औषधीको प्रयोग गरी तौल घटाउँदा स्वास्थ्यमा असर, धनको पनि नाश

‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा भरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ । कतिपयले ती विज्ञापनमा विश्वास गरी त्यस्ता सामग्री किनेर प्रयोग गर्दा आर्थिक हिसाबले नराम्ररी ठगिनु मात्र परेको छैन, त्यसले स्वास्थ्यमा गम्भीर जटिलता पनि ल्याएको छ । असम्भव कुरामा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि विज्ञापनको जालोमा धेरै मानिस फसिरहेका छन् । विशेषगरी मानिसमा रहेका केही कमजोर पक्षहरुलाई समात्न विज्ञापन गर्ने संस्था र गर्न लगाउने कम्पनीले अनेक आकर्षक कुराहरु गरेर झुक्याउन सफल हुन्छन् । त्यही कमजोर पक्षलाई पकडेर गरिने विज्ञापन माछा जालमा फसे झैं हामी फसिरहेका हुन्छौँ । उदाहरणका लागि ‘मोटो मानिसका लागि खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खाली एक क्यापसुल औषधि बिहान बेलुका खाए पुग्ने’ जस्ता विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटा व्यक्तिहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै प्रकारले ‘कम्मर पेटी बाँधेर केही छन बसेपछि पसिना निस्कन्छ अनि कम्मर त एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दो कुरा विज्ञापनमा भनेपछि कम्मर घटाउन चाहने मानिस दौडेर त्यो पेटी किन्न तयार हुन्छ । त्यसरी नै ‘छाला गोरो पार्न जिन्दगी सफल पार्न’ भन्दै थरिथरिका क्रिमहरुको विज्ञापन गरिन्छ, त्यसले विरामी फाइदा नपुगे पनि सम्बन्धित कम्पनीलाई राम्रै आम्दानी हुन्छ । यति हुँदाहुँदै पनि हामीहरुमध्ये धेरैले विज्ञापनमा भनिएका कुराहरु कति सत्य हुन् भन्ने कुरामा कहिल्यै सोचेका हुँदैनौँ । मोटोपन घटाउन वा औषधि वा कम्मर घटाउन बेल्टले कति सहायता दिन्छ होला त ? शरीरभित्र रहेको बोसो एकैचोटी पगाल्ने कुनै औषधि हुँदैन । यदि त्यस्तो हुँदो त अमेरिकामा २५ प्रतिशत जनसंख्याले त्यो औषधि प्रयोग गर्थे होलान् । कम्मर पेटी बाँधेर पसिना निस्कँदा कम्मरको नाम ३४ इन्चबाट ३३ इन्च हुँदो हो त, त्यस्तो खालको कम्मर पेटीको उत्पादन गर्ने कम्पनी हजारौँको सङ्ख्यामा हुने थिए होला । किनभने एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च घट्दैन थियो होला त ? शरीरको कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ होला ? १० दिनमा के आश्चर्यजनक रुपले ‘केही नगरिकन’ तौल कम होला र ? तैपनि किन मानिसहरुले विश्वास गर्छन् र प्रयोग गर्छन् । विज्ञापनमा भनेका कुरा एक दिन–दुई दिन वा एकै दिनमा दशौँ चोटी सुनेपछि जो कोहीलाई पनि ‘हो कि, हो कि’ जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि साँच्चीकै कुनै मानिसले त्यसमाथि पनि सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको, तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भएर जीवन नै अर्को भएको कुरा’ भनेपछि विश्वास नगर्ने पनि कसरी ?’ भन्ने भावना आउँछ । हो यही भावनालाई पकडिएका छन् विज्ञापन निर्माता कम्पनीहरुले । यदि साँच्ची नै यसरी औषधि र पेटीको कारणले पातलोपन आउँदो हो त डाक्टरहरु त्यसमाथि पनि मुटु रोग विशेषज्ञहरुले बिरामीलाई यिनै औषधी वा पेटी किन्न लगाउँथे । चिनीका रोग भएको मोटा व्यक्ति, मुटुको रोग भएर तौल घटाउनु भन्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको ठाउँमा यस्ता विज्ञापनको बढी काम लाग्थ्यो होला । उमेर बढ्दै जाँदा जीवनशैलीका कारणले (विशेषगरी बौद्धिक काम गर्ने) व्यक्तिहरुलाई त यही पेटी र औषधि प्रयोग गर्नु भन्ने बारेमा विशेषज्ञले बोल्थे होलान् । मोटो मानिसलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौँ लाग्ने काम त औषधीको एउटा चक्कीले हुने भए किन शारीरिक र मानसिक दुःख गरिरहनु पथ्र्यो र ? यदि साँच्चै यस्तो हुँदो त बिहानबिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरुले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् ? आधुनिक समाजमा मानिसहरुलाई विश्लेषण गर्ने समय छैन, विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरि त्यस्ता गलत विज्ञापनहरुको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरुलाई त हो न हो यो कुरा साँच्चीकै जस्तो लाग्छ ? मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको विचारमा यसरी औषधि प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधिहरुले केही समयको लागि घटाए जस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ । पसिना शरीरबाट गएर, पेटी बानेर ठूलो भइन्छ भन्ने त वाहियात विज्ञापन हो । विज्ञापनको अर्को पक्ष देखिन्छ विभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरु रोक्छन्, वा प्रकृतिबाट लिएर आफ्नो छालाको रङ फेर्न सकिने भन्ने गरी जसरी विज्ञापन दिइन्छ, त्यसले एउटा त गलत ज्ञान वा कुराहरु भनिरहेको हुन्छ, अर्को मानवीय दृष्टिकोणले पनि कुनै खास वर्णका मानिसहरुले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने जस्ता विचार पनि दिइरहेका हुन्छन् । शरीरको छालाको बनोट र रङ हामीहरुले जन्मेदेखि लिएर आएका हुन्छौँ । यसलाई बाहिरी वस्तुहरु लेपन गरेर रङ् परिवर्तन गर्न सकिँदैन । कुनै रोग लाग्यो भने जस्तो छालाको ‘ल्यूकोडर्मा’ जसमा छालाको रङ दिने वस्तु–मेलानिन कम हुँदै जान्छ भने छालाका रङ बदलिन्छ । तर छालाको रङ कालोबाट गोरो हुने वस्तु चाहिँ हुँदैन । तर ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्ने जस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो । डा. अरुणा उप्रेती विज्ञापनबाट प्रेरित भएर हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौं । तर यस्ता सौन्दर्य सामग्रीहरुको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौं । छाला रोग विशेषज्ञ डा. बिमला ओझा भन्नुहुन्छ, ‘यस्ता विज्ञापनहरु गलत सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैं आउनेछ । यस्ता विज्ञापनहरुले गलत सन्देश दिन्छन् ।’ त्यसरी नै विज्ञापन दिएर हाम्रो अर्थ व्यवस्थालाई कमजोर बनाउँदैछ खानेकुराको विज्ञापनले । विशेषगरी बच्चाहरुको खानेकुराको विज्ञापन विभिन्न रेडियो, टिभी, पत्रपत्रिकामा आउने यस्ता विज्ञापनहरुले गलत सूचना त दिइरहेका नै हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनले हानीकारक, प्रयोग नगर्ने, यस्तो किसिमको सूचना दिन नहुने जस्ता बनाएका नियमहरुलाई पनि बेवास्ता गरिरहेका छन् । फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ? अर्को कुरा फलफूलका रस बनाएर राख्दा त फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् भने अर्कोतिर कहिले बनाएर राखेको र बासी फलफूलको रस चाहिँ सधैं ताजा रहन्छ भन्ने विज्ञापनमा सन्देश दिइन्छ र हामी विश्वास पनि गर्छौं । बिहान पकाएको बेलुका नखाने हामीहरु महिनौंदेखि बासी बट्टामा राखिएको फलफूलको रस ताजा झैं स्वाद मानेर खान्छौं र स्वस्थ भयौं भन्ठान्छौंँ । आर्थिक र स्वास्थ्य दुवै दृष्टिकोणले यसरी बट्टामा राखिएका वस्तुहरुबाट हामीले के फाइदा गर्न सक्छौं त ? विज्ञापनमा सुनिन्छ– ‘बढ्ने उमेरका बच्चाहरुका लागि घरको खाना मात्र पर्याप्त छैन । बढ्ने उमेरका बच्चाहरुलाई चाहिन्छ प्रोटिन र र अनेक किसिमका लवणहरु जुन यही फलफूलजन्य बट्टामा राखिएका वस्तुमा पाइन्छ । यो वस्तु किन्नु भयो भने तपाईंले सित्तैमा चम्चा, बाल्टिन, झोला, आदि पनि पाउनुहुन्छ ।’ अनि सित्तैमा पाइने वस्तुको लोभ र घरको खानाले बच्चालाई पोषण नपुग्ने भन्ने विश्वासमा परेर धेरैले त्यस्ता खानेकुरा किनेर ल्याउने गर्दछन् । मानिसहरुले यसमा विचार पुर्याएको देखिन्न कि त्यस्ता बट्टाहरुमा राखिएका भोजनहरु केबाट बनाइन्छन् ? प्रायः अङ्ग्रेजीमा साना अक्षरमा लेखिएका यी वस्तुहरुमा लेखिएको हुन्छ । प्रयोग गरिएका वस्तु– कोदो, चामल, गहुँ, जौ, दूध, चिनी आदि र त्यसमा यो पनि लेखिएको हुन्छ– अझ बढी क्याल्सियम मिसाइएको हुन्छ । यीमध्ये सबै वस्तु घरमा पाइन्छन् तर १० गुणा बढी मूल्य तिरेर किन्ने गरिन्छ । बाहिरका बट्टाका खानेकुरा स्वास्थ्यकर छैनन् । यस्तै साना शिशुहरुलाई खुवाइने पोषणका बारेमा त विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएका नियमहरुलाई एकातिर फालेर शिशुका पोषण र दूधको लागि विज्ञापन गरिन्छ । बच्चाहरुलाई दूध बनाउने कम्पनीहरुले पहिले त आमाको दूधभन्दा बट्टाको दूध शिशुलाई फाइदा गर्छ भनेर विज्ञापन गर्थे । पछि स्वास्थ्यकर्मीहरुले त्यसको विरुद्धमा आवाज उठाएपछि विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी नियम बनाएपछि यस्ता सन्देशहरु दिन चाहिं छोडेका छन् तर अन्य तरिकाले विज्ञापन र गलत सन्देश दिने काम त अझै जारी छ । घरमा रहेको जाउलो, रोटी, आलु छोडेर विज्ञापनबाट प्रेरित भएर त्यसमा बढी पैसा तिर्ने गर्दछन् । यसरी विज्ञापनको प्रभावमा परेर धेरैजना हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका कुराहरु पनि किन्ने प्रवृत्ति छ । सही ढङ्गबाट विज्ञापन गर्ने नियम कार्यान्वयन तथा उपभोक्ताहरुमा स्वास्थ्यप्रतिको जनचेतनाको विकास नभएसम्म धेरै मानिसहरुले आर्थिक नोकसानीको साथै अनेक स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहिरहनेछ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् )

जिम्मेवारी र चुनौतीको परिप्रेक्ष्यमा डाक्टरी पेशा

डाक्टरलाई समाजमा जीवनरक्षकको रूपमा हेरिन्छ। उनीहरूको काम बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्नु, रोगको निदान र उपचार गर्नु, तथा मानिसलाई जीवनको संकटबाट बचाउनु हो । यो पवित्र र सम्मानजनक पेशा हो, जसले समाजलाई स्वास्थ्य र जीवनको ग्यारेन्टी दिन्छ । तर, डाक्टरको यो जिम्मेवारीमाथि नजर गर्दा त्यससँगै आउने तनाव र चुनौतीलाई प्रायः बेवास्ता गरिन्छ । डाक्टरको पेशा केवल सम्मान र प्रतिष्ठासँग मात्र जोडिएको छैन, यसमा थुप्रै प्रकारका मानसिक, शारीरिक, र सामाजिक दबाबहरू समेत रहेका छन्, जसले डाक्टरको व्यक्तिगत जीवनमा ठूलो असर पार्न सक्छ । डाक्टर बन्ने यात्रा नै थकित बनाउने खालको हुन्छ । मेडिकल शिक्षा सुरु गर्नकै लागि लामो समयसम्म कडा प्रतिस्पर्धा पार गर्नुपर्छ । नेपालजस्तो देशमा मेडिकल पढ्न प्रवेश परीक्षा पार गर्न कठिन मात्र छैन, खर्चिलो पनि छ । शैक्षिक यात्राका क्रममा निरन्तर अध्ययन, परिक्षा, र प्रशिक्षणले शारीरिक र मानसिक थकान ल्याउँछ । यस यात्राले विद्यार्थीको सामाजिक जीवनलाई प्रभावित पार्छ । त्यसैले डाक्टर बन्ने प्रक्रियाबाटै तनाव सुरु हुन्छ । जब एक व्यक्ति डाक्टरको रूपमा काम गर्न थाल्छ, उनको जिम्मेवारी झन् ठूलो हुन्छ । बिरामीको स्वास्थ्यको जिम्मा, समयमै रोग पहिचान गर्नुपर्ने दबाब, र सही उपचारको आवश्यकता डाक्टरलाई मानसिक तनावमा पार्छ । डाक्टरको एउटा सानो गल्तीले बिरामीको जीवन जोखिममा पर्न सक्छ, जसले डाक्टरमाथि ठूलो भावनात्मक र पेशागत दबाब सिर्जना गर्दछ । यो डर र दबाबसँगै उनीहरूले २४ घण्टासम्म लगातार काम गर्नुपर्ने हुन्छ । विशेष गरी आपतकालीन कक्ष र शल्यक्रिया कक्षमा काम गर्ने डाक्टरहरूलाई निरन्तर उच्च चनाखोपन र सतर्कता कायम राख्नुपर्छ । यसले उनीहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । डाक्टरको कार्यक्षेत्र प्रायः तनावपूर्ण हुन्छ । बिरामीको गम्भीर अवस्था, असन्तुष्ट बिरामी वा परिवारजन, र अस्पताल प्रशासनको अपेक्षाले डाक्टरलाई मानसिक रूपमा थकित बनाउँछ । नेपालजस्तो देशमा स्वास्थ्य सेवाको पहुँच सीमित र स्रोत साधनको अभावले गर्दा डाक्टरहरूमा थप चुनौती सिर्जना हुन्छ । अस्पतालहरूमा बिरामीको चाप उच्च हुन्छ, तर जनशक्ति र उपकरणहरू पर्याप्त हुँदैनन् । यस्तो अवस्थामा डाक्टरहरूले सीमित स्रोत साधनमा बिरामीको जीवन बचाउनुपर्ने चुनौतीको सामना गर्नुपर्छ । डाक्टर पेशामा तनावको अर्को ठूलो कारण भनेको बिरामी र तिनका आफन्तहरूको अपेक्षा हो । धेरैजसो मानिसले डाक्टरलाई एकदमै परिपूर्ण व्यक्तिका रूपमा हेर्छन् । यदि उपचार असफल भयो वा चमत्कारी परिणाम आएन भने, बिरामीका आफन्तहरूले डाक्टरमाथि आरोप लगाउन थाल्छन् । नेपालमा पछिल्ला दिनहरूमा डाक्टरहरूमाथि हुने शारीरिक आक्रमणका घटनाहरू बढ्दै गएका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्यु हुँदा वा उपचारमा ढिलाइ भएमा बिरामीका परिवार र आफन्तहरूले डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि आक्रोश पोख्ने गरेका छन् । यसले डाक्टरहरूमा असुरक्षाको भावना र मानसिक तनाव पैदा गर्दछ । डाक्टरको कामले उनीहरूको व्यक्तिगत जीवनलाई पनि गम्भीर रूपमा प्रभावित गर्दछ । व्यस्त तालिका, लामो समयसम्म काम गर्नुपर्ने अवस्था, र बिरामीको जीवनप्रति उच्च जिम्मेवारीले गर्दा डाक्टरहरू प्रायः आफ्नो परिवार र सामाजिक जीवनमा समय दिन सक्दैनन् । कतिपय अवस्थामा यो पेशागत जीवन र व्यक्तिगत जीवनको असन्तुलनले डाक्टरहरूमा डिप्रेशन, एङ्जाइटी, र अन्य मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ ।   डा. विवेक कुमार पूर्वे डाक्टर पेशासँग सम्बन्धित तनाव घटाउन विभिन्न उपायहरू अपनाउन सकिन्छ । सबैभन्दा पहिले, मेडिकल शिक्षा र तालिमका क्रममा विद्यार्थीलाई मानसिक स्वास्थ्यको महत्वबारे शिक्षित गराउनुपर्छ । उनीहरूलाई तनाव व्यवस्थापनका विधिहरू सिकाउनुपर्छ । अस्पताल र स्वास्थ्य संस्थाहरूले डाक्टरहरूको कामको समयलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । अत्यधिक कामको बोझ कम गर्न अतिरिक्त जनशक्तिको व्यवस्था र कामको समयलाई ब्यवस्थित गरेर डाक्टरहरूको कार्यक्षमता बढाउन सकिन्छ । त्यस्तै, डाक्टरहरूले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । योग, ध्यान, र नियमित शारीरिक व्यायाम तनाव कम गर्नका लागि प्रभावकारी उपायहरू हुन् । परिवार र साथीहरूसँग समय बिताउनु, आफ्नो भावना सेयर गर्नु, र आरामको समय सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण छ । अस्पतालहरूले डाक्टरका लागि मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्छ । समाजले पनि डाक्टरहरूको कामप्रति सहानुभूति र समझदारी देखाउनुपर्छ । बिरामीका आफन्तले डाक्टरहरूप्रति अनावश्यक दबाब सिर्जना गर्नुको सट्टा उनीहरूका प्रयासको कदर गर्नुपर्छ । सरकार र नीति निर्माताहरूले डाक्टरहरूको सुरक्षाका लागि कडा कानूनी व्यवस्था लागू गर्नुपर्छ । अस्पतालका संरचनाहरूलाई सुधार गरी स्रोत साधनमा लगानी बढाउनुपर्छ, जसले डाक्टरहरूले सुरक्षित र प्रभावकारी रूपमा काम गर्न सकून । डाक्टर पेशा केवल सेवा मात्र होइन, यो त्याग र बलिदानले भरिएको छ । उनीहरूले आफ्नो व्यक्तिगत सुख, स्वास्थ्य, र समय त्यागेर अरूको जीवन बचाउँछन् । तर, यो सेवा दिन सक्ने वातावरण तयार गर्नु राज्य र समाजको जिम्मेवारी हो । डाक्टरहरूको मानसिक स्वास्थ्य राम्रो रहेमात्र उनीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्छन् । त्यसैले, डाक्टर पेशासँग जोडिएको तनावलाई सम्बोधन गर्न सबै पक्ष एकसाथ अघि बढ्नुपर्छ । डाक्टर पेशालाई सम्मान गर्नु भनेको उनीहरूले सामना गर्नुपर्ने चुनौती र तनावलाई बुझ्नु हो । उनीहरूको स्वास्थ्य र सुरक्षामा ध्यान दिँदा मात्र समाजमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सकिन्छ । डाक्टरहरूको जीवन सहज र तनावमुक्त बनाउन राज्य, अस्पताल प्रशासन, र समाजले सामूहिक रूपमा कदम चाल्नुपर्ने समय आइसकेको छ ।

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबारदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । ‘उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ’, मन्त्री पौडेलले भने, ‘यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।’ मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ ? उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।’ ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।