नागरिकका गुनासा सुन्न स्वास्थ्यमन्त्रीले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या संकलन तथा समाधान गर्ने उद्देश्यले गत महिना एकाइ गठन गर्ने निर्णय गरेका थिए । पैसा नलाग्ने नम्बर १११५ तथा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२ का साथै मन्त्रालयको आधिकारिक फेसबुक र एक्स ह्याण्डलमा गएर सेवा सम्बन्धमा गुनासो तथा जानकारी दुवै लिने प्रबन्ध गरिएको छ । एकाइमा गत पुष ९ गतेसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै गुनासा अस्पताल सेवासँग सम्बन्धित ४१ दर्ता भएका छन् । यसैगरी बिमा सेवा २५, पारिश्रमिकसम्बन्धी १४, प्रशासनिक १५, पारिश्रमिकसँग सम्बन्धित १४ गुनासा दर्ता भएका छन् । सुझाव सम्बन्धी ८ तथा अन्य २१ गुनासा दर्ता भएकामा आवश्यकताअनुसार तत्काल तथा प्राथमिकता दिएर सम्बोधन गरिएको एकाइ प्रमुख बास्तोलाले जानकारी दिए । मन्त्री पौडेलले आम नागरिकको चाहनाअनुसार स्वास्थ्य सेवा सुधार गर्ने क्रममा गुनासो सुन्दै सुनुवाइसमेत गर्ने गरी आवश्यक परे नीतिसम्बन्धी सुधार समेत गर्न सक्ने उद्देश्यले एकाइ गठन गरिएको बताए । आम नागरिकलाई आफ्ना गुनासा भन्ने ठाउँ उपलब्ध होस् भनेर एकाइ गठन गरिएको हो, उनले भने, आएका गुनासा हरसम्भव सम्बोधनको प्रयास भैरहेको छ । तपाईंका गुनासा निर्धक्कसँग राख्नुस् । उनले नागरिकका धेरै समस्या परेका विषय नीतिगत सुधार आवश्यक परे गर्न तयार रहेको पनि बताए ।

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ । तथापि  मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ । एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस्तै, बिरामीको नजिक/सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

भक्तपुरमा उत्कृष्ट सेवा दिने अस्पताल बन्दै नागरिक, लेभल थ्री आईसीयू सञ्चालन

  काठमाडौं ।  ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भएको भक्तपुरको नागरिक अस्पतालले अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा ल्याएको छ । भक्तपुरमै पहिलो पटक अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको यो अस्पतालले सेवा विभिन्न सेवा दिँदै आएको छ । सामान्य अवस्थामा सेवा दिइरहेको यो अस्पतालको व्यवस्थापनको जिम्मेवारी ह्याम्सले लिइसकेपछि अहिले उच्चस्तरीय सेवा दिने तयारी गरिरहेको छ ।  यही क्रममा अस्पतालमा अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा आएको हो । पहिलो चरणमा ९ शैयासहितको उच्चस्तरीय सेवा सहितको लेभल थ्री आईसीयूमा विस्तारै आवश्यकताका आधारमा बेड संख्या बढाउने ह्याम्सको योजना छ ।  नागरिक अस्पतालका मेडिकल डिरेक्टर कुन्दन कार्कीले भक्तपुरमा उत्कृष्ट सेवा दिने अस्पतालको आवश्यकताको जनगुनासोलाई मध्यनजर गर्दै अस्पतालले सेवा सुरु गरेको बताए ।    योभन्दा पहिला २४ सै घण्टा इमर्जेन्सी सुरु गर्दा अहिले लेभल थ्रीको आईसीयू सेवा सुरु गरेको उनले बताए ।  उनले लेजर टेक्नोलोजीद्वारा पत्थरीकाे शल्यक्रिया गर्ने मेसिन ल्याउने तयारी गरिरहेको बताउँदै लेजर इन्डोस्कोपी सर्जरी सुरु गरिसकेको जानकारी दिए । भक्तपुरमै पहिलो, सर्वोत्कृष्ट भक्तपुरमै एकमात्र भन्ने परिकल्पनाका साथ अस्पताल अगाडि बढिरहेको छ । के हो लेभल थ्री आईसीयू ?  आईसीयूलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको हुन्छ । जस्तै लेभल वान, टु, थ्री । ह्याम्स अस्पतालका कन्सल्टेन्ट डा. सविन कोइराला आईसीयू वानबाट थ्रीमा जाँदा त्यही अनुसार तालिमप्राप्त जनशक्ति, उपकरण आवश्यक हुने बताउँछन् । ‘आईसीयूमा जति सिकिस्त बिरामी छन्, त्यहीअनुसारको उपकरण एक्स्पर्टिज चाहिन्छ । त्यही अनुसारको लेभल पनि बढ्दै जान्छ । लेभल थ्री भनेको सबैभन्दा अत्याधुनिक हो । जहाँ सबै खालको अति सिकिस्त बिरामी भएपनि सबैको उपचार हुन्छ,’ उनले भने । जहाँबाट बिरामीलाई अन्त रिफर गर्नुपर्दैन । डा. कोइरालाका अनुसार लेभल थ्रीको आईसीयू सञ्चालन गर्न निकै संवेदनशील हुनुपर्छ । यसका लागि ट्रेनिङ पाएको दक्ष डाक्टर हुनुपर्छ । यस्तै,  २४ घण्टा आईसीयूभित्र एमडी गरिसकेको कन्सलटेन्ट डाक्टर उपलब्ध हुनुपर्छ । यस्तै, हरेक बिरामीको लागि एकजना डेडिकेटेड नर्स हुनुपर्छ भने इन्फेक्सन नहोस् वा भएको सङ्क्रमणलाई कसरी नियन्त्रण गर्ने भनेर हेर्न इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल नर्स (संक्रमण रोकथाम नियन्त्रण नर्स) हुनुपर्छ । त्यस्तै, फिजियो थेरापिस्टहरू २४ सै घण्टा हुनुपर्छ । डा. सविन कोइराला । ‘लेभल थ्री मा रहेका बिरामीहरूका लागि धेरै औषधीहरू चाहिन्छ, यसका लागि फर्मासिस्टको र औषधी पनि आईसीयूभित्रै हुनुपर्‍यो ताकि सानो औषधी किन्न पनि बाहिर जान नपरोस,’ डा.कोइराला भन्छन्, ‘हरेक बिरामीलाई पुग्ने गरी उपकरण हुनुपर्छ, ब्लड प्रेसर एसीजी कस्तो छ, मुटुको चाल कस्तो छ, यो सबै हेर्ने  महँगो मनिटर हुनुपर्छ । काम गर्ने  स्वास्थ्यकर्मी पनि ट्रेन्ड र पर्याप्त मात्रामा उपलब्ध हुने , डिभाइसेस पनि त्यही अनुसार उपलब्ध हुने आईसीयूको स्ट्रक्चर पनि त्यहीअनुसारको बनाइएको हुन्छ ।’ उनका अनुसार लेभल थ्रीमा जति सिकिस्त बिरामी आएपनि उसलाई अन्त कतै रिफर नगरी सबै उपचार यही गरिन्छ । यसका लागि विभिन्न प्रोटोकलहरू राखेर आईसीयू बनाइन्छ । आईसीयूभित्र यहाँ यो खालको बिरामी राख्ने भनेर छुट्याइँदैन । जस्तो बिरामी आएपनि बिरामीको उपचार हुन सम्भव हुनुपर्छ । जस्तै मुटुको रोगी सिकिस्त भएर आउँदा, सङ्क्रमण भएर आउँदा, पेट आन्द्राको समस्या भएर आउँदा वा अरू कुनै कतैको सङ्क्रमण भएर आउँदा पनि वा ब्रेनमा केही समस्या भएर आउँदा जस्तो खालको बिरामी आउँदा पनि उपचार गर्न सक्ने गरी ९ शैयाको आईसीयू बनाएको हो ।  डा. कोइराला सधै सेवा दिनको लागि जनशक्ति पर्याप्त मात्रामा जहिले पनि उपलब्ध हुँदा कसैलाई गुहार्नु नपर्ने बताउँछन् । यसका लागि तालिमप्राप्त जनशक्ति राखिएको छ । यसका लागि अस्पतालले दक्ष जनशक्तिको छुट्टै टोली बनाएको छ । सर्जरीको हकमा सर्जन ह्याम्स र नागरिकको दुवै अस्पतालमा काम गर्छन् । सामान्य अप्रेसन नागरिककै अस्पतालले गर्छन् भने अलि गम्भीर अवस्थाको केश हुँदा ह्याम्सको टोली नागरिकमा जाने कोइरालाले बताए  । दुवै अस्पतालमा एउटै चिकित्सक जस्तै, आईसीयूकै कुरा गर्दा ह्याम्स र नागरिकको आईसीयूको जोडिएको छ । ती चिकित्सकले दुवै अस्पतालमा काम गर्छन् ।  जुन ह्याम्समा गुणस्तर छ,  त्यही कपी गरेर नागरिकमा आईसीयू चलाउने र अरू विभाग पनि त्यही अनुसार चलाउने भन्ने योजना छ ।  आईसीयू विज्ञ डा. अर्जुन कार्की आईसीयूमै राख्ने बिरामी सबैभन्दा सिकिस्त हुने बताउँछन् । जसका अंगहरू काम गर्न छोड्न लागेका हुन्छन् वा कुनैपनि बेला त्यो अंगले ठाउँ छोड्न लागेको अवस्था हुन्छ । त्यस्तो मान्छेलाई बेलैमा चिनेर आईसीयूमै राख्ने गरिन्छ । अत्याधुनिक प्रविधि परिचालन गरेर कुन बिरामीलाई कस्तो खालको उपचार गर्यो भने जीवन जोगिन्छ खतरामुक्त पार्न सकिन्छ र उसलाई निको पारेर घरमा पठाउन सकिन्छ भन्ने अवस्थामा आईसीयूको प्रयोग गरिने उनी बताउँछन् । आईसीयू विज्ञ डा. अर्जुन कार्की । उनी भन्छन्, ‘तर नेपालमा कुनै मान्छे आईसीयूमा छ भन्ने बित्तिकै अब यो मान्छे बाँच्दैन भन्ने भ्रम छ । अस्पतालमा उपचार गर्दागर्दै सिकिस्त भएको होस् वा सिकिस्त भएर आएको होस् दुवैलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ ।’  आईसीयूका लागि नयाँ प्रविधि  र ती प्रविधि चलाउन दक्ष जनशक्ति पनि चाहिन्छ । आईसीयूका बिरामीको स्याहारसुसारका लागि सिपालु नर्स चाहिने भएकाले बढी खर्चिलो हुन्छ । कार्की कतिपय व्यक्तिलाई धेरै दिन आईसीयूमै राख्नुपर्‍यो भने नेपालको औषत आय भएको  मानछेको दृष्टिकोणले ढाड भाँचिने खालको खर्च लाग्ने बताउँछन् ।  स्वास्थ्य बीमा प्रणालीको आवश्यकता उनी सबै नेपाली नागरिकको आईसीयूमै राखेर उपचार गर्न सक्ने हैसियत नभएको बताउँछन् । नेपालीको आर्थिक अवस्था अधिकांशको राम्रो नभएको हुँदा सेवा लिन समस्या भएको भन्दे उनले सबै नेपालीलाई स्वास्थ्य बीमाको प्रणालीमा समेट्नुपर्ने बताउँछन् । उनी यसका लागि सरकारले बीमा प्रणालीलाई प्रभावकारी र सबैलाई संलग्न गर्नुपर्ने उनको तर्क छ । ‘प्रविधिको सहयोग भएन भने जीवन नै बचाउन सक्दैनौं,’ कार्की भन्छन्, ‘फोक्सोले काम गरेन भने भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्छ, मुटुले काम गरेन भने मुटुलाई बलियो पार्ने औषधी दिनुपर्छ, मृर्गौलाले काम गरेन भने डायलासिस गरेर बचाउनुपर्‍यो । एमआरआई गर्ने, सीटीस्क्यान गर्ने, रोग कहाँ पुग्यो, औषधीले भेट्यो कि भेटेन भन्ने विभिन्न प्रक्रियामा व्यावस्थापन गर्दा निकै महँगो हुन्छ ।’ खर्चिलो लेभल थ्री आईसीयू  डा. कार्कीका अनुसार आईसीयू नेपालमा मात्र नभइ विश्वमै खचिलो छ ।  २५ वर्ष पहिले आईसीयूको बारेमा पढेर आएका कार्कीले त्यो बेला नेपालमा फाट्टफुट्टमात्र आईसीयू रहेको बताउँदै अहिले विज्ञताको हिसावले धेरै चिकित्सक हुँदा आईसीयूको संख्या पनि त्यही रूपमा बढिरहेको बताउँछन् ।