सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रालिबीच सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक धु्रब अधिकारीले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको छ । यो सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।

प्रोग्रेशिभ फाइनान्सका सञ्चालक श्रेष्ठ बर्खास्त, किन भए अयोग्य ?

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका सदस्य रणदेवकृष्ण श्रेष्ठ बर्खास्त भएका छन् । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत विशाल हुमागाईँले नेपाल स्टक एक्सचेञ्जलाई सञ्चालक समितिका सदस्य श्रेष्ठ सञ्चालक पदमा बहाल रहन नसक्ने पत्र लेखेका छन् । सञ्चालक समितिको असार २ गतेको बैठकको निर्णय अनुसार सञ्चालक समिति सदस्य श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १८ को उपदफा १(घ) मा भएको व्यवस्था लागु हुने देखिएको सञ्चालक रहन नसक्ने पत्रमा उल्लेख छ । सोही ऐनको दफा १९ मा सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था अन्तरगतको उपदफा १(क) अनुसार श्रेष्ठ सञ्चालक सदस्यका रुपमा रहिरहन नमिल्ने देखिएको भन्दै नेप्सेलाई जानकारी गराइएको छ ।

बीएफआइएन र एपीआरएसीए-सीइएनटीआरएबी बीच समझदारी, ‘वित्तीय क्षेत्रका कर्मचारीको क्षमता अभिबृद्धि गरिने’

काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन-सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ(एपीआरएसीए-सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा समझदारी भएको हो । समझदारी पत्रमा बीएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एपीआरएसीए-सीइएनटीआरएबीका प्रबन्ध निर्देशक लेसिरा जुअरेञ्जले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्रमा दुई संस्थाबीचको समन्वयमा विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा विशेष गरी लघुवित्त तथा सहकारीका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् । वीएफआइएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त समझदारीले नेपालको लघुवित्त तथा ग्रामीण विकास सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए ।