सवारीसाधनको चाप बढ्दो, एकै वर्ष थपिए पौने ४ लाख नयाँ गाडी

काठमाडौं । गत वर्ष देशभर पौने ४ लाख नयाँ सवारीसाधन थपिएका छन् । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ३ लाख ७६ हजार ३९३ वटा नयाँ सवारीसाधन थपिएका हुन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइकल थपिएका छन् । राष्ट्र बैंकको अध्ययन अनुसार गत वर्ष २ लाख ९४ हजार ३९८ वटा नयाँ मोटरसाइकल दर्ता हुँदा ८१ हजार ९९५ वटा अन्य सवारीसाधन थपिएका हुन् । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ लाख ७३ हजार ७४ वटा सवारीसाधन दर्ता भएका थिए । जसमध्ये २ लाख ३२ हजार ५५२ वटा मोटरसाइकल र ४० हजार ५२२ वटा अन्य सवारीसाधन दर्ता भएको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष देशभर ३७.८३ प्रतिशत सवारीसाधन थपिएका हुन् । गत वर्ष मोटरसाइकलको संख्या २६.५९ प्रतिशत र १०२.३४ प्रतिशत अन्य सवारीसाधन थपिएका छन् ।  कुन प्रदेशमा कति थपिए ?  सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा १४ हजार ७ सय २१ यातायातका साधन दर्ता भएका छन् । जसमध्ये १० हजार ९३१ मोटरसाइकल र ३ हजार ७९० वटा अन्य सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयहरूको तथ्याङ्क छ । अघिल्लो आव २०८०/८१ मा ७ हजार ७१८ वटा मोटरसाइकल र ३ हजार १८१ वटा अन्य गरी कुल १० हजार ८९९ वटा सवारीसाधन दर्ता भएका थिए । दुई पाङ्ग्रे तथा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग लगायतका कारणले सवारीसाधनको वृद्धि दर उच्च रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले जनाएको छ । पछिल्लो समय डडेल्धुरा र डोटी जिल्लास्थित यातायात व्यवस्था कार्यालयहरूमा समेत यातायातका साधनको दर्ता सुरु भएको छ ।  कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ९७७ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल २ हजार ५५२ वटा र अन्य सवारीसाधन ७४८ वटा दर्ता भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशमा २ हजार ४३८ वटा मोटरसाइकल र ५६६ वटा अन्य सवारीसाधन गरी ३ हजार ४ वटा सवारीसाधन दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३२.३९ प्रतिशत बढी सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालय सुर्खेत र जुम्लाले जनाएका छन् ।  लुम्बिनी प्रदेशमा गत आव २०८१/८२ मा ७५ हजार ८७ सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ७० हजार ७१४ वटा मोटरसाइकल र १३ हजार ७५५ वटा अन्य सवारी दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय बुटवल, नेपालगञ्ज र दाङको तथ्याङ्क अनुसार अघिल्लो आव २०८०/८१ मा ४६ हजार ७३८ वटा मोटरसाइकल र ८ हजार ९० वटा अन्य सवारी गरी कुल ५४ हजार ८३० वटा सवारीसाधन दर्ता भएका थिए ।  गण्डकी प्रदेशमा आव २०८१/८२ मा १७ हजार ९६७ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकलको संख्या १४ हजार ८६१ र अन्य यातायातको साधनको संख्या ३ हजार १०६ रहेको छ । अघिल्लो आव २०८०/८१ मा ११ हजार १२३ वटा मोटरसाइकल र १ हजार ८१५ वटा अन्य गरी कुल १२ हजार ९३८ सवारीसाधन दर्ता भएका थिए । यस प्रदेशमा आर्थिक क्षेत्र चलायमान हुँदै जानु, आयातमा गरिएको कडाइ फुकुवा हुनु तथा यातायातका साधन प्रयोग गर्ने युवाहरू बढेका जस्ता कारणले यातायातको साधनहरूको दर्ता क्रमशः बढ्दै गएको देखिन्छ ।  बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा १ लाख ३५ हजार ८६६ सवारी दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल सङ्ख्या १ लाख २ हजार ८११ वटा र ३३ हजार ५५ वटा अन्य सवारीसाधन दर्ता भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आव २०८०/८१ मा ८५ हजार ८७४ वटा मोटरसाइकल र ७ हजार ७२५ वटा अन्य गरी कुल ९३ हजार ५९९ वटा सवारीसाधन दर्ता भएका थिए । मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ६८ हजार २५९ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकलको संख्या ५७ हजार ९३६ र अन्य यातायात साधनको संख्या १० हजार ३२३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा ४९ हजार ८४५ वटा मोटरसाइकल र ९ हजार ८३७ वटा अन्य गरी ५९ हजार ६८२ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालय, मधेश प्रदेशको तथ्याङ्क छ । कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा ५१ हजार १३४ वटा सवारीसाधन दर्ता भएका छन् । जसमध्ये ३३ हजार ९१६ वटा मोटरसाइकल र १७ हजार २१८ वटा अन्य सवारी रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ८१६ वटा मोटरसाइकल र ९ हजार ३०६ वटा अन्य सवारी गरी कुल ३८ हजार १२२ वटा सवारीसाधन दर्ता भएका थिए । २०८२ असार मसान्तमा कोशी प्रदेशका १४ वटा जिल्लामध्ये सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा र ओखलढुङ्गा गरी ७ वटा जिल्लाबाट सवारीसाधन दर्ता हुने कार्य हुँदै आएको छ ।

फेसबुक–इन्स्टाग्राम मानसिक स्वास्थ्यका लागि हानिकारक ? मेटाले रोक्यो आफ्नै अनुसन्धान

काठमाडौं । फेसबुकको माउ कम्पनी मेटाले आफ्नै प्लेटफर्मले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको देखाउने आन्तरिक अनुसन्धान बीचमै रोकिदिएको सनसनीपूर्ण खुलासा अदालतमा दायर दस्तावेजले गरेको छ । शुक्रबार सार्वजनिक भएको कानुनी दस्तावेजका अनुसार मेटाले २०१९ को अन्त्यतिर सुरु गरेको ‘प्रोजेक्ट मक्र्युरी’ मा फेसबुक र इन्स्टाग्राम प्रयोग एक महिना बन्द गर्ने उपभोक्ताहरूको व्यवहार विश्लेषण गरिएको थियो । प्रारम्भिक नतिजाले फेसबुक छाड्नेहरूले एक सातामै चिन्ता, एकलोपन र सामाजिक तुलना कम महसुस गरेको देखाएको थियो। तर यिनै नतिजाले मेटालाई ‘निराश’ बनायो र कम्पनीले अनुसन्धानै रोक्ने निर्णय गरेको उजुरीमा उल्लेख छ । नतिजा सार्वजनिक नगरी मेटाले बरु कङ्ग्रेसमै झुट बोलेको दाबी उजुरीमा उल्लेख छ । यो खुलासा अहिले अमेरिकामा चलिरहेको ठूलो मुद्दासँग जोडिएको छ, जहाँ विद्यालय, अभिभावक र विभिन्न राज्यका कानुनी अधिकारीहरूले मेटा, युटुब, स्न्याप र टिकटक विरुद्ध बालबालिकाको मानसिक स्वास्थ्य बिगार्ने प्रवृत्तिबारे उजुरी दर्ता गरिरहेका छन् । उजुरीकर्ताको आरोप छ–  कम्पनीहरूले समस्या थाहा हुँदाहुँदै पनि कारबाही गरेनन् र बरु शिक्षक तथा अधिकारीहरूलाई भ्रममा पारे । मेटाका प्रवक्त्ता एन्डी स्टोनले दाबीहरूलाई गलत बुझाइमा आधारित भ्रामक आरोप भन्दै खारेज गरेका छन् । उनको भनाइमा कम्पनीले दशकभन्दा बढी यस्ता समस्यामा अनुसन्धान, अभिभावकसँग संवाद र किशोर सुरक्षाको लागि ठोस कदमहरू उठाउँदै आएको छ। गुगलले पनि उजुरीमा लगाइएका आरोपलाई पूर्ण गलत बुझाइ भन्दै अस्वीकार गरेको छ। उसका अनुसार युट्युब मुख्यतः टीभीमा हेर्ने स्ट्रीमिङ सेवा हो, सामाजिक सञ्जाल नै होइन । स्न्याप र टिकटकले भने तत्काल प्रतिक्रिया दिएका छैनन् । उजुरीमा मेटाका एक कर्मचारीलाई उद्धृत गर्दै भनिएको छ, नतिजा नराम्रा थिए । हामीले यो लुकायौं । के यो चुरोट कम्पनीहरूले हानिकारक थाहा पाउँदा पनि लुकाएको जस्तै देखिँदैन ? एन्डी स्टोनले सामाजिक सञ्जालमा भने अध्ययन ‘त्रुटिपूर्ण’ भएको र नतिजाबाट ‘कारण–परिणाम’ सिद्ध हुन्न भनी प्रतिक्रिया दिएका छन् । उनका अनुसार ‘फेसबुक प्रयोग हानिकारक छ’  भन्ने विश्वास गरेका मानिसहरूलाई प्रयोग छोड्दा राम्रो महसुस भयो । स्टोनले यस्तो नतिजा अन्य सार्वजनिक अनुसन्धानसँग मेल खाने बताउँदै यसले प्लेटफर्म प्रयोगको वास्तविक असर नदेखाउने स्पष्ट पारे । १ ट्रिलियनको नयाँ प्याकेज होइन, २०१८ को पे डिलले टेस्ला संकटमा एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

निर्यात ७७ प्रतिशतले बढ्यो, चार महिनामा ६ खर्ब बढीको आयात

काठमाडौं । भन्सार विभागले निर्यात बढेको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालबाट कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो । गत आवको कात्तिकसम्म कुल ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।  यो अवधिमा कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको तुलनामा १८.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कुल ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ । कात्तिकसम्म कुल ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।  चार महिनाको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत र आयातको हिस्सा ८६.७० प्रतिशत रहेको छ ।