कास्कीको तालचोकमा नेपाल बैंकको शाखा बिस्तार
काठमाडौँ । नेपाल बैंक लिमिटेडले पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसि र नेपाल बैक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण्वहादुर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रमुख अतिथि जिसिले बैँकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकतामा जोड दिंदै नेपालको सबैभन्दा पुरानो बैँक कारोवार तथा सेवाको आधारमा समेत अब्वल बँैक बन्न सकोस् भन्ने शुभकामना प्रकट गरे । नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैंकिङ सेवा पुरयाउँदै आएको बंैकलाई वर्तमान पुस्ताको आवश्यकता बमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता प्रकट गरे । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी, बैक शाखा प्रबन्धक मनिता शर्मा लगायतका वक्ताले बंैक सेवाका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वराल, प्रदेश ४ को बैकको प्रादेशिक कार्यालय प्रमुख धिरज राई, स्थानीय निकायका जनप्रतिनिधि, उद्यमी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
घुम्ती बिमाबारे बजेट मार्फत सम्बोधन, ‘निजी क्षेत्रको अभियानलाई सरकारको साथ’
काठमाडौँ । निजी क्षेत्रबाट सुरु भएको ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’लाई सरकारले बजेट मार्फत सम्बोधन गरेको छ । नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस)ले २०७५ चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट यो अभियान शुरु गरेको जनाएको छ । बीमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले शुरु भएको अभियानले सरकारको साथ पाउनु गर्वको विषय भएको एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले बताइन् । एनसिसका अनुसार बेलकाबाट उद्घाटन गरेको अभियानको पहिलो चरणअन्तर्गत धनुषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिने छ । कार्यक्रमअन्तर्गत ‘भिडियो अन ह्विल’ अवधारणाबाट स्थानीय तहसम्म पुर्याइने कार्यक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कलाकारमार्फत प्रस्तुति दिएर नागरिकलाई बिमा बारे जानकारी दिइने छ । घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानका लागि एनसिस र प्रभु लाइफ इन्स्योरेन्सबीच विशेष समन्वय भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स र नेपाल टेलिकमसँग पनि समन्वय भएको एनसिसले जनाएको छ ।
घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालन
काठमाडौँ । कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५ करोड रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार चाँडै नै काठमाडौँको गोंगबु र ललितपुरको मानभवनमा दुई वटा शाखा थप गर्न लागेको सो फाइनान्सको चुक्ता पूँजी रु ८५ करोड ७२ लाख रहेको छ । फाइनान्सको कर्जा प्रवाह रु पाँच अर्ब ४५ करोड रहेको उनले जानकारी दिए । काउन्टर उद्घाटन कार्यक्रममा घान्द्रुक रोधी क्लबका अध्यक्ष पूर्णप्रसाद गुरुङ, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना घान्द्रुकका कार्यालय प्रमुख विदुर कुइँकेल, मेश्रम बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर सुवेदी लगायतले काउन्टर सञ्चालनसँगै स्थानीय पर्यटन व्यवसायी एवं पर्यटक लाभान्वित बन्ने विश्वास व्यक्त गरे ।