दिव्य लघुवित्तका अध्यक्ष जीवन भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक समक्ष सपथ लिए
काठमाडौँ । दिव्य लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् । संस्थाको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष जीवन भट्टराईले एक समारोहकाबीच कार्यक्रम उद्घाटन गरेका थिए । सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि-सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि-कैलाशविकास बैंक लि.), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
गण्डकी विकास बैंकबाट पनि एशियन लाइफको जीवन बीमा सेवा पाइने
काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन् । संझौतापछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ ।
देवः विकास बैंक र एभरेष्टबीच बैंकास्योरेन्स संझौता
काठमाडौँ । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने छन् । सो सेवा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।