बाढीपिडितका लागी महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले तराई क्षेत्रमा आएको बाढी पीडितकालागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले डेभलपमेन्ट बैँकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको हो । उक्त रकम प्राकृतिक विपदले पुगेको क्षतीलाई केही हदसम्म न्युनीकरण गर्न र बाढी प्रभावित क्षेत्रको जनजीवनलाई सहजीकरण गर्ने उद्येश्यका साथ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
स्वाभिमान माईक्रोफाइनान्सले ६ करोड चुक्ता पूंजी पुर्याउने, १:२ हकप्रद शेयर जारी गर्ने
काठमाडौं । स्वाभिमान माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभाले चूक्ता पूंजी ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । साधारण विद्यमान चूक्ता पूंजीको १:२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै संस्थापक शेयरधनीहरुको तर्फबाट श्री सन्तोष नारायण श्रेष्ठ, कैलाश बिकाश बैंकको तर्फबाट श्री कृष्ण प्रसाद अर्याल, श्री मधुसुदन कुमार श्रेष्ठ र श्री गिरिराज पाठकलाई संचालक पदमा निर्विरोध निर्वाचित समेत गरेको छ । संचालक समितिको बैठकले समितिको अध्यक्षमा श्री सन्तोष नारायण श्रेष्ठलाई चयन गरेको छ । हाल कम्पनिको केन्द्रीय कार्यालय तिलोत्तमा न.पा.वडा नं. ६, रुपन्देहीमा स्थापना भएको छ । यस वित्तीय संस्थाले १० वटा शाखा कार्यालय मार्फत लघुवित्त बैंकिङ सेवा प्रदान गरिरहेको छ । संस्थाको २०७४, भादौसम्म ग्राहक संख्या ३३२८, ऋणी संख्या १८२०, कर्जा १३ करोड, बचत १ करोड ५० लाख रुपैयाँ रहेको छ । साथै संस्थाले चालु आ.ब.मा थप ७ वटा शाखा कार्यालय बिस्तार गर्ने लक्ष्य लिएको छ । कैलाश विकास बैंकद्वारा प्रवर्धित यस कम्पनिमा प्रतिष्ठित उद्मोगी, व्यवसायी, बैंकर तथा चार्टर्ड एकाउण्टेण्टहरुको लगानी रहेको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा पुतलीसडकको शेयर मार्केट कमर्सियल कम्प्लेक्समा
काठमाडौं । सिद्धार्थ बैंकले भदौ २९ गते बिहीबार राजधानीको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ । सिद्घार्थ बैंक नेपाल स्टक एकसचेञ्जको क्लियरिङ एण्ड सेटलमेन्ट बैंक हो । सिडिएस र क्लियरिङकोे कार्यालय पनि यहि भवनमा रहेकोले यो शाखाको स्थापनापछि सेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज र सरल हुनेमा बैंक विश्वस्त रहेको छ । हालै बैंकले शेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो शेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ । यस एक्स्टेन्सन् काउन्टर सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।