आइएमई जनरल इन्स्योरेन्सले ८०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ८० प्रतिशत हकपद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात बोनस सेयर दिई कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने गरी पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ ।
सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन, अर्काे हप्ता बाँडफाँड
काठमाडौं । सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोड रुपैंयाँ बराबरको आवेदन परेको छ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले एक अर्ब २० करोडको इक्वीटी फण्डमा एक अर्ब २४ करोडका आवेदन परेको जानकारी दिए ।उनले आगामी एक हप्ताभित्रै बाडफाँट गर्ने जानकारी पनि दिए । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड निष्काशन गरेको थियो । १० रुपैंयाँ मूल्य अंकित ७ बर्षे फण्डको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको थियो । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको थियो । लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सक्ने व्यवस्था थियो ।
आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त
काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीले भण्डारीलाई आगामी चार बर्षका लागि उक्त सिईओ पदमा नियुक्त गरेको हो । डा. भण्डारीले पुँजी बजारको लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । उनले यसअघि राष्ट्रिय योजना आयोगको सार्वजनिक तथा निजी साझेदारी परियोजनामा परामर्शदाता तथा ग्रोमोर क्यापिटल मार्केट लिमिटेडमा नायब महाप्रवन्धकको रुपमा कार्य गरिसकेका छन् । २०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको आरविवि मर्चेन्ट बैकिङको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ सेवा राष्ट्रिय वाणिज्य बैंकको ६९ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि आरविवि मर्चेन्ट बैंकिङको सेवा लिन सकिने छ ।