सिटिजन्स बैंक साफा अवार्डबाट सम्मानित, वित्तीय प्रतिवेदन उत्कृष्ट बनाउन सफल
काठमाडौं । सिटिजन्स बैंकले साउथ एशियन फिडरेशन अफ एकाउन्टेन्स(साफा) ले प्रदान गर्ने उत्कृष्ट अवार्ड पाएको छ । बंगलादेशको ढाकामा मंसिर १४ गते आयोजित कार्यक्रमा बैंकले सो अवार्ड पाएको हो । साथै, बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । द इन्स्टिस्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आईक्यान)बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ । सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।
बीमा पोलिसीको दायरा फराकिलाे बनाउँदै बीमा समिति
काठमाडौं । पछिल्लो समय बीमा पोलिसीको दायरा फराकिलो पार्ने तयारी बीमा समितिले गरिरहेको छ । हाल कायम रहेका बीमा पोलिसीको दायरामा के सुुधार गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने समितिकाे विश्लेषण छ । ‘अब वाइवाइ चाउचाउको सट्टामा ‘म्यागी’ खाने बेला आइसकेको छ तर म्यागीको खोल राखेर वाइवाइ बेच्न भने हुँदैन’– बीमा समितिका एक अधिकारीले भने-‘चाउचाउमा नयाँ स्वादको अपेक्षा भएजस्तै बजारको आवश्यकता अनुसार नयाँ बीमा पोलिसी निकाल्नु आजको आवश्यकता हो ।’ हाल बीमा कम्पनीहरुले बीमा समितिको निर्देशिकामा टेकेर आफ्ना पोलिसीहरु निर्माण गर्दै आएका छन् । हाल बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले नयाँ प्रडक्टहरू लन्च गर्दै आएपनि ती प्रडक्टहरूमा खासै नयाँ स्वाद भने नरहेको जानकारहरू बताउँछन् । ‘बीमा बजारमा केही समस्या भने पक्कै छन् । बीमितले बीमा नबुझेका हुन कि हामी बीमा कम्पनीले बीमा बुझाउँन नसकेको हो, यो सोचनिय कुरा नै हो’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) चंकी क्षेत्री भन्छन्-‘बीमितलाइ सन्तुष्ट बनाउन र सर्बसाधारणलाइ बीमाप्रति आकर्षित गर्न सहयाेग गर्न नीति र व्यवहार आवश्यक छ ।’
गुराँस लघुवित्तको चौथो साधारणसभाबाट ८ प्रतिशत लाभांश पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा चौथो वार्षिक साधारणसभा धनकुटामा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्तापूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओमप्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ११ करोड रुपैयाँभन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चातवित्तीय संस्थाको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।