एनपीएल घटेसँगै मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १५.६२ प्रतिशत बढेर १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३९ करोड ८० लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.०२ प्रतिशत घटेर ५ करोड ८७ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.६३ प्रतिशत बढेर ५३ करोड ६१ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा ११.५३ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वितरणयोग्य नाफा १५ करोड ९ लाख ४२ हजार रुपैयाँ थियो । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७८ करोड २० लाख १५ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा कम्पनीको निक्षेप संकलन ६.९१ प्रतिशत बढेर २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १०.७१ प्रतिशत बढेर १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, कम्पनीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८४.८४ प्रतिशत रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.७ रुपैयाँ बढेर २०.०३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा फाइनान्स प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८९६ गुणा रहेको छ ।  समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) पनि घटाएको छ । गत वर्षको पुसमा ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.६४ प्रतिशतमा झारेको छ । 

सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको इकाइ बाँडफाँड माघ ४ गते सम्पन्न गरिएको हो । सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजनाअनुसार प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन गरिएको थियो । जसमध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख इकाइ अर्थात् १५ करोड रुपैयाँ बराबरको इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । उक्त योजनाको इकाइ पुस ४ गतेदेखि पुस १८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो । सो अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएपछि प्रचलित कानुन बमोजिम योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाइ कायम गरिएको क्यापिटलले जनाएको छ । बढाइएको आकारअनुसार योग्य ६७ हजार ७२० आवेदकलाई (बीज पुँजीसहित) इकाइ बाँडफाँड गरिएको छ। इकाइ निष्कासन तथा बिक्री प्रक्रियामा सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, सञ्चार माध्यम तथा सम्बन्धित सबै निकायप्रति सिटिजन्स क्यापिटलले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। सिटिजन्स क्यापिटलले योजना व्यवस्थापन तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार तथा संस्थागत परामर्श सेवाजस्ता विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवा विस्तार गर्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।  

सिबिफिनको अध्यक्ष बने प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । श्रेष्ठ अध्यक्षमा नियुक्त भएसँगै सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ । सिबिफिनमा पदाधिकारी पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ । सिबिफिनको अध्यक्ष वाणिज्य बैंकका अध्यक्षमध्येबाटै चयन गरिने व्यवस्थाअनुसार वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो ।