आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त, वित्तीय क्षेत्रमा २७ वर्षको अनुभव
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे । रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।
चिलिमेकोे २५ प्रतिशत लाभांश पारित, निर्माणाधिन तीन आयोजनाको ५० देखि ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रस्तावित २५ लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस पाउने भएका छन् । चार अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बोनस सेयरपछि पाँच अर्ब ७० करोड रुपैयाँ नाघेको छ । कम्पनीले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ लाख ७२ हजार अधिक यूनिट सहित ६ करोड ३५ लाख १२ हजार यूनिट विद्युत बिक्री गरेको छ । जसबाट कम्पनीले ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, व्याज आम्दानी २ करोड १४ लाख समेत गरी कम्पनीले ५० करोड ४ लाख रुपैयाँ आय आर्जन गरेको छ । सो अवधिमा चिलिमे जलविद्युत केन्द्रको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको सञ्चालन तथा सम्चार खर्च २ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । समिक्षा अवधिमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । यस कम्पनी अन्तर्गतका जलविद्युत कम्पनीहरु मार्फत तीन निर्माणाधिन आयोजनाहरुको हालसम्म ५० देखि ८५ प्रतिशतसम्म निर्माण कार्य सम्पन्न भइसकेको छ ।सान्जेन तथा सान्जेन(माथिल्लो) जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भईसकेको छ । त्यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत आयोजनाको निर्माण काम ७२ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ । यी तीन वटै आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सम्पन्न गर्ने चिलिमेको लक्ष्य रहेको छ ।
एनआईसी एशिया क्यापिटलले पायाे आईएसओ प्रमाणपत्र, मर्चेण्ट बैंकरहरुमध्ये पहिलो
काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५ सर्टिफाइड’ प्रमाणपत्र प्राप्त गरेको छ । जसले एनआईसी एशिया क्यापिटलसँग आवद्ध ग्राहकहरुलाई सुविधाजनक, गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुष्टी गर्दछ । यससँगै एनआईसी एशिया क्यापिटल आईएसओ ९००१ः२०१५ सर्टिफाइड प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको छ । उक्त प्रमाणपत्रको प्राप्तीसँगै गुणस्तरीय सेवाहरु प्रदान गर्नुको साथै सेवामा निरन्तर समयसापेक्ष सुधार तथा विकास गर्दै प्राप्त मान्यतालाई निरन्तरता दिई सेवाग्राहीमूखी छिटो छरितो सेवा प्रदान गर्न क्यापिटल सदैव प्रतिबद्ध रहेको छ । यस क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, यस क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतकाे सामूहिक लगानीकोष योजना “एनआईसी एशिया ग्रोथ फण्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड फण्ड” संचालन गरिरहेको छ ।