राष्ट्र बैंकले आज ६ अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ ख’ बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।
दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा बिस्तार
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा दिंइदै आएको जनाइएको छ ।
ज्योति विकास बैंकले ३/३ महिनामा कर्मचारीको परीक्षा लिने, ‘बैंकिङ ज्ञान बढ्ने’
काठमाडौँ । नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता पत्र भएको छ । उक्त सम्झौता अनुसार एनकबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाइन परीक्षा लिने भएको छ । सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।