माघ २६ गतेदेखि नेको इन्स्योरेन्सले ३९ करोड २० लाखको हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्सको २४औं शाखा चावहिलमा, पुँजी बढाउन हकप्रद र बोनस दिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २४औं शाखा चाबहिलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएका छन् । यस शाखा सहित कम्पनीले २४ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३७ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कम्पनीले थप १७ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने बताएकाे छ । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुयाउने बताएका छन् । त्यस पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्ने उनले बताए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको बताएका छन् । साथै, कम्पनीले दोश्रो त्रैमासिकसम्म ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको उनले बताए ।

यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सो पदमा नियुक्त गरेको हो । नवनियुक्त उपाध्यायले आगामी ४ वर्षसम्म यस कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।