बीमा कम्पनीहरुले पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्नै पर्ने, समय तालिकासहित बीमा समितिको निर्देशन
काठमाडौं, ३ साउन । बीमा कम्पनीहरुको बार्षिक साधारणसभा समयमै गर्न बीमा समितिले बाध्यकारी ब्यवस्था गरेको छ । पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गरिसक्न समितिले जीबन र निर्जिबन दुबै प्रकारका कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत १३ असारमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । निर्जीबन बीमा कम्पनीहरुलाई पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गर्ने गरी काम गर्न कडा निर्देशन दिएको समितिले जानकारी दिएको छ । ‘कम्पनीको वित्तीय विवरणको समयमा जानकारी पाउनु बिमित र लगानीकर्ता दुबैको हक हो, त्यसैले पुस मसान्तभित्रमा साधारणसभा गरिसक्ने ब्यवस्था मिलाउनु हुन जानकारी गराइन्छ,’ समितिले निर्जीबन बीमा कम्पनीहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । समितिको सो निर्देशन पालना नगरे कारवाही गर्ने चेतावनी समितिले दिएको छ । जीबन बीमा कम्पनीहरुलाई काम गर्नको लागि समितिले समयसीमा दिएको छ । जसअनुसार जीबन बीमा कम्पनीहरुले लेखापरीक्षण गराउने सैद्धान्तिक स्वीकृति आर्थिक बर्ष सकिएको २ महिना भित्रमा लिइसक्नुपर्ने छ । यस्तो सैद्धान्तिक सहमति बीमा समितिले दिन्छ । जीबन बीमा कम्पनीहरुले लेखा परीक्षण सहितको वित्तीय विवरण आर्थिक बर्ष सकिएको ४ महिनाभित्रमा स्वीकृति गराइ सक्नुपर्ने नयाँ ब्यवस्था गरिएको छ । आर्थिक बर्ष सकिएको ६ महिना भित्रमा बार्षिक साधारणभा पनि गरिसक्न समितिले निर्देशन दिएको छ । यसअघि अधिकांश बीमा कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्ने गरेको थिएनन् । कम्पनी ऐन अनुसार पुस मसान्तसम्म भित्र साधारणसभा गरिसक्नु पर्नेछ । तर बीमा कम्पनीहरुले बीमा व्यवसायको प्रकृति फरक भएको, वित्तीय विवरण तयार गर्न बढी समय लाग्ने, बीमांकीय मूल्यांकन गर्नु पर्ने लगायतका कारण देखाउँदा साधारणसभा गर्न ढिलाई गर्दै आएका थिए ।
सनराइज बैंक र नारायणी नेशनल फाइनान्सबीच एकीकृत कारोबार शुरु
काठमाडौं, ३० असार । सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त (एक्विजिसन) गरि असार ३० गते बिहीबारदेखि एकीकृत वित्तीय कारोवार शुरु गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले एक समारोहकाबीच गरेका हुन् । कार्यक्रममा नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले सो संस्था दर्ताको प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई हस्तान्तरण गरेका छन् । नारायणी नेशनल फाइनान्सका १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त अवसरमा गभर्नर डा. नेपालले यस एकीकरणबाट सनराइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरुलाई अझ बढी सेवा सुविधा प्रदान गर्दै एक सबल वित्तीय संस्थाको रुपमा अगाडि आउनेमा जोड दिएका छन् । साथै डा. नेपालले यो एकीकरण बाट संस्थाहरु केवल पूँजीको लागि मात्र नभएर संस्था सबल बनाउनका लागि पनि हुने बताए । कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले नारायणी नेशनललाई एकीकरण गरि मेची देखि महाकाली सम्म विस्तारित ६७ वटा शाखाहरुबाट ग्राहकवर्गले सेवा प्राप्त गर्न सक्ने बताएका छन् । साथै उनले सन्राइज बैंकको चुक्ता पूँजी करिब ४ अर्व रुपैयाँ पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्व रुपैयाँको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिए । उनले नेपाल राष्ट्र बैंकले एक्विजिसनमा पनि मर्जर बराबरकै सुविधा प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि फाइनान्सका अध्यक्ष मानन्धरले सनराइज बैंक जस्तो “क” वर्गको संस्थासंग समाहित भइ ठूलाठूला परियोजनामा लगानी विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी करिव ४ अर्व रुपैयाँ, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप ५० अर्व, तथा कूल कर्जा ४३ अर्व रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।
मौद्रिक नीति आज
काठमाडौं, ३० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज(बिहिबार) सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यस अघि असार २६ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि आन्तरिक तयारी पुरा नभएको भन्दै पर सारिएको थियो ।