म जस्तै भोट नहाल्ने धेरै जना हुनुहुन्छ, जो नेपालमै काम गर्ने मन हुादा समेत विदेशको तयारी गरिरहनुभएको छ,’ उनी भन्छिन्,‘नियमित डिउटीमा खटिनेहरूको दुःख उस्तै हो, आउँछन एक छिन् भोट माग्छन्, जान्छन् पीडामा परेकाहरू आवाज कसैले सुन्दैन ।  ‘उनले नेपालमा नर्सिङ पढेका धेरै नर्सहरू विदेश जाने तयारीमा रहेको बताइन् । महारजगञ्ज अस्पतालमा कार्यरत अर्की नर्सको गुनासो पनि उस्तै छ । उन्ले पनि यो चुनावमा कसैलाई मतदान नगर्ने निर्णय गरेकी छिन् । ‘अहिले चुनावी प्रतिसपर्धामा रहेका दुवै समूहका प्रतिबद्धता हे¥यौँ, ति प्रतिबद्धता नयाँ होइनन्,’ उनी भन्छिन्, ‘जव चुनाव आउँछ, प्रतिवद्धता ल्याएर भोट माग्न पुग्छन्, भोट पाइसकेपछि सबै विर्सन्छन्, नर्सको हितमा भन्दा कसरी राजनीति गर्ने पद पाउने भन्ने मात्र छ ।’  अस्पतालमा कार्यरत धेरै जसो नर्सहरूको गुनासो यस्तै छ । केही नर्सले ४ वर्ष लगाएर पढेको खर्च १० वर्ष काम गर्दा पनि उठाउन नसकेको बताउँदै नेपालमा बसेर काम गर्ने वातावरण नै नरहेका बताएका छन् । प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रेका दुईवटै प्यानलका प्रतिबद्धता भने एकै नासका छन् ।  चन्द्रकला शर्माको प्यानलले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ भने गंगा थापाको प्यानलले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुपैका प्रतिबद्धतामा नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्नेदेखि लिएर रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने सम्मका बुँदा रहेका छन् ।  २० मतदान केन्द्र, १५ सय मतदाता  नेपाल नर्सिङ संघ वि.सं. २०१८ सालमा स्थापना भइ नर्सहरूको पक्षमा वकालत गर्दै आएरहेको पेशागत संस्था हो । यो संस्थाले नर्सहरूको पेशागत हकहितवारे आवाज उठाउँदै आएको छ ।संघमा आवद्ध करिब एक हजार वाँच सय बढी नर्सहरू रहेका छन् । उनीहरूले आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने छन् । त्यसका लागि देशभरका २० ठाउँमा चुनावी मदतान केन्द्र बनाइएको छ ।  झापाको लागि प्रादेशिक अस्पताल भदपुर, मोरङ्गको कोशी अञ्चल अस्पताल, सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,  धनकुटाको जिल्ला अस्पताल, राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल,बिरगञ्जको विरगंज नर्सिङ क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।  यस्तै चितवनको भरतपुर अस्पताल, काठमाडौंको केन्द्रिय कार्यलय, नेपाल नर्सिङ्ग संघ, लाम्जिपाट भक्तपुरको भक्तपुर अस्पताल, मकवानपुरको हेटौडा अस्पताल मकवानपुर,पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लुम्बिनी अञ्चल अस्पताल, पाल्पाको  जिल्ला अस्पताल, पाल्पा, दाङ्गको दाङ्ग उपक्षेत्रिय अस्पताल,नेपालगञ्जको भेरी अस्पताल, नेपालगंज सुर्खेतको प्रादेशिक अस्पताल,जुम्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,रोल्पाको जिल्ला अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र रहेका छन् । यि मतादान केन्द्रमा पायक पर्ने नर्सहरूले मतदान गर्ने छन् । 

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो हेल्लो हेल्थ, नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’ अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी, भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ । मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो । मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् । यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरू माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।