अटेरी ऋणी नै बैंकको अध्यक्ष, कसरी सुरक्षित हुन्छ सर्वसाधारणको निक्षेप ?
गत विहीबार मात्र नमस्ते वचत तथा ऋण सहकारी संस्थाले राजेन्द्र कुमार श्रेष्ठको तीन पुस्ते विवरणसहित कर्जा चुक्ता गर्न कान्तिपुर दैनिकमा सूचना प्रकाशित ग¥यो । शनिबार तिनै व्याक्ति सिन्धु विकास बैंकको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बैंकको पाँचौं बार्षिक साधारण सभाबाट सञ्चालक भएका उनी सर्वसहमतिमा अध्यक्ष भए । उक्त सहकारीबाट एक करोड रुपैयाँ भन्दा बढी कर्जा लिएको सहकारी स्रोतले बतायो । श्रेष्ठले झापा र ललितपुरमा रहेको विभिन्न १३ कित्तामा रहेको जग्गा धितो राखी कर्जा लिएका छन् । २०७० असोजमा लिएको कर्जाको अहिलेसम्म सावाँ व्याज कुनै किस्ता पनि नतिरेको सहकारीले बताएको छ । कर्जा तिर्न पटक पटक मौखिक, लिखित र फोनबाट आग्रह गर्दा पनि श्रेष्ठले साँवा तथा व्याज भुक्तानी नगरेको सहकारीले जनाएको छ । बैंकको अध्यक्षमा निर्वाचित श्रेष्ठ आर्थिक मामिलामा विवादी व्यक्ति हुन् । उनले विभिन्न वित्तीय संस्थाबाट लिएको ऋण तिरेका छैनन् । उनले भुक्तानी दिएका चेकसमेत वाउन्स भएको पाइएको छ । तिनै विवादीत व्याक्तिलाई स्टेक होल्डरहरुले बैंकको अध्यक्ष बनाए । जो अरु वित्तीय संस्थाबाट ऋण लिएर तिर्दैनन् ? अरु व्यक्तिसँग सापटी तिएर तिर्दैनन् ? तिनै व्यक्तिलाई बैंकको सञ्चालक बनाउने उक्त बैंकको सेयरधनी कस्ता होलान् ? तिनै व्यक्तिलाई सर्वसहमतिमा अध्यक्ष स्वीकार गर्ने बैंकका अरु सञ्चालक कस्ता होलान् ? अरु वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने अध्यक्षको आज्ञाकारी भएर काम गर्ने सिन्धु विकास बैंकका कर्मचारी कति प्रोफेशनल होलान् ? यस्ता अटेरी ऋणीलाई बैंकको अध्यक्षको रुपमा स्वागत गर्ने, सम्मान गर्ने र बैंकका प्रस्तावहरुमा सदर गर्ने राष्ट्र बैंकका अधिकारीहरु कति प्रोफेशनल होलान् ? उनीहरु सबैको नाकमा कालो लागेको छ । उनीहरु त्यो कालो बोकेर निरन्तर अघि बढ्छन् वा पखाल्न तयार हुन्छन् ? समयले नै बताउने छ ।
वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशत बढ्यो
१८ माघ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममा वित्तीय विवरण प्रकासित गरेका १४ वाणिज्य बैंकहरुको पुससम्मको नाफा अघिल्लो बर्षको भन्दा २२ प्रतिशतले बढेको छ । बैंकहरुको कुल व्याज आम्दानी र राइट ब्याक रकम बढेपछि नाफामा पनि वृद्धि भएको हो । अघिल्लो बर्ष पुसमा कुल चार अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका यी बैंकले यसवर्ष भने नाफा पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकहरुको व्याज आम्दानी १९.६७ प्रतिशतले बढेर नौं अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । तर बैंकर्स एशोसिएसनका पुर्वअध्यक्ष राजनसिंह भण्डारी भने बैंकहरुको नाफामा उल्लेख सुधार हुन नसकेको बताउँछन । ‘हाम्रौ बैंकले अघिल्लो बर्षको पुसको तुलनामा छ अर्ब रुपैयाँले कर्जालगानी बढाएका छौं, तर हाम्रो नाफा जम्मा चार करोड रुपैयाँले बढेको छ, उच्च प्रतिफल पाउँनु चुनौती भएको छ,’ भण्डारीले भने । बैकर्स एशोसिएसनमा अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरु बीच कर्जा बिस्तारमा तीव्र प्रतिस्पर्धा रहेकोले नाफामा उल्लेख्य सुधार हुन नसकेको बताउछन । ‘अहिले समग्र बैंकिङ क्षेत्रको कर्जा १७ प्रतिशतको दरमा बढेको छ तर आम्दानी पाँच प्रतिशतले बढेको छ, ’ पौड्यालले भने । बैंकहरुमा अहिले कर्जाको व्याजदर घटाउन ग्राहकहरबाट दबाब परेको पौड्यालले बताए । यो अवधिमा सिभिल, कुमारी र सेञ्चुरी बैंकको नाफामा गुणात्मक वृद्धि भएको छ । अर्काेतर्फ, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट लगायतको नाफा सुस्तिएको छ । एनआइसी एसिया बैंकको नाफा भने छ प्रतिशतले घटेको छ । बैंकहरुले तरालता वृद्धिसंगै कर्जा वृद्धिमा पनि तीव्रता ल्याएका छन । कतिपय आफ्नो संस्थाको कुल निक्षेपको तुलनामा कर्जा ९० प्रतिशतसम्म बढाएका देखिन्छन । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बाहेक सबैको निक्षेपको ८० प्रतिशतभन्दा बढि रकम कर्जा प्रवाह भएको छ । बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत बर्ष राइटब्याक २४ प्रतिशतले बढ्यो । यो रकम एक अर्ब दुई करोड रुपैयाँ छ । बैंकहरुको प्रोभिजनिङ पनि ६ प्रतिशतले घटेर एक अर्ब ६० करोडमा सिमित छ । बैंकहरुको कुल कर्जामा खराब कर्जाको अनुपात औसतमा १.६१ प्रतिशत छ । कुमारी र ग्लोबल आइएमइको कुल कर्जामा खराब कर्जाको अनुपात अन्यको भन्दा धेरै छ । त्यस्तै, खराब कर्जा वापत औसतमा तीन सय ३९ प्रतिशत रकमको व्यवस्था गरेका छन । बैंकहरुको चुक्तापूँजी २४ प्रतिशतले बढेर ३७ अर्ब रुपैयाँ र सञ्चिती १६ प्रतिशतले बढेर २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको निक्षेप २३ प्रतिशत र कर्जा २९ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप पाँच खर्ब ४२ अर्ब रुपैयाँ र कर्जा चार खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको रियल स्टेटमा कुल कर्जा लगानी चार प्रतिशतले बढेको छ । बैंकहरुको रियल स्टेटमा कुल २८ अर्ब ९८ करोड रुपैयाँ रहेकोे छ । यो बैंकहरुले प्रदान गरेको कुल कर्जामा ६.४० प्रतिशत छ । त्यस्तै, सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) मा पनि एक सय ९१ प्रतिशतले वृद्धि भएर छ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको सञ्चालन नाफा भने २५ प्रतिशतले बढेर छ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट र एनआइसी एसियाको सञ्चालन नाफा भने घटेको छ । बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने ११.७९ प्रतिशत छ । नेपाल बंगलादेश बैंक र एनएमबीको यस्तो अनुपात ११ प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदर औसतमा ७.३४ प्रतिशत छ । बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९ प्रतिशत छ । कुमारी बैंकको यस्तो दर सबैभन्दा बढि आठ प्रतिशत छ ।
देउराली जनता फर्मास्युटिकल्सले ५० करोड लगानी थप्दै, मोलिक्युल बनाउने अनुसन्धानशाला बनाउने
१६ माघ । देउराली जनता फर्मास्युटिकल्सले ५० करोड लगानी थपेर अनुसन्धानशाला बनाउने भएको छ । २४ औं बर्ष पुरा गरेको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको कारर्यक्रममा यस्तो जानकारी दिएको हो । ‘हामी रजत जयन्ती मनाउने बर्षमा आइपुगेका छौं, यो बर्ष हामीले बिविध नयाँ कामहरु गर्नेछौं जसमध्येको एक अनुसन्धानशाला निर्माण पनि हो,’ कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । यस्तो प्रयोगशालामा औषधि बनाउन आवश्यक मोलिक्युल तयार पारिने र यसलाई निर्यात गर्ने उदेश्य कम्पनीको रहेको छ । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.रामशरण महतले अन्तराष्ट्रिय बजारमा जान आवश्यक कुनै पनि प्रकारको प्रोत्साहन र सहयोग दिन सरकार तयार रहेको बताए । ‘त्यस सहयोगको आवश्यकताको पुष्ट्याइ गर्नुभयो भने हामी तयार छौं,’ उनले भने । तर गुड म्यानुफ्याक्चरिङ प्रयाक्टिस (असल उत्पादन अभ्यास/जीएमपी) सर्टिफिकेसन पाएका नेपाली औषधी कम्पनीहरु प्रति अन्तराष्ट्रय बजारमा विश्वास गर्ने वातावरण नबनेको कम्पनीका कार्यकारी निर्देशक शर्माले उल्लेख गरे । उनले यस्तो प्रमाणिकरण तथा कम्पनीहरुको कागजातको विश्वसनियता बढाउने वातावरण बनाउन औषधि व्यवस्था बिभागले भुमिका खेल्नु पर्ने बताए । रजत जयन्ती मनाउने बर्षको रुपमा लिदै कम्पनीले सरकारसंग बिभिन्न क्षेत्रमा काम गर्न अनुमती मागेको छ । सरकारले कुनै एक जिल्ला तोकिदिए त्यहाका सबै नागरिकलाई दक्ष बनाउने आफ्नो सोच रहेको कम्पनीले बताएको छ । त्यस्तै, दुई देखि पाँच मेगावाटका कुनै एक साना जलविद्युत् आयोजना बनाउन, विश्वविधालय सञ्चालन गर्न सरकारले अनुमति दिएमा कम्पनी इच्छुक रहेको समेत कार्यक्रममा बताइएको छ । हाल कम्पनीले उत्पादन गरिरहेको औषधिको दैनिक प्रयोगकर्ता एक लाख २० हजार रहेको कम्पनीको तथ्यांक छ । कम्पनीले हाल २१० थरीका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले हालसम्म आफ्नो जडित क्षमताको ६० प्रतिशत मात्र उत्पादन गरिरहेको छ । कम्पनीले २०६० मंसिरमा आइएसओ प्रमाणिकरण पाएको थियो । डब्लुएचओ जीएमपी प्रमाणिकरण भएको कम्पनीले हालसम्म स्थिर र चालु सम्पत्तीमा गरि एक अर्ब एक करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीमा तीन सय ५० जनाले रोजगारी पाएका छन । हाल नेपालमा औषधी उत्पादन क्षेत्रमा कुल २५ अर्ब रुपैयाँको लगानी रहेको छ ।