काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसर पारेर विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको घोषणा गरेको छ ।
कम्पनीले ‘जीवन महत्त्वपूर्ण छ, यसलाई सँगै थप सुन्दर बनाऔं’ भन्ने मूल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
कम्पनीले यस कार्यक्रममार्फत सर्वसाधारणमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र बहुमूल्य मानव जीवन बचाउन योगदान पुर्याउने पवित्र उद्देश्य राखेको जनाएको छ ।
सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना हुन लागेको स्वास्थ्य शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण गराउन कम्पनीले सबैमा आह्वान गरेको छ ।
बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म नेपाल लाइफको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा स्वास्थ्य परीक्षण हुनेछ ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने भावनालाई आत्मसात् गर्दै कम्पनीले केन्द्रीय स्तर र सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।
