गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णयअनुसार प्रधानले माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्नेछिन् । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पदमा प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।  

नेपाल बैंकका ग्राहकलाई ब्ल्याक हर्स जुत्तामा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्तामा यो छुट सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । छुट सुविधा बिल रकममा लागु हुने जनाइएको छ । सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । बैंकले यस्ता सहकार्यबाट ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।  

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६९ करोड १५ लाख रुपैयाँको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद धितालले जानकारी दिए ।