जनता क्यापिटलको साधारण सभाले पारित गर्यो ८ प्रतिशत लाभांश
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । जनता क्यापिटल मर्चेन्ट बैंकरहरुमध्ये आव २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न सफल भएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको कार्यकारी सञ्चालक विश्व सुवेदीले जनाएका छन् ।
एनआईसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा
काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
सनराइज बैंकको आरटीजीएस प्रणाली सञ्चालन
काठमाडौँ । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।