नेप्से परिसूचक लगातार ओरालो, ४.६९ अंकले घट्दा कारोबार ५८ करोडमात्रै

काठमाडौ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा जारी छ । साताको अन्तिम दिन बिहीबारपनि नेप्से परिसूचक घट्ने क्रमले नै निरन्तरता पायो । आज नेप्से परिसूचक ४.६९ अंकले घटेको हो । ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६सय २५ रुपैयाँको कारोबार भएको छ । होटल समूह ३.६३, विकास बंैक समूह ३.४६, वित्त समूह १८.५५  र अन्य समूह १.५४ अंकले बढेका छन् । बाँकी समूह घटेका छन् । बैंक समूह ५.६२, ट्रेडिङ समूह ५.१५, जलविद्युत समूह ३.९७, निर्जीवन बीमा समूह ११.३१, उत्पादनमूलक समूह १४, माईक्रोफाईनान्स समूह ५.०६ र जीवन बीमा समूह ८५.२ अंकले घटेका हुन् । बजार घटेको दिन कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी, सनलाइफले दिन्छ १० लाखको सुरक्षा

काठमाडौ । महङ्गो शुल्कमा मात्र बीमा हुन्छ भन्ने भनाई सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडसँग मिल्दोजुल्दो देखिदैन । सो कम्पनीले ५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी बिक्री गर्दै आएको छ । सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने- ‘जीवनमा बीमाको ठूलो महत्व हुन्छ, हामीले आर्थिक अवस्था कमजोर भएका वर्गले समेत बीमा गर्न सक्ने गरी पोलिसी बिक्री गर्दै आएका छौँ ।’ अर्यालले बीमा वर्तमान समयमा निकै आवश्यक भएकोमा जोड दिए । ५ रुपैयाँभन्दापनि कममा बीमा: ५ रुपैयाँ भन्दा कममा १० लाख रुपैयाँ बराबरको सुरक्षा सन नेपाल लाईफले दिँदै आएको पाईन्छ । पाँच बर्षको अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा ५ लाख रुपैयाँ बराबरको जोखिम र १८ घातक रोग विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबरको सुरक्षण हुँदै आएको जनाएको छ । १६ बर्षदेखी ६५ बर्ष उमेरका इच्छुक व्यक्ती सो बीमा योजनामा सहभागी हुन सक्नेछन् । साथै, उमेरको आधारमा बीमा शुल्कमा केही तल–माथि कम्पनीले जनाएको छ ।

आज १५ अर्बको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । एक सातामा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । रिपो बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । जेठ ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बजारमा लगानी योग्य तरलता बढी भएमा तरलता प्रशोचन गर्ने गर्दछ । यसको मापनको लागि राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ । अन्तर बैक कारोबार ५ प्रतिशतभन्दा माथि ब्याजदर गएमा राष्ट्र बैंकले बजारमा तरलता पठाउने गर्छ भने ब्याजदर तल ओर्लिएमा बजारबाट पैसा खिच्ने गर्दछ । ब्याजदर करिडोर उच्च विन्दु सातलाई मानिएको छ भने तल्लो विन्दु तीनलाई मानिएको छ । ५ भने मध्यम विन्दु हो । आज हुन लागेको रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।