एनआईसी एशिया बैंकद्वारा सिरहाको जिरोमाइलमा ३२ औँ शाखारहित बैंकिङ सेवा संचालन
काठमाडौँ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उुद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ सेवा बिस्तार
काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ । व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार यादवले जेठ ३० मा एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । साथै जेठ ३२ गते ३५ औँ शाखारहित बैंकिङ्ग सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश नं. १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलव्धीहरुको वारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आब २०७४/७५ मा करीब १.५ प्रतिशत अरव कूल मूनाफा गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेश गरेका थिए ।