एनआईसी एशिया क्यापिटलले घर र अफिसमै डिम्याट सेवा दिने

काठमाडौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने भएको छ । २०७६ बैशाख १ गतेदेखि शुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान थालनी गरेको हो । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समूह हुनु पर्ने यो सेवा काठमाडौँ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते १०२ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले उद्घाटन गरेका हुन् । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कटवाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडीको बस्ती निर्माणमा जनता बैंकको सहयोग

काठमाडौँ । बि.संं. २०७४ साउनमा तराईमा बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी हस्तान्तरण गरिएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रालि (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् । उक्त मुसहर बस्तिका जनताहरुको आबास पुनःनिर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।