नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता

काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

कृषि विकास बैंकको सञ्चालकमा ३ जना निर्वाचित

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडमा ३ जना सञ्चालन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले सञ्चालन निर्वाचित गरेको हो । साधारण सभाले भरतपुरका सञ्जीव पौडेल, पोखराका हरिप्रसाद पराजुली र काभ्रे खोपासीका विनोदकुमार गुरागाईँलाई निर्वाचित गरेको हो । सञ्चालकहरुले कार्यभार सम्हालेको र यसअघिका सञ्चालक मनोज बस्नेत र घनश्याम अवस्थीको पदावधि सकिएको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जनाएका छन् ।

नेपाल एग्रो लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखराले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अतिथिहरु वित्तीय संस्थाका संचालक समितिका सदस्य विवेक श्रेष्ठ, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, विभागीय प्रमुख नयन देवकोटा लगायतको आतिथ्यमा भएको थियो । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा उपयोगिता र सदुपयोगको महत्व, सदस्यता दोहोरोपनाले पर्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले स्पष्ट पारे । त्यसै गरि लघुवित्त वित्तीय संस्थाले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहायोग गर्ने, विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने विषय तथा केन्द्र प्रमुखका काम कर्तब्य तथा अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा सोहि वित्तीय संस्थाका विभागीय प्रमुख नयन देवकोटाले स्पष्ट पारे । वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सृजना गरि युवा शक्ति विदेश जानबाट रोक्न सकिने अहम भुमिका खेलेको कार्यक्रमका अतिथि विवेक श्रेष्ठले आफ्नो सम्वोधनको क्रममा बताए । कार्यक्रममा उत्कृष्ठ केन्द्रहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना गरि चारवटा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०७३ सालमा स्थापाना भएको शाखाले यस अवधिमा १,११८ जना सदस्य समुहमा आवद्ध गराएको छ । शाखामा आवद्ध भएका सदस्यहरुले १ करोड साठी लाख बचत संकलन गरेको तथा शाखाको तर्फबाट ४ करोड १२ लाख लगानी सदस्यहरु माझ रहेको उक्त शाखाका शाखा प्रमुख आत्माराम पौडेलले बताए ।