सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी जलविद्युत आयोजनामा ११ अर्ब लगानी हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण कर्जा सम्झौता भएको छ । बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले करिब ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । वैशाख ३० गते सम्पन्न सम्झौतामा प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनको सहमति भएको हो । आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण गरिनेछ । परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसमध्ये ६७ः३३ को ऋण–स्वपुँजी अनुपातअनुसार ७ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी प्रवद्र्धकबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुरस्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट घण्टा गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा सहवित्तीयकरणमार्फत उल्लेख्य लगानी गर्दै आएको बताए । उनका अनुसार निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले ऊर्जा क्षेत्रको विकासमा ठूलो योगदान पुगेको छ । बैंकले हालसम्म २७४.४०१ मेगावाट क्षमताका १६ वटा आयोजना सम्पन्न गरिसकेको छ भने १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ आयोजनामा बैंकको लगानी रहेको छ । त्यसैगरी, प्रवद्र्धक कम्पनीका अध्यक्ष सतिस न्यौपानेले सबै कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै आयोजनाको निर्माण छिट्टै सुरु भई तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय गर्न रोक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम प्राधिकरणले गरेको निर्णयअनुसार कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो । प्राधिकरणले वैशाख २९ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ । बीमा ऐनको दफा १३६ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको प्राधिकरणले जनाएको छ ।
यूनाइटेड अजोडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।