पुनर्बीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड गम्भिर आर्थिक संकटमा परेको छ । चौधरी ग्रुप मुख्य प्रवद्र्धक रहेको यस कम्पनीमा सोही ग्रुपबाट नै भएको ठूला दावी र भुक्तानीका कारण यो कम्पनी गम्भिर आर्थिक संकटमा परेको हो । साथै कम्पनीको कमजोर व्यवस्थापकीय क्षमता र पुर्नबीमा गर्दा गरिएको त्रुटीहरुले कम्पनी निकै अप्ठेराे परेको समाचर आईतबार देशविकास पत्रिकामा छापिएको छ । पछिल्लो पटक चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’बाट परेको ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । यसअघि चौधरी ग्रुप कै सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स कम्पनीलाई यूनाईटेड इन्स्योरेन्स कम्पनीले करिव ५८ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको थियो । सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स विनोद कुमार चौधरीको कम्पनीहरु हुन् भने सिटीस्केप अरुण कुमार चौधरीको कम्पनी हो । प्रवद्र्धक समूहबाटै आएको बीमा दावी र भुक्तानीका कारण ३० करोड चुक्ता पुँजी भएको यो कम्पनी करिव २६ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । परिणाम यस्तो भएको छ कि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भनी सञ्चालक समिति गरेको आफ्नै निर्णय आफैले रद्द गर्नु परेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतका आधारमा बीमा समितिले यूनाईटेड इन्स्योरेन्स कम्पनीलाई करिव ३४ करोड रुपैयाँ प्रोभिजन गर्न लगाएको छ । ‘यो पुरानो केस हो । बीमा समितिका तत्कालिन अध्यक्ष प्रा.डा फत्तबहादुर केसीको संरक्षणमा यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले समस्या ढाकछोप गरेर राखेका थिए । पोको पारेर लुकाएर राखिएको पुरानो समस्याको पोको अहिले खुल्दै गएको मात्र हो’ स्रोतले भन्यो । उच्च स्रोतका अनुसार २०७२ बैशाखमा गएको भूकम्पले पुर्याएको क्षतिबाफत सिटीस्केपले करिव ५३ करोड रुपैयाँ बीमा दावी गरेको छ । अप्रत्यक्ष रुपमा प्रवद्र्धक समूहसँग जोडिएको दावी आएपछि यूनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ भुक्तानी गरेको छ । युनाईटेडले बीमितलाई भुक्तानी दिएको तर पुर्नबीमा कम्पनीहरुले भुक्तानी गर्न नमालेकोले कम्पनी धरापमा परेको स्रोतले बतायो । ‘२५ करोड सेयर पुँजी भएको कम्पनीमा एउटै दावीबाट ४० करोड भन्दा बढीको दाहित्व थएिकोले कम्पनी थला परेको छ’ स्रोतले भन्यो । स्रोतका अनुसार ५३ करोडको दावीमा पुर्नबीमा लिडर कम्पनी जेआईसीले १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । तर फलोअर रिइन्स्योरेन्स कम्पनीहरुले दावी भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । सोही कारण कम्पनी माथि करिब ४० करोड रुपैयाँको दाहित्व थपिएको हो । ‘१३ करोड पुर्नबीमाबाट आएको छ । ६ करोड कम्पनीको आफ्नै दाहित्वमा पर्छ, फलोआर रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने ३४ करोड रुपैयाँ आएको छैन’ स्रोतले भन्यो–‘बीमा समितिले रिइन्स्योरेन्सबाट आउनु पर्ने तर नआएको रकम प्रोभिजन गर्न निर्देशन दिएको छ ।’ प्रोभिजन गरेर पुनः वार्षिक प्रतिवेदन पेश गर्न बीमा समितिले दिएको निर्देशन यूनाईटेड इन्स्योरेन्स कम्पनीले अवज्ञा गरेको छ । ‘हामीले एक महिना समय दिएका थियौ । प्रोभिजन गरेर नयाँ प्रतिवेदन आएन’ स्रोतले भन्यो–‘समय थप्न माग गर्दै चिठ्ठी दर्ता भएको सुनेको छु ।’ बीमा समितिको निर्देशन अनुसार प्रोभिजन गर्दा कम्पनी करिव २६ करोड नोक्सानमा जाने भएको छ । संचित नोक्सानीमा गएको कम्पनीले हकप्रद सेयर निष्काशन गर्न पनि सक्दैन । सोही कारण आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय रद्द गरिएको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर र हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धि पुरानो निर्णय रद्द गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिएका छन् ।

नागरिक लगानी कोषको २१ प्रतिशत बोनस पारित, संचालकमा दुई जना निर्वाचित

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको २१ औँ सभाले सो मात्राको बोनस दिने प्रस्तावलाई पारित गरेको हो । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ । सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।

नेपाल इन्स्योरेन्सको डीजीएममा बिक्रान्त पाण्डे नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् । विकास न्युजसंग कुरा गर्दे नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने बताए । उनले नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको सुनाए ।