सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा दुईदिने नेशनल एजेन्सी मिट २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीले असाधारण व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ (MDRT 2026) हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, निरन्तर योगदान र समर्पणमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी हासिल गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो । दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । साथै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।  

नेपाल पुनर्बीमाको संस्थापक समूहको २१ लाख ७१ हजार कित्ता सेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको हो । कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने कम्पनीले जनाएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने पनि कम्पनीले स्पष्ट पारेको छ ।

सपोर्ट लघुवित्तको नाफामा १०४.८३ प्रतिशत उछाल, ईपीएस ५१.८७ रुपैयाँ

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशत बढेर ३ करोड १७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेर ८ करोड ९४ लाख ४९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिसन आम्दानी ११.९० प्रतिशत बढेर ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत बढेर १० करोड ३९ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ७३.८३ प्रतिशत बढेर ३ करोड ८४ लाख ९९ हजार रुपैयाँ गरेको छ ।  लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५५ रुपैयाँ बढेर ५१.८७ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.१ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४३ प्रतिशत बढेर ३.१७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा १.७४ प्रतिशत खराब कर्जा थियो ।